|

- केशव अधिकारी

धादिङ : संरक्षण र प्रचारप्रसारको अभावले पर्यटकीय महत्व बोकेको ऐतिहासिक कान्द्राङगढी ओझेलमा पर्दै गएको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-२ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकको पालामा निर्माण भएको जनविश्वास रहेको छ। समुद्री सतहबाट १ हजार ४५० मिटरको उचाइमा रहेको कान्द्राङगढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो। जीर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुंगाको पर्खाल लगाइएको छ भने गढीनजिकै एउटा मौलो र साना-ठूला गरी चारवटा सुरूङ देख्न सकिन्छ।

गढी रहेको स्थानबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभागहरु सजिलैसँग देख्न सकिन्छ। तत्कालीन सेन शासकले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनले आक्रमण गर्न नसकून भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुन सक्ने जनविश्वास रहेको छ।

केही वर्षअघिसम्म गढीमा शिलालेख रहेको भए पनि संरक्षण हुन नसक्दा ती शिलालेखहरू अहिले हराइसकेको बेनिघाट रोराङ गाउँपालिका-२ का अध्यक्ष टंकबहादुर थापा बताउँछन्। ऐतिहासिक महत्व बोकेको गढी संरक्षणका निम्ति स्थानीय सरकारमार्फत कार्य योजना बनाएर अघि बढ्न आफू तयार रहेको वडाअध्यक्ष थापाले बताए।

तत्कालीन सेन वंशहरूको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकमा उल्लेख गरेको पाइन्छ। पृथ्वी राजमार्गको मलेखुबाट चितवनको भण्डारा जोड्ने मलेखु–भण्डारा(चेपाङ मार्ग) सडकखण्डको छेवैमा पर्ने कान्द्राङगढीलाई संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने स्थानीय सामाजिक अगुवा हेमराज भुजेल बताउँछन।

पृथ्वीराजमार्गको मलेखुबाट २२ किलोमिटर कच्ची सडक हुँदै गढी पुग्न सकिन्छ। चीनको केरुङ, रसुवा, गल्छी, मलेखु हुँदै भारतको ठोरी नाका जोड्ने गरी निर्माणाधीन सडकसँगै यो गढी जोडिएको छ।

वर्षौंदेखि संरक्षण हुन नसकेर जीर्ण हुनुका साथै घाँस र झाडीले छोपिएको गढीको भग्नावशेषको खोजी गर्दै नेपाली सेनाको गजुरीस्थित देवीदत्त गणबाट खटिएको टोलीले गत वर्षको पुसमा दुई दिन लगाएर गढीको भत्किएको पर्खाल लगाउनुका साथै सरसफाइ गरेको थियो।

मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएको महत्वपूर्ण धरोहरका रुपमा रहेको गढीको पुनर्निर्माण र संरक्षणलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने भए पनि ऐतिहासिक महत्व बोकेको कान्द्राङगढीको संरक्षणका लागि अहिलेसम्म राज्यका तर्फबाट कुनै चासो नदेखाइएको साहित्यकार उत्तम कँडेल बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.