|

मुगु : हिमाली जिल्ला मुगुमा शुक्रबार बिहानदेखि उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात र सदरमुकाम गमगडीमा परेको वर्षाका कारण हवाई, तथा सडक यातायात अवरुद्ध हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको हो।

सदरमुकाम गमगडी र आसपासका गाउँमा बिहान आठ बजेदेखि लगतार वर्षा भएको छ। जिल्लाका अन्य सबै बस्ती तथा उच्च हिमाली क्षेत्रमा भने बाक्लो हिमपात भइरहेका कारण  जिल्लाभरको जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन्।

हिमपातका कारण जिल्लाको एक मात्र रारा विमानस्थलमा हवाई सेवा तथा नाग्मा-गमगडी सडकखण्ड अवरुद्ध हुँदा आ-आफ्ना गन्तव्य स्थाततर्फ जाने आउने यात्रु अलपत्र परेको छन्।

नेपालगंज र सुर्खेतबाट आउँदै गरेको यात्रुबाहक र व्यापारीका सामन ल्याएर आएका सवारी साधन बीच बाटोमै थन्किएका छन भने हवाई सेवाबाट यात्रा गर्ने यात्रुहरू रारा विमानस्थल ताल्चामा अलपत्र परेका छन्।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका-९ वडाका १५ बस्तीमा सबैभन्दा बाक्लो हिमापत परेको छ। हिमपातले गर्दा सबैभन्दा बढी पशुचौपायलाई घाँसपात तथा जंगलमा चराउन समस्या भएको मुगुम कार्मारोङ गाँउपालिका-९ का पूर्णबहादुर बुढाले जानकारी दिए।

खत्याड गाँउपालिकाको खमाले, चाकपाडे, निगालबोट, जम्फै सेरी, डाडुपाटा, रोल, जिउका गम्थालगायत बस्तीमा समेत हिमपातले त्यहाँको जनजीवन कष्टकर बनेको त्यहाँका स्थानीयले बताएका छन्। सदरमुकाम गमगडीबाहेक छायानाथ रारा  नगरपालिकाको १४ वटै वडा र सोरु गाँउपालिकाको ११ वटै वडामा हिमपात भएको छ।

सदरमुकाम गमगडीबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बसका यात्रुलाई जुम्ला जिल्ला र मुगुको सिमानमा पर्ने घुच्चिलेखबाट नेपाली सेनाको श्रीदल गुल्मको बुलबुले पोष्टका सेनाले उद्धार गरेका छन्।

शुक्रबार बिहान रारा घुम्न गएका आठजना बालिकालाई रारामा बाक्लो हिमपात भएपछि उनीहरूको उद्धार गरिएको रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदल गुल्मका गुल्मपति निरजन धामीले जानकारी दिए। गुल्मपति धामीका अनुसार रारा क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमिसकेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णाकुमार निरौलाले दिएको जानकारी अनुसार जिल्लाको सदरमुकाम बाहेका जिल्लाको सबै उच्च हिमाली क्षेत्रमा  शुक्रबार बिहानदेखि हिमपात भएको छ। हिमपातले सर्वसाधरणको जनजीवन कष्टकर भएको भए पनि कुनै मानवीय तथा भौतिक क्षति भएको छैन। 

त्यस्तै, रारा घम्न गएका र सदरमुकाम गमगडीबाड सुर्खेत जाँदै गरेका यात्रुलाई नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेको छ। नेपाल प्रहरीको पिना प्रहरी चौकीले मोटरसाइकलसहित छायानाथ रारा नगरपालिका-७ घुच्चिलेखको सातमोड भन्ने स्थानमा हिउँमा फसेका पाँचजनाको उद्धार गरी प्रहरी चौकी रैसेरी पिनामा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुनेश्वरप्रासद साहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.