'विकृति फैलने र स्वास्थ्यमा असर पर्ने भएकोले गाँजा बिक्री र सेवनमा प्रतिबन्ध'

|

काठमाडौं : हिन्दुधर्मालवम्बीको पर्व महाशिवरात्रि मनाउन शुक्रबार पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भिड लागेको छ। शिवरात्रि मनाउन एक हप्ता अगाडिदेखि छिमेकी मुलुक भारतबाट बाबाहरू आएर पशुपति क्षेत्रमा बसेका छन्।

शिवरात्रिको अवसरमा पशुपति बिहानैदेखि व्यस्त छ। भगवान् शिवको पूजाका लागि धर्मावलम्वी लामबद्ध भएर बसेका छन्। बाबाहरू गाँजा खान नपाएको झोकमा निरास मुद्रामा छन्। 

विशेषगरी यस पर्वमा जोगी बाबाले यसलाई धुमधामसहित मनाउँने गर्दथे। तर, पशुपती क्षेत्र विकास कोषले बढ्दो अपराध न्यूनीकरण गर्नको लागि गाँजा सेवन बन्द गरिदिएपछि पहिलेजस्तो अहिले बाबाहरूमा उत्साह देखिएको छैन।

शिवरात्रिको रोचक पक्ष के छ भने गाँजा सेवन गरेर निर्धकसँग मनाउने चाँडको रूपमा लिने गरिए पनि यसपाली भने कोषले गाँजा सेवन बन्द गरिदिएको छ। 

उनीहरूले पशुपति क्षेत्रमा गाँजा सेवन प्रतिबन्द लगाइँदा खल्लो महसुस भएको दुखेसो पोखेका छन्। पशुपति क्षेत्रको सबै व्यवस्थापन राम्रो भए पनि शिवरात्रीको बेलामा गाँजा सेवन गर्न नपाएकोपछि बाबाहरूले यस्तो गुनासो गरेका हुन्। 

रात्री पुरी वीरगन्ज हुँदै मंगलबार काठमाडौं आए। पशुपति दर्शन गर्न पहिलोपटक आएक हुन्। भारतको मौसमभन्दा नेपालको मौसम राम्रो रहेको उनले बताए। काठमाडौं चिसो र पशुपतिको प्राङ्गणमा बस्दा चिसोको अनुभूति नभएको उनले सुनाए। उनी बुढयौलीमा प्रवेश गरेका छन्। पुरीले ६४ वसन्त पार गरिसकेका छन्। '११ वर्षको उमेरदेखि भगवान्को‍ शरणमा परेको छु,' उनले भने।

बाबाले गाँजालाई भगवान् शिवजीको प्रसादको रूपमा लिने गरेका छन्। पशुपतिको व्यवस्था राम्रो लागे पनि गाँजा खान नपाएकोमा उनको गुनासो छ। उनले भने, 'गाँजा खान नपाउँदा टाउको दुखेको छ।'

त्यस्तै, अर्का बाबा मोहन गिरी पनि भारतबाट आएको दुई दिन भयो। पशुपतिको दर्शन गर्न पहिलोपटक आएको हुन्। शिवरात्रिमा गाँजा खान नपाउँदा चिसो सिमेन्टमा बस्‍न गाह्रो भइरहेको उनले सुनाए। शिवरात्रिमा गाँजा खादा कसैलाई असर नगर्ने उनी सुनाउँछन्। गाँजालाई बाबाले प्रसादको रूपमा ग्रहण गर्ने गरेका छन्।

'शिवरात्रीमा पशुपतिमा गाँजा खान नपाइने रहेछ। अर्कोपटकदेखि आउँदिन,' उनले भने,' गाँजाले हामीलाई रमाइलो आभास प्रदान गर्छ। यत्रो टाढादेखि आएका हौँ। पाहुनालाई गाँजा खान दिएको भए पनि केही सजिलो महसुस हुन्थ्यो।'

पाँच वर्षदेखि लागतार शिवरात्रिमा आमाछोरा आइरहेको शिबु चक्रवर्ती बताउँछन्। पशुपतिको प्राङ्गणमा आमा र छोरा सँगसँगै बसेका छन्। पशुपतिनाथको दर्शन गर्नु भनेको बाग्मती माताको पनि सँगसँगै दर्शन गर्नु जस्तै रहेको उनी सुनाउँछन्।

'संसार बुझ्नको लागि बाबा भए। संसार पनि बुझे। तर, यहाँ भएका मानिसले संसारलाई फरक बनाइदिँदा रहेछन्,' उनले भने, 'पशुपति मन्दिरको आँगनमा आमासँगै बसेर भगवान् शिवजीको दर्शन गरिरहेको छु। सबै थोक पाएँ तर, गाँजा खान नपाउँदा भने मन खल्लो भएको छ। दिलले गाँजा मागेको छ, कानुनले गाँजा खान दिएको छैन।'

विकृति फैलने र स्वास्थ्यमा असर पर्ने भएकोले गाँजा बिक्री र सेवनमा प्रतिबन्ध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल बताउँछन्। शिवरात्री गाँजा नखाइ पनि मनाउन सकिन्छ भनेर सन्देश दिनलाई कडाइ गरिएको उनले बताए। विगत वर्षमा सेवन गर्नलाई अनुमति दिदाँ नराम्रो घटना घटेकोले यस वर्षदेखि पूर्णरूपमा प्रतिबन्ध लगाइएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.