|

सोलुखुम्बु : उडिरहेको हेलिकोप्टरबाट ठूलो परिमाणको जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन्। बस्ती माथिबाट बारम्बार झुण्ड्याएर कार्गो ढुवानी गरिरहेको हेलिकोप्टरबाट सामाग्री खसेको थाहा पाएपछि हवाई मार्गका नागरिक त्रसित बनेका हुन्।

गएको शनिबार मात्रै सोलुदुधकुण्ड नगरपालिका १ को लुङ्दीङ जंगलमा उडिरेको कैलास एयरको हेलिकप्टरबाट करिब ६०० केजी जस्तापातासहित दुई रोल म्याट्रीक्स खसेपछि स्थानीयमा त्रास र आक्रोश दुवै पैदा भएका छ। टाक्सिन्दुका कुमार विश्कर्माले बारम्बार सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गरे। उनले जंगलमा खस्ने सामग्री जुनैबेला पनि बस्तीमा खस्ने र ठूलो क्षति हुने भन्दै चिन्ता व्यक्त गरे।

नियमनकारी निकायलाई चेतावनी

सोही गाउँका टेण्डी शेर्पाले सुरक्षित ढुवानीको लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफूहरूको सुझाव कार्यान्वयन नभएको प्रति आक्रोशसमेत व्यक्त गरे। उनले सुरक्षित ढुवानी गर्ने तर्फ कम्पनीले ध्यान नदिई कुनै पनि मानवीय क्षति भएमा त्यसको जिम्मेवारी नियमनकारी निकायले लिनुपर्ने भन्दै त्यस बेलाको परीस्थिति फरक हुने चेतावनीसमेत दिए।

नागरिकको जिउधनको सुरक्षा गर्ने निकायसमेत मौन बसेको प्रति उनले प्रश्न गर्दै भने, 'नियम कानुन नभएको देश त होईन होला, मापदण्ड होला, आधार होला किन यसरी बारम्बार सामान खस्दासमेत मौन बसेको?' नियमनकारी निकायको मौनता कायम रहे आफूहरू चुप लागेर नबस्ने उनको दाबी छ।

सोलुदुधकुण्ड नगरपालिका-१ टाक्सिन्दु डाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माणलगायत दैनिक उपभोग्य वस्तु ढुवानी भइरहेको छ। निर्माण सामग्रीसहित काठसमेत झुण्ड्याएर ढुवानी हुँदा सुरक्षा जोखिम बढ्ने स्थानीयको भनाइ छ। आफूहरूलाई असुरक्षा भएको भन्दै बारम्बार आवाज उठाउने गरेको भए पनि सुनुवाइ नभएको टेण्डी शेर्पाले बताए।

रमिते बन्‍यो स्थानीय सरकार

खुम्बु क्षेत्रको लागि आवश्यक सामग्री सोलुदुधकुण्ड नगरपालिका-१ टाक्सिन्दुबाट ढुवानी हुँदै आएको छ। नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षाअन्तर्गत खानतलासी गर्नुपर्ने दफा १ मा विमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खानतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु/गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ।

तर यहाँ प्रहरी प्रशासनदेखि नागरिक उड्डयन प्राधिकरणका कुनै पनि कर्मचारी देखिँदैन। नागरिक उड्डयन प्राधिकरणले सामाग्री ढुवानीको लागि केही समयको लागी सर्तसहित अनुमति प्रदान गरे पनि त्यसको अनुगमन गर्ने कुनैपनि निकाय नहुँदा नियमविपरीत कार्य भइरहेको स्थानीयको दाबी छ।

स्थानीय प्रशासनसँग समन्वय गरी उडान तथा अवतरण गर्नुपर्ने व्यहोराको अनुमति पत्र भए पनि यहाँका स्थानीय प्रशासनलाई सोबारे जानकारीसमेत हुँदैन। आफ्नो क्षेत्रभित्र भइरहेको  गतिविधिको विषयमा प्रत्यक्ष निगरानी राख्‍ने क्षमतासहितको स्थानीय सरकारसमेत रमिते बनेका छन्। सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले उडान तथा अवतरणको विषय आफूहरूको क्षेत्रअधिकारभित्र नभएको बताए।

