बाँके : नेपालगन्ज नेपालको पुरानो शहरमध्ये एक हो। नेपालकै नामबाट राखिएको नेपालगन्जको परिकल्पना श्री ३ जंगबहादुरले गरेका थिए। नयाँ मुलुककको रुपमा चिनिने नेपालगन्जमा सीमान्तकृत, अल्पसंख्यक समुदायको समेत बसोबास छ। नेपालगन्ज धार्मिक तथा सामाजिक विविधता भएको शहर पनि हो। नेपालगन्जको विविधतामध्ये खानाको परिकार पनि एक मानिन्छ।
नेपालगन्जमा पाइने परिकारले यो सहरको परिचय दिन्छन्। पुस्तौंदेखि प्रचलनमा रहेका खानाका परिकारले यहाँका रहनसहन, चालचलन, भाषा, संस्कृतिको परिचय दिन्छन्। अन्य शहरमा पाइने खानाका परिकारभन्दा छुट्टै स्वाद दिने परिकारले नेपालगन्जलाई चिनाउन मद्दत गरेका छन्। यहाँ निम्न वर्गदेखि उच्च घरानियाले खाने परिकार पाइन्छ।
भारतीय परिकारको प्रभाव नेपालगन्जमा पाइने खानाका परिकारमा पनि परेको पाइन्छ। भारत उत्तर प्रदेशको राजधानी लखनऊमा पाइने बिरयानीले नेपालगन्जमा पनि ख्याती कमाएको छ। नेपालगन्जका रैथानेको उठबस, विहावारी भारतबाट हुने भएकोले पनि भारतीय परिकारको प्रभाव नेपालगन्जमा पनि परेको हुन सक्छ।
बिरयानी
बिरयानी नेपालगन्जको नाम चलेको परिकारमध्ये एक हो। बाहिरबाट आउने प्रायजसोले बिरयानीको स्वाद लिन एकलैनी बजार पुग्छन्। इस्लाम धर्मावलम्बीको मुख्य परिकारको रुपमा मानिने बिरयानीको स्वादले गैर इस्लाम धर्मावलम्वी पनि मोहित हुने गरेको पाइन्छ।
बिरयानी चामल र मासु मिसाएर पकाइन्छ। नेपालगन्जमा मुवारक बिरयानी चर्चित छ। एकलैनीको मुवारक बिरयानीले चर्चा कमाएपछि अहिले नेपालगन्जमा विभिन्न स्थानमा बिरयानीको खाजा पसल खुलेका छन्। बिरयानी धेरै ठाउँमा पाइने भए पनि पकाउने व्यक्तिको कलाकौशलको आधारमा स्वाद फरक हुने गरेको छ।
सेकुवा
नेपालगन्जको परिकारमध्ये सेकुवा पनि प्रमुख मानिन्छ। नेपालगन्जको धम्बोझी चोक र बिपी चोकका होटलमा सेकुवा खान पाइन्छ। तर, नेपालगन्जको भेरी अस्पताल, पुष्पलाल चोक, क्युएफएक्स बागेश्वरी सिनेमा हल रोडमा पनि सेकुवाका पसल लस्करै देख्न पाइन्छ। पहिले खसीको मात्र सेकुवा पाइने नेपालगन्जमा अहिले बंगुर र लोकल कुखुराको सेकुवा पनि विक्री हुन थालेको छ। बेलुकीपख नेपालगन्जको बिपी चोक, धम्बोझी चोक, बागेश्वरी सिनमा हल, भेरी अस्पताल चोकमा सेकुवा खानेको ठूलो भीड लाग्ने गर्दछ।
रावडी
रावडी दूधबाट बनेको विशेष परिकार हो रावडी। तीन पुस्तादेखि नेपालगन्जको त्रिभुवन चोकका मिठाई पसलमा रावडीको परिकार बिक्री हुँदै आएको छ। गन्यमान्यलाई खुसी बनाउन, ठूलाबडाको आशीर्वाद लिन वा कुनै अल्झेको काम सफल बनाउन नेपालगन्जीयाले राबडीको कोशेली दिने चलन छ। नेपालगन्जको राबडी काठमाडौँ लगायत देशका ठूला सहर र चारतारे होटलका भान्सामा समेत पुग्छ।
