|

काठमाडौं : संसदको सार्वजनिक लेखा समितिले नेपाली रुपैयाँ र राहदानीसहितका सामाग्री छाप्नका लागि ल्याउन लागिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति भरतकुमार साहले सञ्चारमन्त्रीले कमिशन मागेको अडियो बाहिरिएकाले खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएका हुन्। 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट विजय प्रकाश मिश्रसँग करिब ५५ करोड रुपैयाँ कमिसन मागेको भनिएको भिडियो सार्वजनिक भएपछि संसदको लेखासमितिले छानबिन गर्ने भएको हो। 

लेखा समिति बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण रोकी तत्काल छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा भएको कार्यप्रगतीको जवाफ सुरक्षण मुद्रण केन्द्रका प्रमुख कार्यकारी अधिकृत विकल पौडेल र सञ्चार सचिव दीपक सुवेदीसँग लेखा समितिले जवाफ मागेको थियो। 

पौडेल र सुवेदीले चित्त बुझ्दो जवाफ नदिएपछि समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको सम्पूर्ण फाइल मगाउने निर्णय गरेको हो। 

सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि सरकारले गरेको जिटुजि प्रस्ताव प्रतिष्पर्धात्मक नभएको , लागत अनुमान यथार्थ नभएको, स्वीस कम्पनीको प्रस्तावलाई वेवास्ता गरिएको, कम्पनीहरुको प्रस्तावित मूल्यमा ठूलो भिन्नता भएको भन्दै समितिले त्यसबारेमा गहन अध्ययन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

समितिले विषयवस्तुको गम्भीरतालाई महसुस गर्दै थप अध्ययन गरि निर्णयमा पुग्न उचित देखिएकाले अर्को बैठकमा निर्णय नगर्दा सम्मका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनासम्बन्धी प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको समिति सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए।

‘विषयवस्तुको गम्भीरतालाई महसुस गर्दे समितिको यो बैठकले समाधान गर्न सक्ने स्थिति नरहेको हुँदा आगामी दिनमा गहिरिएर छलफल गर्ने गरि अर्को बैठकमा निर्णय नगर्दा सम्म यो प्रक्रियालाई स्थगित गरेर जानका लागि सरकारलाई निर्देशन दिने गरि आजको निर्णय भएको छ,’ उनले भने। 

 बैठकले सेक्युरिटी प्रिन्टिङ स्थापनाको विषयलाई लिएर सामाजिक सञ्जालमा सांसद र सिंगो समितिको प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने काम भएको भन्दै त्यसबारे पनि उपसमिति बनाई छानविन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

सेक्युरिटी प्रिन्टिङ स्थापनाको विषयलाई लिएर सामाजिक सञ्जालहरुमा समितिका कर्मचारी र समिति सदस्यहरुको पनि मिलेमतो भएका कुरा बाहिर आएको विषयमा समिति सदस्यहरुले सभापतिको ध्यानाकर्षण गराएका थिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.