|

म्याग्दी : महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा शुक्रबार बिहानैदेखि भक्तजनको भीड लागेको छ। 

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताए।

उनले बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। कालीगण्डकी नदी किनारमा विशाल ९ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ।

मन्दिर परिसरका विभिन्न ठाउँबाट सिसी टिभीमार्फत निगरानी गर्नुका साथै सुरक्षाकर्मी र स्वयम्सेवक परिचालनद्वारा शान्त वातावरणमा मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको थियो।

म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङ, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लाबाट गलेश्वरको दर्शनका लागि भत्तजन आएका छन्। कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै ढुंगामाथि अवस्थित गलेश्वरमा शिवरात्री, बालाचर्तुदशी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ।

गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ। भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँडेको अवस्थामा गला पतन भएकाले गलेश्वर नाम रहन गएको धार्मीक ग्रन्थहरुमा उल्लेख छ।  बेलपत्र, समीपत्र, पञ्चामृत, गङ्गाजल, श्रीखण्डले पूजा गर्दा यो दिन निकै लाभ मिल्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.