|

औपचारिक भ्रमणका क्रममा भारत आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक विशाल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरे।

अहमदावादस्थित मोटेरा रंगशालामा आयोजित 'नमस्ते ट्रम्प' शीर्षकको कार्यक्रममा यी दुवै नेता एकअर्काको प्रशंसा गरेर थाकेनन्। मोदीले ट्रम्प र उनकी पत्नी मेलानियाको मन खोलेर प्रशंसा गरे।

ट्रम्पको भ्रमणले दुई देशको मित्रतालाई चुलीमा पुर्‍याएको बताए। ट्रम्पले पनि मोदीको प्रशंसामा कुनै कञ्जुस्याइँ गरेनन्। 'कुनै दिन मोदी यही शहरमा चिया बेच्थे।आज प्रधानमन्त्री तथा सफल नेता बनेका छन्', ट्रम्पले भने, 'मोदी आज मलाई जुन आतिथ्यता दर्शाए। त्यो म कहिल्यै भुल्ने छैन।' 

इन्डो–प्यासिफिक मात्रै होइन, विश्वकै प्रगतिमा योगदान गर्नसक्छौं : मोदी

मोदीले दुई देशको सहकार्यले सिंगो विश्वलाई लाभ पुग्ने बताए। '२१ औं शताब्दीमा नयाँ–नयाँ किसिमका प्रतिस्पर्धा देखिएको छ। नयाँ–नयाँ धारहरू देखिएका छन्।अवसर र चुनौती देखिएका छन्', मोदीले भने, '२१ औं शताब्दीको विश्वलाई नयाँ दिशा दिन अमेरिका र भारतको सहकार्यले ठूलो भूमिका खेल्छ।' उनले अमेरिका र भारत तटस्थ सहयात्री भएको पनि बताए।

'अमेरिका भारतको सबैभन्दा ठूलो ट्रेड–पार्टनर हो', उनले भने, 'हाम्रो सहकार्यले इन्डो–प्यासिफिक क्षेत्रको मात्र होइन।सारा संसारको शान्ति सुरक्षा र प्रगति योगदान गर्नसक्छ।' २०२० को सुरूमै ट्रम्प भारत आउनु अर्थपूर्ण भएको मोदीको दावी थियो। 'अमेरिका भारतको ठूलो ट्रेड–पार्टनर त हुँदै हो। हामीले कसैसँग सर्वाधिक सैन्य–अभ्यास गरिरहेका छौं भने त्यो अमेरिका नै हो। अनुसन्धानमा कसैसँग सर्वाधिक साझेदारी गरेका छौं भने त्यो पनि अमेरिका नै हो', मोदीले भने।

भारतीय सेनालाई बलियो बनाउछौं : ट्रम्प 

ट्रम्पले भारतीय सेनालाई थप बलियो बनाउन अमेरिकाले सघाउने बताए। 'हामी साझा रुपमा 'एडभान्स डिफेन्स सिस्टम' माथि काम गर्दैछौं। भारतलाई रक्षा उपकरण दिँदैछौं। जसमार्फत हामी आतंकवादविरुद्ध मिलेर लड्नेछौं', उनले भने, 'हामीले स्लामिक स्टेटलाई ध्वस्त पार्‍यौं। अल–बगदादीलाई सिध्यायौं, यो लडाईं मिलेर लडिनेछ।'

पाकिस्तानसँग पनि राम्रो सम्बन्ध छ

'पाकिस्तानसँग पनि हाम्रो राम्रो सम्बन्ध छु' ट्रम्पले भने, 'त्यसैले, आतंकवादविरुद्ध लड्न हामीले पाकिस्तानसँग पनि हातेमालो गरिराखेका छौं। अमेरिका दक्षिण एसियामा शान्ति र स्थिरता चाहन्छ।'

आउँदा दिनमा भारत झनझन् बलियो हुँदै जाने भन्दै उनले भारतीयलाई 'भाग्यमानी' भने। 'तपाईंहरू भाग्यमानी हुनुहुन्छ।किनकि तपाईंहरू भारतमा बस्नुहुन्छ। तपाईंको देश संसारकै लागि लोकतन्त्रको उदाहरण हो।'

'नमस्ते ट्रम्प' शीर्षकको कार्यक्रममा एक लाखभन्दा धेरै मानिसहरू सामेल थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.