|

इलाम : तेस्रो सताक्षी गोल्डकपको फाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र दोस्रो स्थानको विभागीय टोली त्रिभुवन आर्मी आमनेसामने हुने भएका छन्। 

झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान रंगशालामा जारी प्रतियोगिताको शुक्रबारको मछिन्द्र र आर्मीको खेल प्रतिष्ठाको लडाइको रुपमा समेत हेरिएको छ। गत साता सम्पन्न लिगमा आर्मीलाई हराउँदै मछिन्द्रले उपाधि जितेको थियो।

मछिन्द्रविरुद्धको खेलमा जित निकाल्दै आर्मीले हारको बदला लिने दाउमा हुनेछ। यसअघि बिहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजकलाई ३–१ गोल अन्तरले हराउँदै थ्रीस्टार फाइनल प्रवेश गरेको छ। फाइनल प्रवेश गरेसँगै थ्रीस्टारले कम्तीमा तीन लाख रुपैया सुरक्षित गरेको हो।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पनि खेलको ५९ औँ मिनेटमा थ्रीस्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। मिक्चेन तामाङले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए।

त्यस्तै, खेलको ६० औँ मिनेटमा थ्रीस्टारका अशोक खवासको लामो प्रहार सतासीधामका गोलरक्षक मनोज प्रधानको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो। खेलको ८२औँ मिनेटमा कप्तान विक्रम लामाले गोल थपेका थिए। खेल सकिन दुई मिनेट बाँकी छँदा सतासीधामका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्रीस्टारका खेलाडीले लडाएपछि पाएको पेनाल्टी प्रहारलाई पदम भट्टराईले सान्तवना गोल फर्काए। 

खेलको सातौँ मिनेटमा थ्रीस्टारका सञ्जोग राईको प्रहार आकाशिएको थियो। २५औँ मिनेटमा लालरामको प्रहार विपक्षी खेलाडीले रोकिदिएका थिए। नवौँ मिनेटमा सतासीधामका रोशन थाम्सुहाङको प्रहार आकाशिएको थियो। ४४औँ मिनेटमा मनिष थापाको ३५ यार्ड टाढाको प्रहार थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोङले पञ्च गरेर बचाएका थिए।

खेलको म्यान अफ दि म्याच थ्रीस्टारका अनन्त तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको विजेताले ६ लाख रुपैया प्राप्त गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.