लागत बढाएको र करोडौं घुस मागेको आरोप

|
फाइल फोटो

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि राजीनामा बुझाएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

बाँस्कोटालाई भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारबाही गर्न भन्दै प्रितम सुवेदी र विजयबाबु शिवाकोटीले आइतबार आयोगको टंगालस्थित कार्यालयमा उजुरी दिएका हुन्। 

उनीहरुले दिएको उजुरी पत्रमा भनिएको छ, ‘नेपाल सरकारले किन्‍ने प्रक्रियामा रहेको सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको तथा उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउने राखी छलफल गरेको जानकारी नै होला।’

उनीहरुले भ्रष्टाचारजन्य कसुरमा छानबिन गरी कारबाही गर्न माग गरेका छन्। ‘यती समूहले सञ्चालन गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको सञ्चालक २०६८ मा बनेको तथा यस सरकारले पनि यती समूहलाई लाभ हुने गरी विभिन्‍न निर्णय लिएकोले श्री बाँस्कोटाले प्राप्त गरेको हुनसक्ने घुस तथा कमिसन यती समूहका कम्पनीमार्फत लगानी गरेको हुन सक्ने सम्भावना पनि रहेको छ,’ उजुरी पत्रमा लेखिएको छ, ‘साथै आफ्ना आफन्त तथा नजिकका सहयोगीहरूको नाममा बैंक खाता वा अन्य स्थानमा रकम जम्मा गरेको हुन पनि सक्छ वा आफ्नै घरमा पनि राखेको पनि हुन सक्छ। निज बाँस्कोटा प्रधानमन्त्रीको निजी निवासमा बसिरहेकोले तत्कालै त्यसको खानतलासी लिई र निज बास्कोटाका आफन्त वा सहयोगीहरूको बैंक खाताको बारेमा पनि बुझ्न पनि अनुरोध गर्दछौँ।’ 

उनीहरुले गोकुल बास्कोटालाई भ्रष्टाचारको कसुरमा छानविन गर्ने प्रष्ट आधार भएकोले आवश्यक छानविन गरी ऐनमा व्यवस्था भए अनुसार हदैसम्मको कारवाही गर्न पनि उजुरी पत्रमार्फत माग गरेका छन्।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.