|

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्धिका पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित ‘समृद्धि प्राप्तिमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री भट्टले शहरमा मात्र केन्द्रित नभएर ग्रामीण क्षेत्रमा गुमनाम मुद्दासमेत उठाउन आग्रह गरे। 

नयाँ राज्य व्यवस्थामा नयाँ तरिकाले सोच, व्यवहार, कार्यशैली देखाउनु जरुरी रहेकामा जोड दिदै उनले भने, 'सामूहिक जिम्मेवारीमा रहेकाले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ।' 

मुख्यमन्त्री भट्टले अहिलेको व्यवस्थालाई कसरी समृद्धिको बाटोमा लैजान सकिन्छ भन्ने महत्वपूर्ण कुरा रहेको भन्दै उनले यो व्यवस्थालाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए। 

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले राष्ट्रिय स्वाभिमान र हितका पक्षमा सञ्चार क्षेत्र प्रयोग हुनुपर्ने बताए। राजनीति र सञ्चार एकअर्काका परिपूरक शक्ति रहेको भन्दै उनले भने, 'राजनीतिक नेतृत्वलाई साथ दिँदा समृद्धि आउँछ।' 

सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले राष्ट्रका पक्षमा सत्यतथ्य विश्वसनीय समाचार पस्किन आग्रह गरे।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सबै सम्प्रदायका मान्छेलाई एकताबद्ध गर्दै राष्ट्रिय एकताको भावना कायम गराउने काममा सञ्चार क्षेत्रले भूमिका खेल्नु पर्ने सुझाव दिए। राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य मालामतिकुमारी रानाथारुले मिडियाले दलगत भावनावाट मुक्त भई काम गर्नुपर्ने बताए।

प्रदेश सरकारका प्रमुख सचिव बालकृष्ण घिमिरे राज्यको चौथो अंग पत्रकारिताले सबैलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्ने बताए।समारोहमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह, पत्रकार महासंघ कैलालीका सभापति जगत साउदलगायतले समृद्धिका लागि सञ्चारको भूमिकाका विषयमा आफ्ना धारणा राखे।

रासस सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख सिद्धराज भट्टले राससको स्थापना, दिइरहेको समाचार सेवालगायतका विषयमा प्रकाश पारे। रासस भीमदत्तनगर कार्यालयका प्रमुख शेरबहादुर सिंहले स्वागत गरेका थिए।

समारोहमा मुख्यमन्त्री भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले संयुक्तरुपमा सुदूरपश्चिम प्रदेशमा यस वर्ष उत्कृष्ट समाचार लेखनका लागि छनोट भएका डोटीका स्थानीय समाचारदाता विमलबहादुर विष्टलाई १५ हजारसहित प्रशंसापत्रबाट सम्मानित गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.