|

काठमाडौं : नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाका माग सम्बोधन गरी अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ। 

सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधिलगायतका विधेयकलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्ने गरी अगाडि बढ्न आग्रह गरेको हो।

कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा अगाडि बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताए।

महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरै भन्दा धेरै नागरिकको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानुन निर्माण प्रक्रिया स्थापना गर्नुपर्ने बताए। पछिल्लो समय आएका केही विधेयकका प्रवधानमा आफ्नो गम्भीर विमति रहेको उल्लेख गर्दै पोख्रेलले मिडियालाई स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितिको निर्माण गर्न माग गरे।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडि बढ्ने प्रयत्न आफूले गर्ने बताए। परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानुन बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उनले बताए।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकमा स्वतन्त्रतासम्बन्धी बन्देज लगाउने प्रावधानहरू रहेकोले ती प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो। महासंघले सभामुखको सफल कार्यकालको बधाइ तथा शुभकामना दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.