काठमाडाैं : नेपाली कांग्रेसमा कुनै संकट आइनपरे आगामी ०७७ फागुनमा १४ औँ महाधिवेशन हुनेछ। देखिनेगरी तीनवटा गुट रहेको कांग्रेसमा गुट फुटाउनेदेखि गुट बलियो बनाउने प्रयास जारी छ।
कांग्रेसको आगामी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा पुनः दोहोर्याउने तयारीमा छन्। देउवाले आफ्नो पल्लाभारी बलियो बनाउनकै लागि विभिन्न विभागमा फरक गुटका भनेर चिनिएकालाई जिम्मेवारी दिएका छन्।
उनै देउवालाई काउन्टर दिन वरिष्ठ नेता शेखर कोइराला सभापति पदमा उम्मेदवारी दिने पक्का जस्तै छ। यता, महामन्त्री शशांक कोइराला पनि सभापतिको मुख्य दाबेदारमध्ये एक हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिमा चुनाव लड्न यसपालि पनि पछि हट्ने देखिँदैन।
सभापतिका लागि आफ्नो पक्षमा माहोल बनाउन पछिल्लो समय मात्रै शेखर करिब ६० जिल्ला पुगिसकेका छन्। भ्रमण गरेमध्ये अधिकांश जिल्लामा एक्लै पुगेका शेखर अहिले आगामी दिनमा पार्टीको नेतृत्वमा आउने नेतासमेत बोकेर हिँड्न थालेका छन्।
शेखर अहिले प्रदेश-५ का विभिन्न जिल्ला भ्रमणमा निस्किएका छन्। उनीसँगै नेताहरू चन्द्र भण्डारी, गगन थापा सुजाता कोइराला, दीपक गिरी, चन्द्र भण्डारी, गगन थापा, डा. गोविन्द पोख्रेल, सञ्जय गौतम, सुरेन्द्र आचार्य कार्यक्रममा सँगै छन्। गगन थापा ११ गते ठाकुरबाबामा भएको कांग्रेसको नगरसम्मेलनमा शेखरसँगै पुगेका थापा पनि माहोल बनाउन मै व्यस्त छन्।
अघिल्लो महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुटबाट महामन्त्रीमा पराजित भएका गगन थापा यसपालि पनि महामन्त्री पदमै चुनाव लड्ने योजनामा रहेको नेताहरू बताउँछन्। थापा यसपालि शेखर कोइराला गुटबाटै महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको नेताहरू बताउँछन्।
काेइराला यो चरणमा प्रदेश ५ को बाँके, बर्दिया, कपिलवस्तु र दाङ पुग्नेछन्। प्रदेश ५ का जिल्लामा आफ्नो पक्षमा माहोल बनाउन नेताहरु चन्द्र भण्डारी, डा.गोविन्द पोखरेल र सञ्जय गौतमलाई विशेष जिम्मेवारी दिएको पनि कोइराला निकट स्रोतले जानकारी दियो।
‘प्रदेश ५ मा कांग्रेसमा धेरै पहुँच राख्ने नेतामध्ये चन्द्र भण्डारी, गोविन्द पोखरेल र सञ्जय गौतम हो,’ शेखर निकट स्रोतले भन्यो, ‘शेखरदाईले यस प्रदेशमा महाधिवेशनको जिम्मा नै उहाँहरूलाई दिनुभएको छ।’
आफू जाने जिल्लाका जिल्ला सभापतिहरूलाई पनि आफ्नै पक्षमा माहोल बनाउन शेखरले परिचालन गर्ने गरेका छन्। प्रदेश ५ का यी जिल्लाबाहेक अरू जिल्ला जानको लागि शेखरले भ्रमण तालिका निकालिसकेका छन्। शेखरको नयाँ यात्रा सिन्धुली, ओखलढुंगा,उदयपुर जिल्लाको हुने बताइएको छ।
‘उहाँको नेचर नै काठमाडौं बस्नभन्दा धेरै जिल्ला जानुपर्छ भन्ने छ,’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘१३ औँ महाधिवेशन सकिएपछि नै यहाँ जिल्ला जान थाल्नुभएको हो। उहाँ गिरिजाबाबुले गरेको कार्यहरुको कुरा गर्दै जिल्ला जानु हुन्छ।’ थपलियाले पनि शेखर कोइराला सभापतिको रेसमा रहेको बताए। ‘सभापति बन्नकै लागि जिल्ला दौडाहामा होइन। उहाँ सभापतिको रेसमा हुनुहुन्छ पक्कै हो,’ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।