सिडियोले मुद्दा दर्ता नगरेको सांसद यादवको गुनासो

|

बारा : बाराको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले गरेको बद्मासीको बारेमा प्रतिनिधि सभाको बैठकमा कुरा उठेको छ।

बाराका संघीय सांसद रामसहायप्रसाद यादवले शून्य समयमा बोल्दै महागढीमाई-२ मैनी टोलमा नाला निर्माणबारे प्रतिकृया फेसबुकमा पोष्ट गरेको विषयलाई लिएर नगर प्रमुख यादवको गरेको उपद्रोको भर्त्सना गरेका छन्।

नगर प्रमुख यादवले अमानवीय दुव्यवहार गरेको भन्दै उनले कार्वाहीको लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। सासद यादवले शहरी विकास मन्त्रालयको योजनामा निर्माण भएको नाला पुरेर नगर प्रमुख यादवले एकलौटी सडक निर्माण गर्दा नालाको पानी घरभित्र पसेपछि स्थानीय मुकेश महतोले नगर प्रमुखसँग जवाफ माग्दा उनका बाबु हरेन्द्र महतो कोइरीलाई नगर प्रमुखले नगर प्रहरी लगाएर शौचालयमा थुनिदिएको बताए।

खेतमा काम गरिरहेको अवस्थामा नगर प्रहरी प्रयोग गरेर नगर प्रमुख यादव र चालकले थप्पड हानेको उनले बताए। ‘नगर प्रमुखले आफ्नो चप्पल खोलेर महतोलाई टाउकोमा राख्न लगाए,’ सासंद यादवले भने–'महतोले अस्वीकार नगरेपछि शौचालय आधा घण्टा थुनिदिए। त्यसपछि नगरपालिकाको भान्सामा र नगर प्रमुखको निजी घरमा थुनेर कुटिएको छ।’

सासंद यादवले लोकतान्त्रिक युगमा जननिर्वाचित जनप्रतिनिधिले गरेको अमानवीय व्यवहार भएको घटनाको छानबिनको माग गरेका छन्। उनले मुद्दा दर्ता गर्दा गरेर कडाभन्दा कडा कार्वाहीको मागसमेत गरे। उनले बाराका प्रमुख जिल्ला अधिकारीले आइतबार मुद्दा दर्ता गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म मुद्दा दर्ता नगरेको बताए।

नगर प्रमुख यादवले आफूविरुद्ध मुद्दा दर्ता गर्न प्रशासन कार्यालय गएको भन्दै मुकेशलाई पक्राउ गर्न लगाएको र प्रहरी मुकदर्शक भएर बसेको सांसद यादवको आरोप छ। मुकेशलाई कुटपिट गरेको आरोपमा आइतबार प्रहरीले नगर प्रमुखका सहयोगी सुचेन्द्र बैठालाई पक्राउ गरेको छ। 

कर्मचारी आन्दोलित

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन महागढीमाई नगरपालिका ईकाइ बाराले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। नगरपालिकाका कर्मचारी ट्याक्टर चालक साहेबप्रसाद यादवमाथि सांघातिक हामला गरी गम्भीर घाइते बनाएको भन्दै दोषीलाई पक्राउ गरि कार्वाहीको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।

घटनाको दोषीलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय बारामा गत आइतबार ज्ञापनपत्र बुझाए पनि दोषी पक्राउ नपरेपछि आन्दोलनको घोषणा गरिएको जनाइएको छ।

फागुन १४ गते कालोपट्टी बाँधेर कार्यालयमा कामकाज गर्ने, १५ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारी धर्ना गर्ने, १६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारी धर्ना दिने, १८ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारी धर्ना गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

त्यसैगरी, १९ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारी धर्ना गर्ने र २० गते देखि अनिश्चितकालीन कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारी धर्नामा बस्नेलगायतको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.