|

भद्रपुर (झापा) : छात्राको झुन्डिएको अवस्थामा शङ्कास्पद शव फेला परेको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी उचित न्यायको माग गर्दै विद्यार्थीहरुले साङ्लो प्रदर्शन गरेका छन्। शुक्रबार विद्यार्थीहरुले कचनकवल गाउँपालिका–६ स्थित बनियानी चोकमा बृहत् साङ्लो प्रदर्शन गरेका हुन्। 

कचनकवल–२ स्थित लक्ष्मीप्रसाद देवकोटा माविमा कक्षा ६ मा अध्ययनरत १४ वर्षीया विष्णुमाया कार्कीको झुण्डिएको अवस्थामा शव फेला परेको थियो। उनको हत्या भएको भन्दै गाउँपालिकाभरीका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले झापाका प्रहरी, प्रशासनलाई न्यायका लागि दबाब दिन बृहत् साङ्लो प्रदर्शन गरेका हुन्। दुई हजारभन्दा बढी सहभागी विद्यार्थीहरूले हातमा हात मिलाएर साङ्लो प्रदर्शन गरेका थिए। 

नेपाल शिक्षक महासंघ कचनकवलको नेतृत्वमा विद्यार्थीले पथरिया बजारदेखि बनियानी चोकसम्म, पाठामारीदेखि बनियानी चोकसम्म, बालुवाडीदेखि बनियानी चेकसम्म साङ्लो प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा सम्बोधन गर्दै भैरव राजवंशीले छात्रा विष्णुमायाको चिया बगानमा आत्महत्या नभई हत्या भएकाले घटनाको छानबिन गरी हत्यारालाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। मृतकका परिवारको आर्थिक अवस्थामा अत्यन्त कमजोर रहेकाले आइतबार गाउँपालिकाभरिका सम्पूर्ण शिक्षक र विद्यार्थीले आफ्नो एक दिनको खाजा खर्च बापतको रकम जम्मा गरी पीडित परिवारलाई हस्तान्तरण गरिने कार्यक्रम समेत रहेको नेपाल शिक्षक महासङ्घ कचनकवलका रत्नकुमार बुढाथोकीले जानकारी दिए।

विष्णुमायाको शव झुन्डिएको अवस्थामा फागुन ५ सोमबार बिहान स्थानीयले चिया बगानमा फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय झापाले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरिसकेको जनाइएको छ। ‘मृतक किशोरीको परिवारजन र स्थानीयसँग हामी घटनाको विषयमा अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने, ‘आइतबार सम्म पोस्टमार्टम रिपोर्ट आउने कुरो छ, रिपोर्ट आएपछि घटनाको सत्यता बाहिर आउँछ, ल्याउँछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.