|

काठमाडौं : चीनको हुवेइ प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणले गर्दा दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ भएको छ।

कोरोना भाइरस संक्रमणले दरबार स्कुल बनाउने चीनका निर्माण कम्पनीका पदाधिकारी नेपाल आउन नपाएकाले स्कुल हस्तान्तरणमा ढिलाइ भएको हो।  

काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ढकालले दरबार स्कुल निर्माणको काम सकिए पनि निर्माण कम्पनीका पदाधिकारी नेपाल आउन नसक्दा स्कुल हस्तान्तरणमा ढिलाइ भएको बताए।

‘दरबार स्कुल निर्माण कार्य सकिसकेको छ,’ उनले भने, ‘चीनमा फैलिएको कोरोना भाइरसले गर्दा चिनियाँहरू नेपाल आउन सकेका छैनन्। त्यसैले हस्तान्तरणमा ढिलाइ भएको छ।’

फागुन महिनाको अन्तिम समयसम्ममा स्कुल नेपाल सरकारलाई हस्तान्तरण हुने उनको अनुमान छ। उनका अनुसार सरकारले स्थानीय तहलाई शिक्षाको जिम्मेवारी दिएसँगै नवनिर्मित दरबार हाइस्कुल सञ्चालनका लागि महानगरपालिकाले जिम्मेवारी पाएको छ।

‘चीनले छोटो समयमै ऐतिहासिक झल्किने गरी पुरानै शैलीमा स्कुल पुनर्निर्माण गरेको छ' उनले भने, 'स्कुल सञ्चालन गर्ने जिम्मेवारी हामीले पाएका छौँ। चीनले हस्तान्तरण गरेपछि व्यवस्थित ढंगले सञ्चालन गर्ने छौँ।’

देशकै पहिलो शैक्षिक संस्था दरबार हाइस्कुल २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो। दरबार स्कुल भत्किएपछि छिमेकी राष्ट्र चीन सरकारले पुरानै स्वरूपमा २०७५ साउनबाट काम थालेको थियो। अहिले दरबार हाइस्कुल र संस्कृत माविका विद्यार्थीलाई बाल्मिकी क्याम्पस परिसरमा टहरो हालेर पठनपाठन गराइँदै आइएको छ।

चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनका नेपाली व्यवस्थापक राजेन्द्र केसीका अनुसार चारतले भवनमा ४६ कोठे नयाँ भवन निर्माण गरिएका छन। भवनका हरेक कोठामा ४४ जना विद्यार्थीले एकैसाथ पठनपाठन गर्न सक्नेछन्।

यो स्कुल श्री ३ जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला वेलायत भ्रमणबाट फर्केर आएपछि विसं १९१० मा बनेको हो। नेपालको पहिलो सार्वजनिक विद्यालयका रूपमा स्थापना भएसँगै देशमा औपचारिक शिक्षाको शुरुवात भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.