|

काठमाडौं : वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठन गरिएको भनिएको कार्यदललाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले भंग गरेको छ।

गत शनिबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीसमेत बन्‍ने बाटो खोल्ने गरी संविधान संशोधनका लागि तीन सदस्यीय कार्यदल बनाएको थियो।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

राष्ट्रियसभा सदस्यको हैसियत प्रतिनिधिसभा सदस्य बराबर हुनेगरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भएको थियो। त्यसको चौतर्फी विरोध भएपछि तत्काल काम अगाडि नबढाउने निर्णय बुधबारको सचिवालयले गरेको हो । कार्यदल बनाएको विषयमा पार्टी भित्र र बाहिरबाट चर्को विरोध भएको थियो।

कार्यदलका सदस्य भनिएका सुवास नेम्वाङ र खिमलाल देवकोटाले उक्त जिम्मेवारीमा बस्‍न अस्वीकार गरेपछि नेकपा नेतृत्वलाई अफ्ठेरो परेको थियो। 

बुधबारको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ। अब गौतमलाई मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.