|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगका कृषकहरुले घरमा पालेका गोरू बेचेर यान्त्रिक हलो किन्न थालेका छन्। गाउँमा कृषि मजदुरको अभाव हुनुका साथै गोरू पालेर परम्परागत तरिकाले खेती गर्नुभन्दा यान्त्रिक हलो प्रयोगले लागत घटाउने भएपछि कृषकहरुले घरमा पालेका हल गोरू बेचेरै भए पनि यान्त्रिक हलो किन्न थालेका हुन्।

कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांकअनुसार अहिले जिल्लाभर ३०० यान्त्रिक हलो सञ्चालनमा छन्। कृषि ज्ञान केन्द्र म्याग्दीबाट मात्रै हालसम्म २०० भन्दा बढी यान्त्रिक हलो वितरण गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

कतिपय किसान आफैंले किनेर समेत चलाउन थालेका छन्। कार्यालयले सुरुमा २०६८ मा चुनावमा यान्त्रिक हलो वितरण गरेको थियो । त्यसयता म्याग्दीका समथर फाँटदेखि भिरालो जमिनमा समेत यान्त्रिक हलोको प्रयोग क्रमशः बढ्दै गएको हो । समथर जग्गामा ट्रयाक्टरको प्रयोगले खेत जोत्ने किसान पनि पछिल्लो समय मिनी पावरटिलरतर्फ आकर्षित हुन थालेका हुन्। एउटा यान्त्रिक हलोले पाँच घण्टामा ७ देखि ८ रोपनीसम्म जोत्न सक्छ । परिवारमा खेतीमा खट्न सक्ने जनशक्ति नहुने परिवारले पनि बाँझिएको जमिनमा खेती गर्न सहज हुने किसान बताउँछन । 

‘एक हल गोरू र हलीले दिनभरमा मुस्किलले एक रोपनी जोत्छ,’ किसान सागर  खत्रीले भने, ‘यान्त्रिक हलोले अढाइ घण्टामा चार रोपनी जोत्न सकिन्छ। चार रोपनी खेत जोत्दा दुई लिटर डिजेल खर्च हुन्छ।’ व्यावसायिक तरकारी खेती लगाउने र धेरै जमिन हुने किसानले यस्तो हलो बढी माग गर्न थालेका छन् । एउटा हलोले पाँच वर्षसम्म मर्मत नगरी लगातार जोत्न मिल्ने भएपछि गोरूको तुलनामा यो निकै सस्तो र किफायती हुने किसान र प्राविधिकहरुको भनाइ रहेको छ।

जिल्लामा कृषि ज्ञान केन्द्रका साथै स्थानीय तहहरुले पनि किसानलाई अनुदानमा हलो उपलब्ध गराउन थालेपछि किसानहरुले घरमा पालेका गोरू बेचर यान्त्रिक हलो किन्न थालेका मंगला गाउँपालिकाका सोमबहादुर सापकोटाले बताए। थोरै जग्गाजमिन हुनेहरुले सामुहिक रुपमा यस्तो हलो खरिद गरी खेती गर्दा पनि मासिक ४०/४५ हजार रुपैयाँ कमाउन सकिने किसान सापकोटाले बताए। यान्त्रिक हलोको उपयोगले खेती गर्दा लगानी, श्रम र समयको बचत भए पनि मर्मतमा भने समस्या हुन थालेको छ । पावरटिलर बिग्रिँदा मर्मत गर्न र त्यसका पाटपुर्जा बजारमा सहजै नपाइने किसानको गुनासो छ।

बेनी नगरपालिका–२ का भीमबहादुर कार्कीले गत वर्षसम्म हलगोरू पालेको भए पनि अहिले गोरू बेचेर यान्त्रिक हलो किनेको जानकारी दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा हलो वितरण गरेपछि यहाँका धेरै किसानहरुले यान्त्रिक हलो किनेका छन्। एउटा यान्त्रिक हलोको मूल्य ७५ हजार पर्ने भए पनि ५० प्रतिशत अनुदानका कारण ३७ हजार ५०० रुपैयाँमा किनेका हुन्। 

अहिले म्याग्दीका ग्रामीण भेगहरुमा गोरूले हलो जोत्दै गरेका दृश्यहरु देखिन छोडेका छन्। गोरूको ठाउँ यान्त्रिक हलोले लिएको छ भने यान्त्रिक हलोको प्रयोगले किसानको लागत र समयको समेत वचत भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.