|

पाकिस्तान क्रिकेटका पूर्व कप्तान शाहिद अफ्रिदीले भारत र पाकिस्तानबीचको बिग्रँदो सम्बन्धका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जिम्मेवार रहेको बताएका छन्।

क्रिकेट पाकिस्तानसँग कुरा गर्दै अफ्रिदीले जबसम्म भारतमा मोदी सत्तामा रहन्छन् त्यस बेलासम्म भारत र पाकिस्तानवीन क्रिकेट सिरिज हुन नसक्ने बताएका बिबिसीले जनाएको छ। दुवै देशबीच सन् २००८ को मुम्बई आक्रमणपछि द्विपक्षीय सिरिज खेलिएको छैन। यद्यपि अन्तर्राष्ट्रिय र विश्वस्तरीय टुर्नामेन्टमा भने दुवै देश आमने-सामने हुँदै आएका छन्।

अफरीदिले भने,‘मलाई लाग्छ जबसम्म भारतमा मोदी सत्तामा रहन्छन्। पाकिस्तानलाई भारतबाट कुनै सकारात्मक जवाफ आउने छैन। हामी सबैले उनको मानसिकता बुझिसकेका छौँ। उनको मानसिकताले नकारात्मकतातिर मात्र लैजाने छ।’

भारत र पाकिस्तानबीचको क्रिकेट सम्बन्धको यात्रामा उतारचढाव आइरहन्छ। गतवर्ष इंग्ल्यान्डमा भएको विश्वकपका क्रममा भारत र पाकिस्तान आमने-सामने हुँदा भारत विजयी भएको थियो। त्यस खेल अघि पनि भारत र पाकिस्तानबीच तनाव निक्कै बढेको थियो।

सन् २०१९ फेब्रुअरीमा पुलवामामा भएको आक्रमणपछि भारतले पाकिस्तानलाई विश्वकप खेल्न प्रतिबन्ध लगाउनु पर्ने मागसम्म गरेको थियो। भारतले पाकिस्तानमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले अस्वीकार गर्दै आएको छ।

सन् २००८ मा मुम्बई आक्रमणपछि दुवै देशबीचको सम्बन्धमा आएको तनावका कारण क्रिकेट सम्बन्ध पनि लगभग समाप्त जस्तै भएको थियो। दुवै देशबीच तनाव बढ्दा त्यसको प्रभाव क्रिकेटमा पनि देखिँदै आएको छ।

यद्यपि सन् २००१ मा पाकिस्तानको क्रिकेट टिम भारतमा आइसिसी वल्डकप खेल्न गएको थियो। त्यही टुर्नामेन्टका क्रममा पाकिस्तानी टीमले मोहालीमा भारतसँग सेमिफाइनल खेल खेलको थियो। शाहिद अफ्रिदीले पनि उक्त म्याच खेलेका थिए।

भारतले त्यसबेला आइसिसी वल्डकपको उपाधि जितेको थियो। यस्तै २०१७ मा इंग्ल्यान्ड र वेल्समा द ओभलमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो। यसपछि दुवै टिम २०१८ मा एशिया कपमा आमनेसामने भएका थिए जहाँ भारतले पाकिस्तानलाई सहजै हरायो।

यसअघि पनि लामो लामो समयसम्म दुवै देशबीच क्रिकेट म्याच नभएका छन्। सन् १९७८ मा १८ बर्षको अन्तरालपछि भारत-पाकिस्तानवीच क्रिकेट सम्बन्ध फेरि सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.