दिल्लीको हिंसामा प्रहरीसहित सातजनाको मृत्यु

|

नयाँ दिल्ली : नागरिकता संशोधन कानुन (सीएए) को मुद्दालाई लिएर उत्तर-पूर्वी दिल्लीमा मंगलवार पनि लगातार हिंसा भड्किउको छ। लगातार तेस्रो दिन पनि दिल्लीमा हिंसाको माहोल छ। 

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा फूल बर्साउँदै गर्दा त्यहाँ भन्दा २० किलोमिटरको दुरीमा प्रहीले प्रदर्शनकारीमाथि गोली बर्साइरहेको छ। 

दिल्लीमा आन्दोलनकारीले बिहानै आन्दोलन चर्काए। मौजपुर र ब्रह्मपुरी इलाकामा फेरि इँटा बर्साइएको छ। एक फायर ब्रिगेडलाई प्रदर्शनकारीले जलाइदिएका छन्। सोमबार मात्रै दिल्लीका ४५ स्थानमा आगजनी गरिएको थियो। 

सोमवार जाफराबाद र मौजपुर इलाामा सीएए विरोधी र समर्थक गुट आमनेसामने भएका थिए। यसक्रममा भएको हिंसामा दिल्ली पुलिसका हवलदार रतन लालसमेत सातजना मारिए । 

शहादराका डिसीपी अमित शर्मा, एसीपी अनुज कुमार र दमकलकर्मीसमेत ४० जवान घाइते भए। प्रदर्शनकारीतर्फ ७० जना घाइते भएका छन्। पुलिस सोमबार स्थिति नियन्त्रणमा भएको बताए पनि मंगलबादेखि पुन: हिंसा भड्किएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा दिल्ली पुग्नु केही घण्टा अघि भएको हिंसापछि ठूलै षडयन्त्र रहेको निचोड दिल्ली पुलिसले निकालेको छ।  

पुलिसका अनुसार प्रधानमन्त्री मोदीको छवि विश्‍वसामु खराब देखाउन यस्तो जालझेल गरिएको हुन सक्छ। ट्रम्प सोमवार राति दिल्लीको चाणक्यपुरीस्थित एक होटलमा बसेका थिए।

यो स्थान हिंसा भड्किएको क्षेत्रबाट करिब २० किलोमिटर दुरीमा छ। कानुन व्यवस्था कायम राखिरहन हिंसा प्रभावित इलाका अर्धसैनिक बलको ३५ कम्पनी तैनाथ गरिएको छ।

उत्तर-पूर्वी दिल्लीमा टकरावको सुरुवात शनिवार साँझ भएको थियो। जब जाफराबाद मेट्रो स्टेशनमुनि सडकमा ठूलो संख्यामा प्रदर्शनकारी जुट्न थाले। यिनमा धेरैजसो महिला थिए। प्रदर्शनकारीले शाहीन बाग जस्तै त्यहाँबाट पनि नहट्ने बताएका थिए।

तर त्यहाँबाट प्रहरीले त्रिपाल र काठका पाता उठाएर लगिदिएको थियो। पूर्वी दिल्लीको मौजपुरमा प्रदर्शनकारीले सडक बन्द गरेका थिए।

आइतवार यहाँ पहिलो पटक हिंसा भड्कियो। विवाद तब सुरु भयो जब भाजपा नेता कपिल मिश्रा  आफ्ना समर्थकलाई त्यहाँ पुगेर सडक खुलाउनका लागि हनुमान चालिसा पढ्न भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.