|

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताए।

सुर्खेत विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना नरहेको बताए। 'प्रदेशको बनावट अहिले जस्तो छ। सधैँभरि त्यस्तै हुँदैन। आवश्यकता, जनताको चाहनाअनुसार परिवर्तन हुन सक्छन्', उनले भने, 'प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आएको प्रसङ्ग हो। अहिले त्यस प्रकारको कुनै छलफल भएको छैन।' 

अध्यक्ष प्रचण्डले संघीय सरकारले आगामी नीति तथा कार्यक्रम ल्याउँदा कर्णालीलाई विशेष रुपले सम्बोधन गर्नुपर्ने बताए। पार्टीको प्रदेश भेलामा आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्नुपर्ने विषय जोडदार उठेको भन्दै उनले यस विषयमा पार्टीले संघीय सरकारलाई आवश्यक निर्देशन दिने बताए।

प्रदेश सरकारले कर्मचारी अभावमा काम गर्न नसकेको सन्दर्भमा उनले संघीय निजामती ऐन बनेपछि प्रदेशलाई यससम्बन्धी आफ्नो ऐन निर्माण गर्न बाटो खुल्ने धारणा राखे। उनले भने, 'जतिसक्दो छिटो निजामती ऐन बनाई प्रदेशलाई कर्मचारी नियुक्तिको अधिकार दिएमा कर्मचारीको समस्या समाधान हुन्छ।'

सुर्खेत विमानस्थल विस्तार गर्ने कार्यमा आफूले पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। पार्टीको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहित अध्यक्ष प्रचण्ड मंगलबार सुर्खेत आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.