|

काठमाडौं : प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङले सर्वोकृष्ट खेलाडीको पुरस्कार जितेका छन्। 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा १४औँ संस्करणको उक्त पुरस्कार प्रदान गरेको हो।विमलले इण्डोनेसियाको जकार्तामा सम्पन्न एशियाली खेलकूदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका थिए। महिलातर्फ सर्वोकृष्ट खेलाडी घोषित निमाले एशियाली खेलकूदमा तेक्वान्दोमा उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन्।  दुवैले जनही एक लाख पुरस्कार प्राप्त गरे। 

यसैगरी वर्ष २०७५ को उदयीमान खेलाडीको पुरस्कार पुरुषतर्फ एथ्लेटिक्सका अजितकुमार यादव र महिलातर्फ भलिबलकी सरस्वती चौधरीले प्राप्त गरे। दुवैले जनही रु ५० हजार पुरस्कार पाए। गजराज आदर्श खेलाडी पुरस्कारबाट बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङ सम्मानित भए। उनले ३५ हजार प्राप्त गरे। सङ्घले २८ खेलका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत ग¥यो। पुरस्कृत हुनेमा फुटबलका भरत खवास, पौडीका सुभम श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, टेबल टेनिसकी नविता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, बक्सिङकी पुनम रावल, प्याराग्लाइडिङका विमल अधिकारी र भारत्तोलनकी सन्जु चौधरी छन्।

यस्तै पुरस्कृत हुने अन्य खेलाडीमा लन टेनिसकी प्रेरणा कोइराला,  कबड्डीकी मेनुकाकुमारी राजवंशी, फेन्सिङका ओमकार सिंह, स्क्वासका अमृत थापामगर, सेपाताक्रोका रोशन तामाङ, स्पोर्टस् क्लाइम्बिङका पेम्बा शेर्पा, पेन्कक सिलातका गोविन्द चौधरी, कुराशका उपेन्द्र थापा, रोलर स्पोर्टस्का मिलन शाह ठकुरी, बाँस्केटबलका मनिषराज उपाध्याय र तेक्वान्दोकी निमा गुरुङ छन्।  ब्याडमिन्टनका दिपेश धामी, ट्रायथलनका वसन्त थारु, करातेका विजय श्रेष्ठ, जुडोका इन्द्रबहादुर श्रेष्ठ, उसुकी जुनी राई, आर्चरीका तिलक पुन मगर, एथ्लेटिक्सका अजितकुमार यादव, गल्फका टङ्कबहादुर कार्की र कुस्तीका रमेश गौतमसमेत पुरस्कृत भए। उनीरुले जनही १० हजार प्राप्त गरे।

खेलकूद पत्रकार पुरस्कारबाट गोरखापत्रका राजेन्द्र चित्रकार पुरस्कृत भए। उनले २५ हजार प्राप्त गरे। स्पेशल अवार्डबाट द काठमाडौँ पोष्टका प्रज्ज्वल ओली पुरस्कृत भए। नेपालले १८औँ एशियाली खेलकूदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बन्धित सङ्घको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो। एशियाली खेलकूदमा नेपालले २८ खेलमा भाग लिएको थियो। पहिलो पटक समावेश गरिएको पारा खेलकूदको पुरस्कार बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गरे। उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्व अध्यक्ष दीपक विष्टलगायतले पुरस्कार प्रदान गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.