|

काठमाडौं : छ वर्षदेखि कुलेश्वरमा होटल थापेर पाँचथरकी खुसीमाया जवेगुले आफ्नो र परिवारको गुजारा चलाउँदै आएकी थिइन्। श्रीमान पादेङ हाङसँग मिलेर चलाइएको होटलबाट एक छोरा र एक छोरीको पठनपाठनका साथै सबै खर्चको जोहो भएको थियो। तर आइतबार राती सँगैको कस्मेटिक पसलबाट सल्किएको आगोले जवेगु परिवारको बिचल्ली भएको छ।

खाना पकाउने भाडा समेत बाँकी नरही सबै खरानी भएको छ। ‘हिजोदेखि खाना पनि खाएको छैन, पकाउने भाडासमेत बाँकी नरही आगोमा जल्यो’, खुसीमायाले दु:खी हुँदै भनिन्- ‘अब के गर्ने कसो गर्ने, केही सोच्न सकेको छैन।’

आगलागीमा भाडाकुडा र पसलका सामाग्री मात्र नभई महत्वपूर्ण कागजपत्रहरु पनि जलेको उनले बताइन्। ‘नागरिकतादेखि सबै कागजपत्र सजिलोका लागि पसलमै थियो, त्यो पनि झिक्न सकिएन, सबै जल्यो’, उनले भनिन्।

उनको जस्तै पीडा श्याम मिठाई पसल चलाउँदै आएकी करिश्मा श्रेष्ठको पनि छ। उनको परिवारले पनि त्यही मिठाई पसलबाट गुजारा चलाउँदै आएको थियो। ‘आमाले खाना पकाउँदै हुनुहुन्थ्यो, एक्कासी धुवाँ आएको देखेपछि के भएको भनी, कष्मेटिक पसलको सटर खोल्दा आगो सबैतिर फैलियो’, उनले भनिन्, ‘कस्मेटिक पसलबाट सल्किएको आगो ज्याकेट पसल हुँदै २८ वटा सटरभित्र रहेका सबै सामानहरु नष्ट भयो।’

कुलेश्वरका ब्रम्ह महर्जनले आफ्नो जग्गामा २८ वटा सटर बनाई भाडामा लगाउँदै आएका थिए। आइतबार बेलुकी आठ बजेतिर रामेछाप खाडादेवीकी हिरामाया महर्जनको कस्मेटिक पसलबाट सल्किएको आगोले २८ वटा सटरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा आठवटा वारुणयन्त्र र २२ ट्यांकर पानीले करिब साढे दुई घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा तीन करोड २२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक रिपोर्ट आएको महानगरीय प्रहरी बृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज अधिकारीले जानकारी दिए।

‘२८ वटा सटरमा संचालन भएका होटल, पसल र गोदामहरुका सामाग्रीको उनीहरुले दिएको रिपोर्टअनुसार तीन करोड २२ लाख रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान छ’, उनले भने- ‘आगो नियन्त्रणमा आएपछि अन्य अनुसन्धान भइरहेको छ।’

आगलागीमा घरपेटीले सञ्चालन गरेको भाडा पसलको ७० लाख, भारत सितामडीका मोजिम अन्सारीको मासु पसलको दुई लाख ५० हजार, तनहुँ क्यामिनकी सुशिला गुरुङको बुटिक टेलर्सको १२ लाख, कुलेश्वरका श्याम केसीको मेशीनरी टेडर्सको एक करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ।

त्यस्तै मकवानपुर चित्लाङका पञ्चकुमार श्रेष्ठको मिठाई पसलको दश लाख, पाँचथर याङनमका मादेश हाङ लिम्बुको डेढ लाख, सिन्धुपाल्चोक चौताराका तेजनाथ दुलालको फनिसिङ सेन्टरको ५० लाख, धादिङ चैनपुरका सूर्यमान शाक्यको होटलको आठ लाख, रामेछाप खाडादेवीका दूधिमाया मगरको पानी पसलको दुई लाख, हिरामाया मगरको कस्मेटिकको आठ लाख, भारत सितामढीका सुरेन्द्र भगतको खाना पसलको तीन लाख र भारत मोतथीहारीका नसिम अख्तरको धागो तथा ज्याकेट पसलको पाँच लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

हेर्नुहोस् कुलेश्वरमा भएको आगलागीका हृदयविदारक दृष्यहरु:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.