|

हेटौंडा :  मकवानपुर जिल्ला कैलाश गाउँपालिका-७ का ३१ वर्षीय राजकुमार चेपाङले  चेपाङ जातिकै पहिलो आरोहीको रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी थालेका छन्। 

२०७२ सालबाट हिमाली क्षेत्रमा भरियाको रुपमा  ६ हजार मिटरसम्मका हिमालहरु पटक पटक आरोहण गरिसकेका चेपाङ यो वर्ष भने नेपाल भ्रमण वर्षको अवसर पारेर आफैं सगरमाथा चढ्ने तयारी गरेका हुन्। तर भरियाको रुपमा आरोहण गरेकाले उनीसँग हाल सम्म ६ हजार मिटरसम्मका हिमाल आरोहण गरेको कुनै प्रमाण छैन।

प्रमाणको उनलाई खासै अर्थ त छैन तर सगरमाथा चढ्ने तयारी गरेका चेपाङलाई आरोहण सुरु गर्ने दिन नजिकिँदै गर्दा आर्थिक संकटले च्याप्दै छ। आउँदो जेठ ५ गतेबाट सगरमाथा आरोहणको तयारी गरेका उनलाई करिब २४ लाख रुपैयाँ आवश्यक पर्छ। उनले हालसम्म करिब ५ लाख रुपैयाँ मात्र सहयोगको आश्वासन पाएका छन्।

उनले सबै संग सहयोगको याचना गर्दै भने ‘भरियाको रुपमा काम गर्दै आएको मान्छ म अहिले पनि अरुको नाममा चढ्नसक्छु,  तर आफ्नो समुदायको इतिहासको लागि आरोहीको रुपमा सगरमाथा चढ्ने तयारी गरेको छु ”। उनले ब्यक्तिगत रुपमा आफैले खर्च गरेर चढ्न नसक्ने भएकाले सबैसँग सहयोगको अनुरोध गरेको बताए। आफुलाई विभिन्न देशका विदेशीहरुले लाखौं खर्च गर्न तयार रहेता पनि आफ्नै नामबाट सगरमाथा चढ्न लागेकोले सबै सँग सहयोग मागेको बताए।

उनले हालसम्म भरियाको रुपमा मनास्लु, धौलागिरी, आमादब्लाङ्ग, नेरला, साइपाल, लाक्र्य, गणेश, कुम्भकर्ण जस्ता हिमाल चढिसकेका छन्।  अति सिमान्तकृत चेपाङ समुदायको पहिचानका लागि भ्रमण वर्ष २०२० लाई लक्षित गरी सगरमाथा आरोहणको योजना बनाएको चेपाङ युवालाई सहयोग जुटाउन निकै गाह्रो परेको  संविधानसभा सदस्य तथा चेपाङ अगुवा गोबिन्दराम चेपाङले बताए।

गोबिन्द चेपाङका अनुसार संघिय पर्यटन मन्त्रालयले सगरमाथा चढ्दा तिर्नु पर्ने रोयल्टी ७५ हजार छुट बाहेक अरु केहि नगरेको बताए।  मकवानपुरका स्थानीय तहले आश्वासन दिएपनि सहयोग प्राप्तनभएको उनले बताए।

हाल प्रदेश सभा सदस्य रहेका सन्त चेपाङलाई बारम्बार फोन गरे पनि नउठाएको उनले गुनासो गरे।  मुख्यमन्त्री डोरमणि पौडेल सँग भेट्न खोजे पनि समय नपाएको समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.