समाज

बागलुङ बसपार्कका जग्गादातालाई पीडै-पीडा, बाँकी जग्गा पाउन १७ बर्षदेखि धाउँदै

फागुन १५, २०७६

    बागलुङ : आफैंले दिएको जग्गामा धमाधम बसपार्क निर्माणको काम भैरहँदा बाँकी जग्गा फिर्ता नपाएको भन्दै आधुनिक बागलुङ बसपार्कका जग्गादाता यतिबेला वडा कार्यालयदेखि नगरप्रमुखकको कार्यकक्षसम्म धाईरहेका छन्। आधुनिक बागलुङ बसपार्क निर्माण पछि बाँकी रहेको जग्गा फिर्ता माग्दै उनीहरु सरोकारवालाको दैलो धाउन थालेका हुन्।

    बसपार्कका लागि जग्गा दिएको १७ बर्ष बितेको छ। बागलुङ बसपार्क जग्गा व्यवस्थापन तथा विकास समितिका प्रतिनिधि र जग्गादाताको समुहले बुधबार बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेललाई भेटेर बाँकी रहेको जग्गा फिर्ता मागेको थियो। उनीहरुले यसरी जग्गा माग्न थालेको बर्षौं बितेको छ। यसपटक पनि उनीहरुले एक बर्षे आश्वासन पाएका छन्।

    बागलुङ बसपार्क निर्माणका लागि १७ बर्ष पहिला बागलुङ नगरपालिका-४ उपल्लाचौरमा रहेको जग्गा ६४ जना जग्गादाताले एकिकृत गरेर समितिलाई उपलव्ध गराएका थिए। जग्गा व्यवस्थापन तथा विकास समितिले एकिकृत भएको ५९ रोपनी जग्गामध्ये साढे १७ रोपनी जग्गा बागलुङ नगरपालिकाका नाममा उपलव्ध गराएर आधुनिक बसपार्क निर्माणको काम चलिरहेको छ। 

    प्रभावित क्षेत्रको सबै जग्गा एकिकृत गर्ने र बसपार्कलाई आवश्यक जग्गा निशुल्क दिएर बाँकी जग्गा जग्गादातालाई फिर्ता गर्ने सहमति भएको थियो। सहमति भएको लामो समय बितिसक्दा समेत जग्गा फिर्ता नपाएको भन्दै जग्गादाताहरु बागलुङ नगरपालिकामा 'डेलिगेशन' गएका हुन्। समिति र नगरपालिकाबीच बाँकी रहेको जग्गामा बिजुली, पानी, सडक, डल लगायतका पूर्वाधार बनाएर कित्ताकाट गरी जग्गादातालाई फिर्ता गर्नेगरी १२ बुँदे सहमति भएको थियो।

    बुधबार जग्गादाताहरुसँग कुराकानी गर्दै नगरप्रमुख जनकराज पौडेलले एक महिनाभित्र कित्ताकाटको काम सक्ने र एक बर्षभित्रमा जग्गादातालाई जग्गा उपलव्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन्। ‘उहाँले आगामी नगर कार्यपालिकाको बैठकमा जग्गादाताका समस्या राख्छु भन्नुभएको छ’ जग्गादाता सुवास केसीले भने ‘नगरले निर्णय गरेर आवश्यक व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्ने आश्वासन पाएका छौं।’ 

    १२ बुँदे सम्झौता अनुसार बाँकी रहेको जग्गामा कित्ताकाट हुनुपूर्व पूर्वाधार निर्माणको लागि झण्डै दुई करोड खर्च हुने स्टमेट रहेको समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए। ‘हामीले जग्गा दिएका छौं बसपार्क बन्दैछ’ उनले भने ‘बाँकी जग्गा कसरी फिर्ता गर्ने भन्ने बिषयमा सरकोकारवाला नगरपालिका र जग्गादाताबीच भएको सहमतिको कार्यान्वयन वा जग्गादाताको सल्लाहका आधारमा अन्य विकल्पको खोजी भैरहेको छ।’ उनले आगामी एक बर्षभित्र जग्गा फिर्ता गर्ने वातावरण बनाउनका लागि समिति लागिरहेको बताए। 

    बागलुङ नगरपालिकाले पनि बसपार्कको लागि छुट्टाएर बाँकी रहेको जग्गा दाताहरुलाई फिर्ता गर्न आफु आतुर रहेको जनाएको छ। प्रदेशकै नमुना बसपार्क बन्ने भएकाले संघ र प्रदेश सरकारले समेत यसमा सहयोग गर्नुपर्ने नगरपालिकाको तर्क छ।

    ‘यहाँ निर्माण गर्ने भनिएका पूर्वाधारको लागि स्रोतको जोहो गर्ने प्रयास भैरहेको छ’ नगरप्रमुख जनकारज पौडेलले भने ‘सके हामी माथीका सरकारबाट सम्बोधन गराउँछौं, नभए हामी आँफै लागेर भए पनि जग्गा दाताको चित्त बुझाउने प्रयासमा रहेका छौं।’

तारानाथ आचार्य

 आचार्य थाहा खबरका बाग्लुङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]