|

बारा (सिमरा) : वीरगञ्ज–पथलैया व्यापारिक मार्गको मुल सडक छेउमा खुलारुपमा मासु बेचबिखन भइरहे पनि सरोकारवाला निकायहरु भने मुकदर्शक बनेर बसेका छन्।

जितपुरसिमरा उपमहानगरपालिका मुलगेटकै सामुन्ने सडकमा खुला रुपमा मासु बेचबिखन भइरहँदा जितपुरसिमरा उपमहानगर, वडा कार्यालय, इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालय भने मुकदर्शक बनेर बसेका हुन्। निमार्णाधीन सडकबाट आएको धुलो, धुवाँ, उद्योगबाट निस्कासित प्रदूषित पानी र स्थानीय व्यापारीले फालेका फोहरको  छेउमै ओत लाग्ने सानो प्लाष्टिकको छानो हालेर मासु बेचबिखन भइरहेको छ। 

तराई अस्पतालका सञ्चालक डा. रविन्द्र सिंहले खुला रुपमा सडक छेउमा बेचबिखन गरिएको मासु खाँदा मानव स्वास्थ्यमा ठूलो समस्या हुने बताउँछन्। ‘यस्तो खुला रुपमा राखिएको मासु खाँदा झाडापखला लाग्ने, ज्वरो, रुघाखोकी, निमोनिया, छातीमा समस्या, दमलगायत धेरै समस्या हुन्छ। यो मानव स्वास्थ्यमाथि चरम लापरवाही हो। यस्ता व्यापारीलाई नगरपालिकाले तत्काल कारवाही गर्न सक्नुपर्छ,’ डा. सिंहले भने, ‘नगरपालिकाले खाद्य प्राविधिक कर्मचारी राखेर समय समयमा बजार अनुगमन गरी लापरवाही गर्नेलाई तत्काल कारवाही गर्न सक्नुपर्छ।’ 

स्थानिय निकायसँगै उपभोक्ताको हकहितका लागि जिल्लामा सरकारी र गैरसरकारी गरी करिब एक दर्जन संघसंस्था छन्। तर ती निकायहरुले एकले अर्कालाई जिम्मेवारी तेर्साउने र कामवाट पन्छिने गरेको उपभोक्ताहरुको गुनासो छ। 

इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले स्थानीय सरकारले चासो नदेखाउँदा प्रशासनले मात्रै गरेको अनुगमन प्रभावकारी हुन नसकेको बताए। उनले भने, ‘हामीले दुई साताअघि अनुगमन गरेर सफा ठाँउमा व्यवस्थित ढंगले मासु बेचबिखन गर्न व्यपारीहरुलाई निर्देशन दिएका हौं तर अहिले पनि अवस्था उस्तै छ।’ 

जितपुरसिमरा औद्योगिक करिडोरमा मात्रै तीन दर्जनभन्दा बढी मासुपसलले खुला रुपमा मासु बेचबिखन गरिरहेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बजार बजार अनुगमनको मुख्य जिम्मेवारी स्थानीय जनप्रतिनिधिलाई सुम्पेको छ। तर, जनप्रतिनिधिहरु नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका कारण मासु  बेचबिखनलाई व्यवस्थित गर्न नसकिएको आरोप लगाउँछन्। 

‘हामीले सबै मासु पसलहरुलाई एकै ठाउँबाट व्यवस्थित ढंगले सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं, तर यसमा नगरपालिकाले कहाँ कुन ठाउँमा सञ्चालन गर्ने भनेर ठाउँ छनोट नगरेका कारण ढिला भएको हो,’ जितपुरसिमरा–७ का वडाध्यक्ष रामबाबु गुप्ता कलवारले भने, ‘खुला सडकमा मासु बेचबिखन भएको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। तर, यो हामीले समाधान गर्न सक्ने विषय होइन, नगरपालिकाले ठाउँ छनोट गरिदिनुपर्‍यो।’

पथलैया–वीरगञ्ज औद्योगिक करिडोर आसपास मात्रै होइन, जिल्ला सदरमुकाम कलैया उपमहानगरको बजार क्षेत्र प्रसौनी, परवानीपुर गाउँपालिकासहित १६ वटै स्थानीय तहमा खुला रुपमा सडक आसपासमा बिक्री हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगिनीले जिल्लाका १६ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको रोहबरमा खुला रुपमा मासु बेचबिखन रोक्ने निर्णय भएकाले त्यसलाई तत्काल कार्यान्वयनमा  लैजाने बताउँछन्। 

‘मासु खुला रुपमा सडकपेटीमा बेचबिखन गर्न रोक लगाउने गरी स्थानीय तहको प्रतिनिधिहरुको रोहबरमा निर्णय भइसकेको छ,’ प्रहरी उपरीक्षक पंगिनीले भने, ‘अब हामी यसलाई हामी अनुगमन गरेर तत्काल कारवाहीको दायरामा ल्याउँछौं।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.