|

पर्सा : खेलकुदमन्त्री जगत विश्वकर्माले मुलुकको दोस्रो ठूलो नारायणी रंगशालाको इतिहास ओझेलमा पर्न नदिने प्रतिबद्धता गरेका छन्। डेढ दशकयता स्तरीय ‘खेलकुद' हुन नसकेको पर्साको नारायणी रंगशालामा स्तरीय कभर्डहलको बिहीबार शिलान्यास गर्दै मन्त्री विश्वकर्माले यस्तो बताएका हुन्।

काठमाडौंको दशरथ रंगशालापछि मुलुकको दोस्रो ठूलो नारायणी रंगशाला भएर पनि यसको स्तरउन्नति नगरी प्रदेश-२ मा भाडाको जमिनमा जनकपुरमा प्रदेशस्तरीय रंगशला बनाउन बजेट विनियोजन गरेको पर्साका अगुवा तथा नेताहरूले आलोचना गरेका थिए। यो आलोचनाको बचाउन गर्दै उनले भने ‘म यो रंगशालाको इतिहास ओझेलमा पर्न दिन्न।'

मन्त्री विश्वकर्माले मुलुकको समृद्धि कुनै विदेशीले आएर नगरिदिने हुँदा विकास, निर्माणका काममा दलगत आग्रह पूर्वाग्रहभन्दा माथि उठ्नु पर्नेमा जोड दिए। 'विकास र समृद्धिमा तीनवटै सरकार र सरोकारवाला सबैको सहकार्य आवश्यक पर्छ', उनले भने।   

समृद्धिको आधार मध्ये खेलकुदको विकास पनि एक भएकोले पूर्वाधार निर्माणका काम सरकारले धमाधम गरिरहेको मन्त्री विश्वकर्माले बताए। '१३औँ सागको लागि ९ महिनामा हतारमा काठमाडौंलगायतका ठाउँमा रंगशाला निर्माणलगायत खेलकुदको पूर्वाधारका काम गरिए। तथापि त्यो पूर्वाधार त मुलुकले अहिले पनि पाएको छ' उनले भने, 'त्यसैले यस्ता पूर्वाधार हरेक प्रदेश र पालिकाहरुमा बनाइन्छन्। सातवटै प्रदेशमा स्तरीय रंगशाला र सबै पालिकाहरुमा खेलग्राम बन्नु पर्छ। सरकार लक्ष्य अब यता केन्द्रित छ।'

नारायणी रंगशालामा शिलान्यास भएको स्तरीय कभर्डहलको शिलान्यास पनि खेलकुदका लागि पूर्वाधार निर्माणकै काम मध्येको रहेको मन्त्री विश्वकर्माको दावी छ। यो कभर्डहलको समयमा नै निर्माण सम्पन्न र स्तरीय कामको लागि निगरानी बढाउन भने यहिंका खेलाडी, नागरिक समाज, स्थानीय पालिकाका जनप्रतिनीधिहरुको भूमिका हुनुपर्ने उनको जोड छ।  

 प्रदेश-२ मा जनकपुर र वीरगन्जमा मात्र नभई आठवटै जिल्लामा रंगशाला आवश्यक पर्ने भए पनि अहिले जनकपुरको रंगशालाका लागि ५ करोड नारायणी रंगशालाको लागि ७ करोड रकम विनियोजन गरेको मन्त्री विश्वकर्माको भनाइ छ। काम सम्पन्न नहुन्जेल पर्सावासी शिथिल नभई घच्छच्याइ रहन पनि उनले सुझाव दिए। 

संविधानसभा सदस्य रामचन्द्र साह, पर्साका नेकपाका अध्यक्ष प्रभु हजारा, नेपाली कांग्रेसका सभापति अजय द्विवेदी लगायतले लामो इतिहास बोकेको मुलुकै दोस्रो ठूलो नारायणी रंगशालामा स्तरीय खेलकुद हुन सक्ने पूर्वाधारको डीपीआर पहिले नै बनिसकेकोले त्यसको आधारमा बजेट विनियोजन गर्न मन्त्रीसमक्ष माग गरे।

पर्सामा रहेको नारायणी रंगशालाको पूर्ण सम्पन्नताका लागि अहिले लागत अनुसार २ अर्ब ६४ करोड लाग्ने डीपीआर निर्माण भइसकेको छ। जसमा कभर्डहलको लागि मात्र साढे १४ करोड जति लाग्ने डिपीआर तयारी भएको  मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका मोहम्मद ज्याहुलले बताए। यो कभर्डहलको सुरुवाती काम (पिलिन्थ) सम्मको कामका लागि पर्साकै कादम्बरी कन्स्ट्रक्सनलाई एक करोड १३ लाख रुपैयाँमा ठेक्का दिइएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.