इलाम : प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन)को लोपोन्मुख सूचीमा रहेको ठकठके (हिमाली स्यालामान्डर) लोप हुने अवस्थामा पुगेको छ। मानवीय अतिक्रमण एवं विषादीको प्रयोगका कारण हिमाली स्यालामान्डर विश्वबाट नै लोप हुने अवस्थामा पुगेको हो।
सन् १९८० देखि हालसम्म गरिएको अध्ययनमा बढ्दो वन फडानी, मानवीय अतिक्रमण र खाद्यबालीमा घातक विषादीको प्रयोगका कारण लोप हुँदै गएको पत्ता लागे पनि संरक्षणको कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन।
हल्का खैरो रङको हुने हिमाली स्यालामान्डरलाई स्थानीय समुदायले पानी गोहोरो, पानीकुकुर वा पानी चुलेसे भन्दछन्। सन् २००४ मा गरिएको अध्ययनमा लोपोन्मुख सूचीमा रहेको हिमाली स्यालामान्डर नेपालको इलाम, पाँचथर, धनकुटा र ताप्लेजुङ जिल्लामा पाइन्छ।
एक हजारदेखि तीन हजार मिटरसम्म पाइने हिमाली स्यालामान्डर झ्याउ भएको जंगल, सफा पानी, पोखरी, सीम र स-सना पानीका मुहानमा वर्षातमा बस्ने गरेको विभिन्न समयमा गरिएको अध्ययनमा उल्लेख गरिएको छ। वर्षातमा बाहिर देखिने हिमाली स्यालामान्डर हिउँदमा जमिनमुनि दबेर बस्ने गर्छन्।
नेपाल, भारत, चीन, म्यानमार, भियतनाम र थाइल्याण्ड पाइने यो सरीसृप प्रजाति विश्व कति संख्यामा छ भन्ने अध्ययनकर्ताले यकिन गर्न सकेका छैनन्। नेपाल र भारतमा स्थानीय समुदायले औषधि बनाउन प्रयोग हुँदै आएकोमा म्यानमारमा माछा मार्न प्रयोग हुँदै आएको अध्ययनमा उल्लेख छ। नेपालमा स्थानीयबासीले ढाड‚ कम्मर दुखेमा औषधिको रूपमा हिमाली स्यालामान्डर प्रयोग गर्दै आएको माइपोखरीका कमल मुखियाले बताए।
के हो हिमाली स्यालामान्डर?
पुच्छ्रे उभयचर उपवर्ग (अडर काउडेटा) पर्ने प्रजाति मध्य स्यालामान्ड्रिडी परिवारको एउटा प्रजाति टाइलोटोट्रिटन भेरुकोसस अर्थात् हिमाली स्यालामान्डर हो। पानीमा बस्ने सानो साइजको गोहोरोजस्तो, पुच्छर चुलेसीको जस्तो ठाडो धार परेको साथै कराउँदा ठकठक गर्ने हुन्छ। यसको बसोबास फैलावट उत्तरमा पाँचथर जिल्लाको इथुङ वा सुकेपोखरी, दक्षिणमा इलामको कन्याम कुवापानी, पूर्वमा जमुना साथै पश्चिममा धनकुटा जिल्लाको राजारानी पोखरीसम्म पुगेको छ।
‘हाम्रो देशका लागि यो प्रजाति युरेसिया भू-भाग (प्यालेर्टिक रिजन)बाट प्राप्त कोसेली हो भने सुइमा (सिसिलिएन) दक्षिणी गोलार्ध (भारतीय उप-महाद्वीप)बाट प्राप्त कोसेली हो। यी दुई प्रजातिको अपूर्व मिलन इलामको कन्याम सिमसारतिर भएको थियो‚’ संरक्षणविद डा. केआर खम्बु भन्छन्, ‘यही भू-पेटीको संवेदनशील बिन्दु (हट स्पोट) भन्दा तलतिर न ठकठके झर्यो, न सुइमा त्यो