|

डडेल्धुरा : नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करण धनगढीमा सुरु भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा सुदूरपश्चिमको एक मात्रै गोल्डकप शुक्रबाबरदेखि धनगढी रंगशालामा सुरु भएको हो।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको छ। धनगढी रंगशालामा भएको खेलमा बागमती युवा क्लब सिराहलाई टाइब्रेकरमा ४-२ ले हराउँदै कञ्चनजंघा क्वाटरफाइनल प्रवेश गरेको हो।

निर्धारित समयसम्म दुवै टीमले गोलरहित बराबरी खेलेपछि भएको टाइब्रेकरमा कञ्चनजंघालाई जिताउन गोलरक्षक निगमसिंह नायक बने। उनले बागमतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका हुन्।

यसअघिको दुबै हाफमा कञ्चनजंघाले अधिकांश समय बल आफ्नो पोल्टामा राखेको भएपनि गोल गर्न नसकेपछि टाइब्रेकरबाट छिनोफानो गरिएको हो। खेलमा कञ्चनजंघाका निगम सिंह दिनेश सोप म्यान अफ द म्याच भए। उनले नगद १० हजारसहित ट्रफी पाए।

पहिलो खेलमा जित हात पारेको कञ्चनजंघाले अब सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

भोलि एपिएप एनआरट भिड्ने

प्रतियोगिताअन्तर्गत शनिबार शसस्त्र प्रहरी बल एपीएफ र न्युरोड टीम एनआरटीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।

फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ। १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्येक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिता बारे जानकारी पाउने आयोजकले दाबी गरेको छ।

सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

यसअघि प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले गोल्डकप सुदुरपश्चिमको प्रतिष्ठासँग जोडिएकोले प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

सो अवसरमा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री र धनगढी उपमहानगरपालिका नगरप्रमुख नृप ओडले पनि आफ्नो तर्फबाट हुने सहयोगको वचनबद्धता व्यक्त गरे।

प्रतियोगिताको उद्घाटन अगाडि ट्राफिक चौराहबाट धनगढी रंगशालासम्म र्‍यालीसमेत निकालिएको थियो। नेपाल आइस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोवल आइएमई बैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ।

यसैगरी, हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, इन्सुरेन्स पाटर्सरमा मेटलाइफ अफिसियल बैंकमा सनराइज बैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ। सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदुरपश्चिम-११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.