नेपालगन्जलाई चाट र राबडीको सहरका रुपमा पनि लिइन्छ। नेपालगन्ज आउने जो कोही राबडीको स्वाद लिएर मात्र फर्किन्छन्। एकपटक स्वाद चाखेपछि अर्कोपल्ट नखाएर सुख पाइँदैन। त्यसैले नेपालगन्ज आउने अधिकांश पाहुना राबडी खान त्रिभुवन चोक पुग्छन्।
मिठो स्वाद र स्वास्थ्यका लागि फाइदाजनक भएकोले दोस्रो पटक आउँदा होवस् वा कोही नेपालगन्ज आउँदा त्रिभुवन चोकको राबडी खान सिफारिस गर्छन् र लिएर आउन आग्रह गर्दछन्। नेपालगन्जका आशिष गुप्ता भन्छन्, ‘पहिलो पटक नेपालगन्ज आएको मान्छे त्रिभुवन चोक अवश्य जान्छ र फेरि नेपालगन्ज आउँदा राबडीको स्वाद लिन पटक–पटक जान्छन्।’
दूधलाई दुई घण्टासम्म उमालेर राबडी तयारी गरिन्छ। दुधलाई ठोस बनाउन कराईमा दुई–तीन घण्टा उम्माल्नु पर्छ। १० लिटर दुधको कम्तीमा तीन किलो राबडी तयार हुन्छ। दुधको गुणस्तरियता हेरेर राबडी तयार हुने गरेको नेपालगन्जको त्रिभुवन चोकस्थित शिव मिष्ठान भण्डारका प्रोप्राइटर ऋषि गुप्ताले बताए।
राबडी प्रतिष्ठित व्यक्तिलाई कोशेली दिने चलन पनि बढेको छ। काठमाडौँका प्रतिष्ठित व्यक्तिलाई भेट्न जाँदा नेपालगन्जीयाले कोशेलीको रुपमा राबडी लिएर जाने गर्छन्। राबडी लिएर जाँदा काठमाडौँका प्रतिष्ठित ब्यक्तिहरु खुसी हुने भएकोले अधिकांशले कोशेलीको रुपमा यहि लैजाने गरेका छन्।
चाट
चाट पनि नेपालगन्जका प्रख्यात परिकारमध्येमा पर्दछ। चाट खानेमा धेरैजसो महिला हुन्छन्। तै पनि बाहिरबाट आएकाले समेत नेपालगन्जको चाटको स्वाद लिन पछाडी पर्दैनन्। नेपालगन्जमा धेरैथरीका चाटको स्वाद लिन सकिन्छ।
उमालेको आलुबाट चाट बनाइन्छ। उमालेको आलुको बोक्रा फालेर अदुवा, हरियो खुर्सानी, सूजी, सुकेको खुर्सानीको धुलो, जीराको पाउडर, चाट मसाला पाउडर, हरियो धनिया, अमचूर पाउडर र नुन हालेर आलुको चाट बनाइन्छ। बोक्रा फालेको थोरै आलुलाई हातमा लिएर चेप्टो बनाएर टिकिया बनाइन्छ।
चाट बनाउन प्रयोग हुने तावामा एक चम्चा तेल हालेर तातो बनाउनु पर्छ। टिकियाको दुवैतर्फ खैरो बनाउनु पर्छ। त्यसपछि ग्राहकको माग अनुसार आलुको टिकिया तावामा राखेर फाटेको दही, खजुर, इमलीको चटनी, रातो खुर्सानीको धुलो र नुन हालेर चाट तयार गरिन्छ। ग्राहकको माग अनुसार, चाट खट्टो र मिठो बनाइन्छ।
पानीपुरी
नेपालगन्जको परिकारमध्ये अधिकांशको रोजाइमा पानी पुरी पनि एक प्रमुख परिकार हो। गहुँका साना–साना पुरी बनाएर त्यसमा खट्टो, पिरो पानी हालेर पानी पुरी बनाइन्छ। पुरीमा चना वा केराउ हालेर मिठो बनाइन्छ।
एउटा व्यक्तिले कम्तीमा १० वटा पानीपुरी खाने गर्दछन्। खट्टो, पिरो मन पराउनेका लागि पानीपुरी अति उत्तम परिकार मानिन्छ। नेपालगन्जको त्रिभुवन चोक आसपासमा पानीपुरीको ब्यापार हुने गरेको छ।
हलुवा–पराठा