नगरपालिकाका नागरिकले असुरक्षित भएको महशुस भएको विषयमा भने सम्‍बन्धित निकायसँग समन्वय गर्ने भन्दै सञ्चारकर्मीलाई दरिलो आवाज उठाई दिन माग गरे। यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरिङ शेर्पाले भने आफ्नो गाउँपालिकामा सडकको पहुँच नपुगेकाले हेलिकोप्टरबाट सामान ढुवानीको कुनै विकल्प नभएको बताए। ढुवानीको अन्य विकल्प नभए पनि स्थानीय नागरिकले सुरक्षाको प्रत्याभूति भने गर्नुपर्ने भन्दै यसतर्फ सम्‍बन्धित कम्पनीले ध्यान दिनुपर्ने बताए।

नियमनकारी निकायको एक्सन

नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमति बिना त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको सर्तको विपरीत हुनेगरी वायुयान सञ्चालन गरेमा एक लाखदेखि १० लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ।

तर, यहाँ कारबाही सट्टा देखे पनि नदेखेझै गरेर बस्नेगरेको स्थानीय लाक्पा शेर्पाले बताए। गत भदौ १९ गते उडिरहेको कैलास एयरकै हेलिकोप्टरबाट सोलुदुधकुण्ड नगरपालिका-२ को फेरामा सिरक लगायतको सामग्री खसेको थियो। त्यस बेला पनि जिल्ला प्रशासन कार्यालयमै फोन सम्पर्क गरी स्थानीयले असुरक्षित भएको भन्दै प्रशासनको ध्यानकर्षण गराएको भए पनि कुनै पनि कारबाहीको निर्णय  भएन।

चित्तबुझ्दो प्रतिवेदन आउनेमा शंका

गत शनिबार जस्तापाता खसेको विषयमा छानविन गर्न समिति नै गठन भए पनि समितिको प्रतिवेदन चित्तबुझ्दो आउनेमा यहाँका नागरिकले शंका व्यक्त गरेका छन्। पाईलट गुन्जमान लामाको नेतृत्वमा गठित ३ सदस्य टोलिले आइतबार हेलिकोप्टरमार्फत टाक्सिबिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए।

छानविन समितिका संयोजक लामासहितको टोलीले कैलाश एयरकै हेलिकोप्टर प्रयोग गरेर निरीक्षण गरेको थियो। आकाशबाटै घटनास्थलको निरीक्षण  गरेको टोलीले अहिले प्रतिवेदन तयार गरिरहेको बताएको छ। समितिका संयोजक लामाले मापदण्डअनुसारनै ढुवानी भइरहेको भन्दै कम्पनीको बचाउमा लागे। सामान बोक्न प्रयोग गरिएको जालि च्यातिएर सामान झरेको भन्दै उनले घटनाको विषयमा प्रतिवेदन तयार भइरहेको बताए।

तत्कालका लागि ढुवानी रोकेका छौँ : प्रहरी

यता, घटना भएपछि प्रहरी प्रशासनको तर्फबाट कार्गो ढुवानी तत्कालको लागि बन्द गरिएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बूले बताए। 'छानविन समितिले तयार गर्ने प्रतिवेदन एउटा होला।' लिम्बूले भने, 'हाम्रो सुरक्षा समितिको बैठकले पनि आवश्यक छलफलपछि निर्णय गर्छौं, अहिलेलाई ढुवानी बन्द गरिएको छ।

यस विषयमा कैलाश एयरका जनरल म्यानेजर प्रताप जंग पाण्डेसँग बारम्बार कुराकानी गर्न खोज्दा फोन रिसिभ भएन भने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई समेत बारम्बार सम्पर्क गर्दा फोन रिसिभ भएन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.