क्षेत्रभन्दा उँभोतिर लाग्यो। यस्तो एकमात्र मौलिक विशेषता बोकेको पारिस्थितिक प्रणालीलाई पुनर्स्थापना गर्न सके यो क्षेत्र देशकै एक महत्त्वपूर्ण जैविक विविधताको लागि ‘जीवित संग्राहलय' (लिभिङ म्युजियम) बन्न सक्ने थियो।' नेपालमा खासै संरक्षण नगरिएको यो जीवलाई दार्जिलिङको सुकिया पोखरीस्थित जोर पोखरीमा विशेष संरक्षण दिएर राखिएको छ।
माइपोखरीमा संरक्षणको प्रयास
नेपालमा सबैभन्दा धेरै हिमाली स्यालामान्डर (वैज्ञानिक नाम टाइलोटोट्रिटन भेरुकोसस) सन्दकपुर गाउँपालिकाको माइपोखरी रामसार क्षेत्रमा पाइन्छ। सन् २००८ मा माइपोखरी रामसार सूचीमा सूचिकृत भएपछि हिमाली स्यालामान्डर संरक्षण थालिएको छ। संरक्षणविद् डा. खम्बुका अनुसार राणाकालमा पोखरी सफा गरी हालिएको सुनौलो माछा (गोल्ड फिसेस) का कारण हिमाली स्यालामान्डर लोप हुँदै गएका थिए।
पौडिने र चर्ने प्रसस्त ठाउँ पाउँदा संख्या ह्वात्त बढेर पोखरी नै ढाक्ने अवस्थामा पुगेर 'गोल्ड फिस'ले पर्याप्त चारो नपाउँदा यहाँका ठकठकेका अण्डा र साना चेपागाँडालाई पनि खाइदिन थालेका थिए। यही प्रक्रियाले हिमाली स्यालामान्डरको संख्या घट्दै लोप हुने खतरामा पुगेको थियो।
पर्यावरण संरक्षण समाज (इसिएस) स्थापना गर्दै अर्को-नेपाल, टिइएफ, डब्लुडब्लूएफ, युएनडिएफ, एनसिडिसी साथै स्थानीय धार्मिक तथा सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी यस पोखरीको विस्तृत अध्ययन अनुसन्धान गर्दै लोप हुनै लागेको हिमाली स्यालामान्डर संरक्षण गर्ने पहिलो कार्यक्रम बनाइएको खम्बु बताउँछन्। सोही कार्यक्रमअनुसार सर्वप्रथम ‘ठकठके प्रजनन तथा संरक्षण केन्द्र’ को माइपोखरीको परिसरभित्र स्थापना गरिएको थियो।
उक्त केन्द्रमा करिब चार पुस्तासम्म सफल प्रजनन गराई माइपोखरीमा थप्ने कार्य गरिएको छ। यसरी हाल्दै जाँदा विस्तारै हिमाली स्यालामान्डरको संख्या बढ्दै गएको खम्बु बताउँछन्। सफा पानीमा बस्ने भएपछि पछिल्ला विकास निर्माणका गतिविधिले सीमसार, पोखरी र पानीका मुहान धमिलो भएका कारण संख्या घट्ने गरेको अध्ययनमा उल्लेख छ। आयुसीएनले सन् २००४ मा हिमाली स्यालामान्डरलाई लोपोन्मुख सूचीमा सूचीकृत गरेको थियो।
पूर्वी पहाडी जिल्लाको पहिलो रामसार क्षेत्र माईपोखरीमा हिमाली स्यालामान्डर पाइने गरेकाले अहिले संरक्षणका काम गाउँपालिका स्तरबाट पहल भइरहेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए। माइपोखरी क्षेत्रको स-साना सीमसार क्षेत्रमा हिमाली स्यालामान्डरको बासस्थान संरक्षणको काम गरिएको राईको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।