सिन्धुली : सिन्धुलीको पश्चिमी भेगको हरिहरपुरगढी गाउँपालिकाले वेरोगारीको समस्या समाधान गर्न र वैदेशिक रोजगारीमा जाने युवालाई गाउँमै राख्न पशुपालनको लागि अनुदान दिने भएको छ।
गाउँपालिकाले यसै आर्थिक वर्षमा गाई, बाख्रा र बंगुर किसानलाई अनुदानमा बढन् थालेको हो। गाउँपालिकाले गाई, बाख्रा र बंगुर वितरण गर्नका लागी झन्डै एक करोड बजेट विनियोजन गरेको गाउपालिकाका अध्यक्ष कार्साङ लामाले बताए। गाउँपालिका-१, ४, ५ मा उन्नतजातको बाख्रा, वडा-२, ३ मा बंगुर, र वडा-६, ७, ८ मा उन्नत जातको गाई अनुदानमा वितरण गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको अध्यक्ष लामाले बताए।
‘गाउँपालिकामा हामीले कृषिलाई प्राथमिकतामा राखेर योजना बनाएका छौँ' उनले भने, 'गाउँपालिकामा जुन पशुपालन गर्न सम्भावना छ, त्यहीअनुसार योजना बनाएका हौँ।' गाउँपालिका-१, ४, ५ वडा बाख्रा पालनको लागि उपयुक्त रहेको र बाख्राका लागि आवश्यक पर्ने घाँस पनि पर्याप्त पाइने भएकाले यी वडामा बाख्रापालनका लागि किसानलाई अनुदान दिन थालिएको उनले बताए।
वडा-६, ७, ८ मा गाईपालनका लागि प्रशस्त घाँस रहेकाले यस आर्थिक वर्षमा एक सय वटा उन्नत जातको गाई किसानलाई वितरण गर्न थालिएको उनले बताए। गाउँपालिकामा दूध उत्पादन बढाउनका लागि र परम्परागत पशुपालनलाई त्याग्दै व्यावसायिक र उन्नत जातको गाई पाल्न किसानलाई प्रेरित गराउने लक्ष्य रहेको उनको भनाइ छ। बाख्रा, गाई र बंगुर वितरणका लागि गाउँपालिकाले कार्यविधि बनाएर पास गरिसकेको उनले बताए।
‘किसानको ४० प्रतिशत लगानी र गाउपालिकाको ६० प्रतिशत अनुदान रहने गरी हामीले वितरण गर्ने योजना बनाएका छौँ। गाउपालिकाले मात्रै लगानी गर्दा किसानले आफ्नो पैसा परेको छैन भनेर अलि महत्व दिएर पाल्दैनन् की भनेर हामीले किसानको पनि लगानी हुने गरी वितरण गर्न खोजेका हौँ’ उनले भने। वितरण गरेको गाईको बीमा भने गाउँपालिकाले गरिदिने उनले जानकारी दिए।
उनले गरिव, विपन्न, दलितलगायत पिछडिएका वर्गलाई नै प्राथमिकतामा राखेर अनुदान दिने बताए। नमुनाका रूपमा भएकाले अहिले एक किसान बराबर एउटा गाई वितरण गर्न थालिएको र यो योजना सफल भएमा किसानको योजना र क्षमताका आधारमा अरू पनि वितरण गर्ने उनले बताए।
निर्माणाधीन धरान–चतरा–सिन्धुली–हेटौँडा (मदन भण्डारी) राजमार्गले हरिहरपुरगढीको प्रायः सबै वडाको भूभाग छोएर गएकोले यहाँ उत्पादित वस्तुका लागि बजारको राम्रो सम्भावना रहेको उनको भनाइ छ।
‘गाउँपालिकाका किसानलाई उत्पादनमा नजोडि देशकै ठूलो आयोजनामा पर्ने निर्माणाधीन मदन भण्डारी राजमार्ग बन्नुको कुनै औचित्य रहँदैन' उनले भने 'त्यस कारणले पनि किसानलाई उत्पादनमा लाग्न उत्प्रेरित गर्ने उदेश्यले नमुनाको रूपमा हामीले अनुदानमा पशु वितरण गर्न लागेका हौँ।’ राजमार्ग बनेपछि गाउँपालिकामा उत्पादित कृषिजन्य सामग्रीको बजारीकरणमा सहज हुने उनको अपेक्षा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।