|

बागलुङ : कालीगण्डकी करिडोरको गलुवामा सडकै अवरुद्ध पारेर ढुंगामाटो उत्खनन् भएको भन्दै उजुरी परेपछि प्रशासनले दुई पक्षबीच सहमति गराएको छ। करिडोरको मालढुंगादेखि एयरपोर्ट खण्डमा भएको अवरोध पनि प्रशासनले हटाएको छ।

पैयुँपाटाहुँदै कुश्मीसेरा जाने सडक कालोपत्रेको तयारी गरिरहेको निर्माण कम्पनीले करिडोरखण्डमा माटो झिकेर सडक अबरुद्ध पारेको उजुरी परेको थियो। निर्माण कम्पनीले निर्माणाधिन सडक र ढुंगामाटो झिक्दा करिडोर पनि अवरुद्ध पारेको आरोप लागेको थियो।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु, प्रहरी उपरिक्षक नवराज भट्टसहित करिडोर आयोजनाका इन्जिनियर अर्जुन नेपाली र कर्ण बिल्डर्स कन्स्ट्रक्सन प्रालिका नबिन गुरुङबीच सहमति भएको हो। उनीहरूबीच एक साताभित्र पहिरो पन्छाएर अवरुद्ध सडक सहज बनाउने, रातको समयमा मात्र काम गरेर दिउँसोमा सवारी साधन नरोक्ने र बैकल्पिक बाटो खुला गर्ने सहमति भएको सैंजुले बताए। ‘ठूलो विवाद थिएन, तर पनि बसेर सहमति गराएका छौं’ सैजुले भने, ‘अत्यावश्यक सेवा नरोक्ने तर पहिरो खस्ने स्थानलाई उचित व्यवस्थापन गर्ने कुरा पनि भएको छ।’

केहीदिनदेखि करिडोरको गलुवा नजिकैको व्यक्तिगत जग्गाबाट कम्पनीले ढुंगा माटो उत्खनन् गरिरहेको थियो। पाँच लाख दिने शर्तमा कम्पनीले व्यक्तिगत जग्गाको ढुंगामाटो झिके पनि नजिकैको पुलमा असर पर्ने काम गरेको भन्दै इन्जिनियर नेपालीले प्रशासनमा उजुरी गरेका थिए। लामो समयदेखि नबनेको सडक बन्ने क्रममा झिकेको सामग्रीलाई लिएर फेरी सडक निर्माणको काम अवरुद्ध हुने भन्दै स्थानीय त्रसिद भएर कम्पनीको पक्ष लागेका थिए।

‘बीस वर्षदेखि हामी सडकको सेवाबाट वञ्चित छौँ, फेरि सामग्री झिकेको बाहनामा काम गरेको कम्पनीलाई भड्काउने काम नगरौँ’ बलेवाका स्थानीय उमानाथ शर्माले भने, ‘दुईचार दिन सडक अवरुद्ध हुनुभन्दा बर्षौदेखिको समस्या सुल्झाउने काम चाहिएको छ।’

स्थानीय बासिन्दाले समेत करिडोर केही दिन अबरुद्ध भएपनि कुश्मीसेरा जाने सडक स्तरीय बन्नुपर्ने धारणा राखेका थिए। मालढुंगादेखि गलुवाहुँदै एयरपोर्ट जाने र पैयुँपाटाहुँदै कुश्मीसेरा जाने दुई सडक छन्। करिडोर सेनाले निर्माण गरेको हो। यो सडक चौडा भएकोले अब सडक विभागमार्फत थप स्तरोन्नतीको काम गरिने तयारीमा छ।

उपल्लो खण्डको सडकमा बर्सेनि करोडौँ बजेट खर्च भए पनि सम्पन्न भएको थिएन। चालु वर्ष १० किमी कालोपत्रे गर्ने तयारी छ। त्यसपछि स्थानीयमा विकासको आस पलाएको छ। ती दुवै खण्डमा अवरोध भए पनि तल्लो गलुवाको बाटो भएर कालाखोला जोड्ने विकल्पको बाटो पनि संचालनमा ल्याएकोले जिप र ट्रयाक्टरलाई कुनै समस्या नहुने गुरुङले बताए। बस चल्ने हकमा मात्र सामग्री झिक्दा अवरोध एको भन्दै १० मिनेट कुर्दा बाटो खुलाउने गरी काम भइरहेको समेत उनले बताए।

नेपालीले भने वातावरणीय प्रभाव मूल्यांकन नगरी सडकछेउमा ढुंगामाटो उत्खनन् भएको आरोप लगाएका थिए। उजुरी र अवरोधले चर्को रूप लिएपछि प्रशासनले विरोध भएको स्थानमै पुगेर समस्याको समाधान गर्ने निधो गरेको थियो । संघिय सांसद मनकुमारी केसी सहितको उपस्थितिमा दुईपक्षको सहमति भएपछि सडक निर्माणको काम सुचारु भएको छ। रातको समयमा सामाग्री उत्खनन् गरेर दिउँसो सडक खुलाउने समेत सहमति भएर कार्यान्वयनमा आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.