प्रा.डा. सायमी भन्छन् : मुटु परीक्षण समस्या भएर गरिएको होइन

|

काठमाडौं : १३ वर्षअघि भारतको नयाँदिल्लीमा प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले काम गर्न छाडिसकेको छ। प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले फ्याक्न थालेपछि ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा छन्। 

सुरुमा धापासीस्थित ग्राण्डी अस्पतालमा डायलाइसिस गराएका ओलीले पछिल्लो समय हरेक शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गराइरहेका छन्। 

तर यो कार्यले लामो समय मिर्गौलालाई बचाइराख्न असम्भव हुने भएपछि प्रम ओलीको नयाँ मिर्गौला यही फागुन भित्र प्रत्यारोपण तयारी गरिएको छ। यही तयारी अनुसार जटिल अपरेशन अगाडि गरिने आवश्यक स्वास्थ्य तयारी पनि थालिएको छ।

यही पूर्वतयारीस्वरुप मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ‌ओलीको मुटुको एन्जियोग्राफी गरिएको चिकित्सकहरुले दाबी गरेका छन्। उनीहरुले ओलीको मुटुमा कुनै समस्या नभएको पनि जिकिर गरेका छन्। 

प्रधानमन्त्री ओली मुटु परीक्षणका लागि मंगलबार दिउँसो करीब साढे ४ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। मुटुको परीक्षणपछि ओली आजै राति बालुवाटार फर्किँदैछन्। 

ओलीका निजी चिकित्सक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले मिर्गौला प्रत्यारोपणका लागि पूर्वतयारीस्वरुप मुटुको परीक्षण गरिएको जानकारी दिए। 'उहाँ (प्रधानमन्त्री) को मुटुमा कुनै समस्या देखिएको छैन। आवश्यक परीक्षण भइसकेको छ', सायमीले भने, 'उहाँ आजै राति बालुवाटार फर्किनु हुन्छ। मुटु कस्तो छ भनेर जाँचेका हौँ, राम्रो रहेछ र बलियो रहेछ।'

मिर्गौला प्रत्यारोपणको पूर्व तयारी 

प्रधानमन्त्री ओलीले माघ २१ गते साँझ सम्पादहरुसँग बालुवाटारमा भएको भेटमा चाँडै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिएका थिए। ११ फागुनमा ६९ वर्ष पुग्न लागेका प्रधानमन्त्री ओलीको यही फागुनभित्रै मिर्गौला प्रत्यारोपण तयारी गरिएको हो। उनी अहिले पनि स्वास्थ्यले साथ दिएसम्म दैनिक आधा दर्जन कार्यक्रममा भाग लिन्छन्। 

सोमबार मात्रै गृहजिल्ला झापामा उनले एकैदिन ६ वटा विकास परियोजना उद्घाटन र शिलान्यास गरे। काठमाडौंमा हुँदा पनि उनी सकेसम्म धेरै कार्यक्रममा भाग लिन्छन्। एक घण्टा लामो भाषण दिन्छन्। शनिबार संसदमा उनले त्यस्तै लामो भाषण दिए। 

माघ २१ गते साँझ सम्पादकहरूसँगको भेटमा चाँडै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी उनले दिएका थिए। ‘किन प्रत्यारोपण गर्ने भनेर सोध्नुहोला, अझै बलियो भएर तीन वर्ष सरकार चलाउन र काम गर्न मिर्गौला प्रत्यारोपण गर्दैछु’, उनले भनेका थिए।

यता उनका निजी चिकित्सक प्रा.डा. सायमीले मंगलबार साँझ प्रधानमन्त्री ओलीको मुटु परीक्षण कुनै समस्या भएर नगरिएको जानकारी दिए। 'उहाँको मिर्गौला चाँडै नै प्रत्यारोपण गर्ने योजना छ। त्यसैका लागि यो पूर्वतयारी भनौँ', उनले थपे, 'अर्थात उहाँको मुटु कत्तिको स्वस्थ छ? अझ भनौँ कत्तिको बलियो छ भनेर जाँचेका हौँ। यो पूर्वयोजना अनुसार नै गरिएको हो।'

प्रा.डा. सायमीले प्रम ओलीको मुटुमा कुनै समस्या नदेखिएको तर्क गरे। 'हामीले सोचे जस्तै रिपोर्ट राम्रो आयो', उनले थपे, 'नत्र प्रत्यारोपण गर्नुअघि पहिले मुटुको उपचार गर्नुपर्दथ्यो नि।'

प्रा.डा. सायमीले मुटुको जाँचलाई मिर्गौला प्रत्यारोपणको पूर्वतयारी भने पनि अन्य कुरा खुलाएनन्। सायमीले मिर्गौला प्रत्यारोपणको मिति नबताए पनि यसलाई अन्तिम तयारीका रुपमा व्याख्या गरेका छन्। 

मुटु स्वस्थ रहेको रिपोर्ट आएपछि प्रा.डा. सायमीले आजै राति प्रधानमन्त्रीलाई बालुवाटार पठाउने बताएका थिए। मनमोहनबाट शिक्षण अस्पतालतर्फ लागेका सायमीलाई प्रधानमन्त्रीले तत्कालै सहयोगीमार्फत बोलाएका थिए।

ओलीले निजी सहयोगी राजेश बज्राचार्यलाई अह्राएर सायमीलाई पुन: बोलाएका थिए। 'तपाईंसँगै मिठाई खान मन लाग्यो भन्नु भएको छ। छिटो आउनुपर्‍यो भन्‍ने खबर आयो', राजेशको फोनबारे सायमीले भने, 'अब प्रधानमन्त्रीसँग मिठाई खान जाँदैछु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.