राजीनामा दिएका कर्मचारी भन्छन् : हाकिमले घूस मागे

|

म्याग्दी : पेश्की फर्स्यौट विषयमा धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्र सुनार र सोही गाउँपालिकाका पूर्वकर्मचारी नायव सुब्वा प्रेम बानियाँबीच विवाद चुलिदै गएको छ।

प्रशासकीय अधिकृत सुनारसँग कुरा नमिलेर विवाद भएपछि राजीनामा दिएका तत्कालीन नायव सुब्बा बानियाँले अधिकृत सुनारविरुद्ध १५ बुँदे आरोप सार्वजनिक गरेका छन्। अधिकृतले कर्मचारीबीच विभेद गरेको, कार्यालयमा काम गर्ने वातावरण नबनाएको, राजीनामा दिन बाध्य पारेको, कार्यालयको कामले फिल्डमा खटाउने तर सुविधा माग गर्दा 'घूस' मागेको आरोप सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि खरिद गरिएका सामान गुणस्तर अनुसारको नभएको, विकास आयोजना अपारदर्शी रूपमा सञ्चालन भएका, तालिम, बैठक सञ्चालन गर्दा होटलका फर्जी बिल भरपाई बनाएर बढी खर्च देखाई अनियमितता गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरिएको, सामाजिक र सार्वजनिक परीक्षण नभएको आरोप उनको छ।

गत आर्थिक वर्ष २०७५/७६ मा धवलागिरी गाउँपालिकाको ७ वटै वडामा सहकारी शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न चार लाख पचास हजार रुपैयाँ विनियोजन भएको थियो। कार्यक्रम कार्यान्वयन गर्न सुब्बा बानियाँले २०७५ चैतमा चार लाख रुपैयाँ पेश्की लिएका थिए। बानियाँका अनुसार चैतको १५ गतेबाट सुरु भएको कार्यक्रम गुर्जामा जेठमा गरेर सकिएको थियो।

एक दिनका दरले संचालन भएको कार्यक्रममा ४० जनाका दरले सहभागी गराउने लक्ष्य थियो। वडामा रहेका सहकारी संस्थाका पदाधीकारी, अगुवा, शिक्षक र राजनीतिकर्मी प्रशिक्षणमा सहभागी भएका थिए। सहभागीलाई खाना खाजा खर्चबापत चार सय रुपैयाँका दरले दिइएको थियो। कार्यक्रम सकिएपछि बानियाँले जेठको दोस्रो हप्ता पेश्की फर्स्यौटका लागि आवश्यक कागजात, बिल भरपाइसहित निवेदन लिएर अधिकृतकहाँ लगेको बताए।

हाकिमसँग पेश्की फर्स्यौट गर्न जाँदा जोबाट लगेको हो उसैबाट फर्स्यौट गर भनेर थर्काएको बानियाँले बताए। 'सरुवा भइसकेको हाकिम खोज्न म कहाँ जाने? मलाई पनि उहाँको कार्यशैली र व्यवहार ठीक लागेन्। काम गर्ने वातावरण नभएकाले जेठ १७ गते राजीनामा दिएर हिडेको हुँ’ बानियाँले भने।

बानियाँले प्रशासकीय अधिकृतले कार्यक्रमबापत मागेको कमिसन (घूस) दिन नसकेपछि पेश्की फर्स्यौट गर्न नमानेको आरोप लगाए। अपारदर्शी गतिविधिप्रति चित्त नबुझेपछि फँसिन्छ भनेर राजीनामा दिएको उनको भनाइ छ। गाउँपालिकाले पुष अन्तिम साता बानियाँलाई राजीनामा दिएकै दिन स्वीकृत भएको जानकारीसहितको पत्र पठाएको छ।

बानियाँ तत्कालीन जिल्ला विकास समितिअन्तर्गत स्थानीय विकास कोष कार्यक्रमका कर्मचारी हुन्। जिविस भंग भएर बनेको जिससले बानियाँलाई धवलागिरीमा पठाएको थियो। बानियाँ र अधिकृत सुनारको विवादको कारण सहकारीसम्बन्धी तालिम संचालनका लागि दिइएको चार लाख रुपैयाँ बानियाँको नाममा बेरुजु देखिनुको हो।

बानियाँले लगाएको आरोपको प्रशासकीय अधिकृत सुनारले अस्वीकार र खण्डन गर्दै व्यक्तिगत पूर्वाग्रह साँधेर आफूलाई दुःख दिन तथा गाउँपालिकालाई बदनाम गराउन खोजेको प्रतिक्रिया दिएका छन्। विधि, प्रक्रिया र नियम संगत काम गरिएको बताउँदै अधिकृत सुनारले बानियाँले आफ्नो चरित्र हत्या गर्न खोजेको बताए।

आरोपको पुष्टि गरेर देखाउन सुनारले बानियाँलाई चुनौति दिए। सहकारी शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रमको पेश्की फर्स्यौट गर्ने विषयमा गत जेठमा सुरु भएको अधिकृत सुनार र सुब्बा बानियाबीच आपसी स्वार्थको विवाद आरोप, प्रत्यारोप, उजुरी हुँदै सञ्चारमाध्यमसम्म आएको थियो।

अधिकृत सुनारले भने बानियाँले आवश्यक बिल, भरपाई र कागजात पूरा नगरिकन पेश्की फर्स्यौट गर्न आएपछि कागजात पुर्‍याउनभन्दा भए, नभएका आरोप लगाएर आफ्नो बदनाम गराउन खोजेको प्रतिक्रिया दिए।

पटकपटक पत्रमार्फत ताकेता गर्दा बेवास्ता गरेकाले बानियाँले पेश्की फर्स्यौट गर्नुको साटो उल्टै उजुरी गरेर आफू र अन्य कर्मचारीलाई फसाउन, बदनाम गराउन उद्धत भएको अधिकृत सुनारको भनाई छ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले प्रशासकीय अधिकृत र बानियाँको व्यक्तिगत विषय भएको बताउँदै दुईजनाको द्वन्द्वले गाउँपालिकालाई नै विवादित गराएकोले छलफलको माध्यमबाट समाधानका लागि सहजीकरणको पहल गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.