नेपालगन्ज आउँदा खान छुटाउन नहुने परिकार हो हलुवा पराठा। हलुवा पराठा नेपालगन्जलाई चिनाउने परिकार हो। नेपालगन्जमा आउनेहरुले हलुवा पराठको स्वाद लिन नेपालगन्जको चौलिक्का चोक जाने गरेका छन्। बिगत ३३ बर्षदेखि हलुवा, पराठा बिक्रि गर्दै आएका जलिल अहमदले दैनिक १२–१५ किलो हलुवा र पराठा बिक्री गर्दै आएको बताए।
बिहान महेन्द्र बहुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपईडिहा आवतजावत गर्ने बटुवा हुन् उनको हलुवा पराठा नचाखेका कमै होलान। ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्न नपरेको बताए। ‘बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजानेहरु धेरै छन,’ उनले भने।
हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केहि वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ। शहरको अन्य स्थानमा पनि हलुवा पराठाको माग बढ्दै गएको छ। ब्यापारीले २५ रुपैयाँमा एक सय ग्राम हलुवा पराठा दिने गरेका छन्।
चना, पुरी
नेपालगन्जमा अधिक बिक्री हुने परिकारमध्ये चना, पुरी पनि एक हो। यो परिकार सबैभन्दा धेरै विहानको समयमा विक्री हुन्छ। त्रिभुवन चोकमा पुगेपछि चना, पुरी खानुको मजा नै बेग्लै हुन्छ। ठेलामा राखेर ब्यापार भए पनि चना, पुरीको ब्यापारबाट मनग्य आम्दानी हुने गरेको ब्यापारी बताउँछन्।
लस्सी
नेपालको सबैभन्दा गर्मी हुने शहरमा पर्दछ नेपालगन्ज। त्यसैले गर्मीयाममा यहाँ लस्सीको राम्रो व्यापार हुन्छ। यो खासगरी दहीबाट लसी बनाइन्छ। तर, उखुको जुसबाट पनि लस्सी बनाउने गरिएको छ। नेपालगन्जका विभिन्न स्थानमा लसीको ब्यापार भए पनि त्रिभुवन चोकको लस्सी विशेष मानिन्छ। काम र घुमफिरका लागि नेपालगन्ज आउनेहरू लस्सीको स्वाद लिएर मात्र फर्किने गर्दछन्।
घमन्जा
विभिन्नथरीका परिकारमध्ये नेपालगन्जको अर्को विशेष परिकार हो घमन्जा। गरिब, निम्न वर्ग र मजदुर वर्गमा यो परिकार लोकप्रिय छ। थोरै पैसामा पेटभरी खान पाइने भएकोले अधिकांश मजदुर र निम्न वर्गले घमन्जा खाने गरेका छन्। ब्रेडको टिकिया, भेडे खुर्सानी, आलु, केराउको तरकारी, काउलीको टिकिया लगायतका परिकार एउटै ठाउँमा राखेर खान दिइन्छ।
ढिक्री र घुँगी
विभिन्न जातजातिको बसोबास हुन थालेपछि नेपालगन्जमा अन्य समुदायका परिकार पनि भित्रिन थालेका छन्। नेपालगन्जमा पछिल्लो समय थारू जातिको प्रचलित तथा मुख्य परिकार ढिक्री, आलुको कचालु, सिध्रा माछा र घुँगीको परिकार पनि थपिएको छ।
थारू जातिका सोमप्रसाद चौधरीले नेपालगन्जको कारकाँदोमा गोचाली खाजा घर सञ्चालनमा ल्याएर ग्राहकलाई यी परिकार पस्कने गरेका छन्। थारूमा मात्र सीमित रहेको ढिक्री र घुँगी पछिल्लो समय गैरथारूमा पनि लोकप्रिय भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।