समाज

...अनि पाँच छोरीले बुवाको पार्थिव शरीर बोकेर घाट पुगे

पत्‍नीले दिइन् दागबत्ती

फागुन ७, २०७६

    जनकपुरधाम : बुवाको निधनपछि पार्थिव शरीर बोकेर पाँच छोरीले दाहसंस्कारका स्थल पुर्‍याएका छन्।

    मंगलबार धनुषाको सबैला नगरपालिका-२ का रामनारायण यादवको निधन भयो। उनी नेपाली कांग्रेसका क्रियाशिल सदस्यसमेत थिए। उनको निधनपछि पार्थिव शरीर पाँच छोरीले काँधमा बोकेर दाहसंस्कार गर्न खोलासम्म पुर्‍याएका हुन्।

    छोरीले बुवाको पार्थिव शरीर बोकेको तस्वीर स्थानीय जगत सुन्दर साहले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। अहिले उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

    हिन्दु तथा मधेसी समाजमा अहिले पनि कसैको निधन भएमा छोरी दाहसंस्कार स्थलसम्म पुग्‍ने चलन छैन। महिलालाई बाटोबाटै फकाइन्छ। तर, पुरानो चलनलाई चुनौती दिँदै बुवाको शव बोकेर छोरी दाहसंस्कार स्थलसम्म पुग्नुलाई महिला सशक्तीकरणको रूपमा विश्लेषण सामाजिक संजालमा गरिँदैछ।

    स्थानीय रमेश यादवका अनुसार रामनारायणको निधन भएपछि दाहसंस्कार कसरी गर्ने विषयमा गाउँमा छलफल नै भयो। छोरा नभएकाले रामनारायणको पार्थिव शरीर दाहसंस्कार स्थलसम्म छोरीले नै पुर्‍याउने निष्कर्ष निकालियो। पछि छोरीहरूले समेत चासो देखाएर उनीहरू आफैँ दाहसंस्कार गर्न बुवाको पार्थिव शरीर बोक्न तयार भए।

    जेठी छोरी ४० वर्षीया नेपुर यादव, माइली छोरी ३७ वर्षीया राजदेवी यादव, साहिँली छोरी ३५ वर्षीया प्रमिला यादव, काहिँली छोरी ३२ वर्षीया अनिता यादव र कान्छी छोरी ३० वर्षीया गोरकी यादवले बुवाको पार्थिव शरीर बोकेर दाहसंस्कार स्थलसम्म पुर्‍याएका थिए।

    अचम्म त के भने, रामनारायणको पार्थिव शरीर दागबत्ती उनकै श्रीमती राधिकादेवीले दिएकी छन्। मधेसमा श्रीमतीले दागबत्ती दिएको कहिल्यै नसुनेको स्थानीय बताउँछन्।

सन्तोष यादव

यादव थाहा खबरका धनुषा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]