|

कञ्चनपुर : राना थारू समुदायका स्वादिष्ट परिकारको स्वाद लिन पर्यटक कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ नयाँ कटानमा रहेको राना थारू होमस्टे पुग्ने गर्दछन्।

होमस्टेमा पुग्ने पाहुनालाई अन्ती धानको चामलको भात, गहुँ वा चामलको पिठोमा नुन, खुर्सानी, हल्दी, मिसाएर पिडालुको पातलाई पोतेर बटारी गोलो बनाइ वाफमा पकाई टुक्रा बनाई तेलमा तारिने पतौला, उसिनेको आलुलाई भिजाएर मसुरोका दालमा नुन खुर्सानी मिसाई चामलको पिठोमा घारो लगाइ तावामा पकाइने कुथुवा रोटी, गहुँको पिठोमा चिनी राखी पिठोलाई टुक्राटुक्रा बनाइ तेलमा तारेर तयार गरिने खजुरीया, मिसौला, सिमही, पुरीलगायतका परिकार पस्किने गरिएको छ।

परम्परागत परिकारको स्वाद लिनकै लागि स्वदेशीदेखि विदेशी पर्यटक होमस्टेमा पुग्ने गरेको वसन्ती रानाले बताइन। होमस्टेमा सहभागी परिवारले परिकार बनाउनकाल लागि अग्र्यानिक तरकारी र अन्न आफैँ उत्पादन गर्दै आएका छन्।

'पर्यटकको रोजाइअनुसारका परिकार तयार गरी पर्यटकलाई पस्किने गरेका छौँ' उनले भनिन् पर्यटकले राना थारू समुदायका चाड पर्वका बेला बनाइने परिकार निकै मन पराउने गरेका छन।' परिकार बनाउन आवश्यक वस्तुको अभाव भए एक परिवारले अर्को परिवालाई पैँचोका रुपमा उपलब्ध गराउने गरेका छन्।

होमस्टे सञ्चालन गर्दा सुरुमा आवश्यक सामग्री बजारबाट खरिद गरेर ल्याउने राना थारू समुदायले हाल अन्न, तरकारी, दूध दहीलगायत घरमै उत्पादन गर्दै आएका छन। होमस्टे सञ्चालनको कार्यमा संलग्न सबै परिवारले बारीमा अग्र्यानिक तरिकाबाट बाह्रै महिना तरकारी उत्पादन गर्दै आएका छन्। दूध उत्पादनका लागि उन्नत नश्लका गाईभैँसीसमेत पालेका छन्।

जसबाट अतिरिक्त आम्दानी हात पर्ने गरेको छ। मौलिक खान्कीसँगै पर्यटकले राना थारू समुदायले मुख्य संस्कृतिका रूपमा रहेको होली नृत्यको मज्जा लिनसमेत पछि पर्दैनन्।

होमस्टेमा पुग्ने पर्यटकलाई तीन प्रकारको होली र आधुनिक गीत देखाइने गरिएकोमा रागनी नृत्य पर्यटकले बढी मन पराउने गरेका छन्। होमस्टेमा पुग्ने पर्यटको रोजाइमा पर्ने प्रति नृत्यको पाँच सय रुपैयाँ शुल्क लिइने गरिएको छ। पर्यटकलाई पस्किने परिकारअनुसार शुल्क निर्धारण गरिएको छ।

राना थारू समुदायका महिलाले अन्य समुदायभन्दा भिन्न विशिष्ट प्रकारको पहिरन लगाउने गर्दछन्। जसलाई हेर्न र क्यामेरामा तस्वीर कैद गर्नका लागि पर्यटक लोभिने गरेका छन्।

थारू महिलाले टाउकोदेखि खुट्टाको पैंतलासम्म लगाउने घुघँट, चापी, वीर, नक्बेसर, नथुनी, कठुला, सकरगरेला, हसुला, हार कैंधनी, लगौरा, औँठी, पहुँची, ढुन्नी, पैँडा, पायल र बिछियालयायतका गहना लगाउने गरेका छन्।

यसैगरी, राना थारू महिलाले पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैँतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गर्दछन्। गर्दनमा कण्ठ, गरिया र घिच्चि महिलाले लगाउने गरेका छन्। जुन अन्य समुदायका गहनाभन्दा निकै भिन्न छन्।

 विसं २०७२ सालमा होमस्टे सञ्चालन गर्दा माटो र खरबाट बनेका घरमा पर्यटकलाई राखिँदै आएको थियो। हाल ती घरको स्तरोन्नति गरी इँटा सिमेन्ट र छानामा जस्तापाताको प्रयोग गरी बनाइएका छन्। आठ घरधुरीले होमस्टे व्यवसाय सञ्चालन गर्दै आएका छन्। खाना र बस्नका लागि प्रति पर्यटकबाट होमस्टे सञ्चालकले ६ सय रुपैयाँ शुल्क लिने गरेका छन्। होमस्टे सञ्चालन हुँदै आएका घरमा दुई कोठा रहेका छन्। प्रति कोठामा दुईवटा वेड रहेका छन्।

संस्कृति देखाउनका लागि होमस्टे सञ्चालकले छ घुर जग्गा खरिद गरी दुईतले घर निर्माण गरिएको छ। जग्गा खरिदका लागि १२ लाख रुपैयाँ रकम होमस्टे सञ्चालन गर्दै आएका परिवारको कमाइबाट जुटाइएको राना थारू समुदाय होमस्टेका सचिव चेतराम रानाले बताए।

भवन निर्माणका लागि नगरपालिका कार्यालयबाट एक लाख रुपैयाँ, वडा कार्यालयबाट एक लाख र ताल नामक गैरसरकारी संस्थाबाट १२ लाख रुपैयाँ रकम जुटाइएको छ।

तारागाउँ विकास समितिबाट होमस्टे सञ्चालन गर्दै आएका परिवारलाई पर्यटकको रुचि अनुसारको परिकार बनाउन तालिमसमेत दिइएको छ। होमस्टेमा बस्न आउने पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमाउने व्यवस्थासमेत गरिएको छ।

निकुञ्ज कार्यालयसँग समन्वय गरी निकुञ्जभित्र रहेका संरक्षित जीवजन्तुसँगै तालतलैया र संरक्षितमध्ये सबैभन्दा ठूलो शुक्लाफाँट देखाइँदै आएको छ। पर्यटकलाई निकुञ्ज देखाउन पथ प्रदर्शकको कमी रहेको कविता रानाले बताइन। होमस्टे सञ्चालन गर्दै आएका परिवारले मासिक ३० हजार रुपैयाँ कमाइ गर्छन्।

पाँच वर्षमा नौ हजार बढी पर्यटकलाई होमस्टेमा पाहुनाका रूपमा सत्कार गरिएको छ। होमस्टे सञ्चालन भएपछि संस्कृति संरक्षणमा टेवा पुग्नुका साथै परम्परागत परिकार जोगाउन मद्दत पुगेको छ।

नयाँ पुस्तालाई पुराना पुस्ताले बर्षौ देखि लगाउदै आएका पहिरन र गहना बारे जानकारी दिन सकिएको छ। होमस्टेमा पुग्ने पर्यटकले तिर्ने शुल्कले राना थारू समुदायको आर्थिक अवस्था समेत सवल बन्दै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.