|

काठमाडौं :  चीनको हुवेई प्रान्तको केन्द्र वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरिया हुँदै अहिलेसम्म ३६ देशमा पुगेको छ।

विश्वभरि कुल  ८० हजार १३० जनामा संक्रमण देखा परेको र २७ हजार ४७१ जना संक्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्।

मृत्यु र संक्रमणदर चीन र त्यसमा पनि हुवेई प्रान्तमा सबैभन्दा बढी छ। त्यसपछि सबैभन्दा बढी संक्रमण दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ। तर, मृत्युदर बढी भएको भने इरानमा हो। त्यहाँ ४७ जनामा संक्रमण देखिँदा १४ जनाको मृत्यु भइसकेको छ।

दक्षिण कोरियामा भने अहिलेसम्म आठजनाको ज्यान गएको छ। संक्रमणको कुरा गर्दा दक्षिण कोरियापछि सबैभन्दा धेरै जापानी तटमा रहेको डायमण्ड प्रिन्सेज नाम दिइएको पानीजहाजमा देखिएको छ। त्यहाँ अहिलेसम्म ६९१ जनामा संक्रमण र चारजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक उच्च अधिकारीका अनुसार चीनभन्दा कोरिया र युरोपको देशमा कोरोना फैलिनु जोखिम हो, चीनमा भन्दा धेरै नेपाली कोरियामा छन्। उनीहरूलाई उद्धार गर्नु पनि धेरै गाह्रो रहेको बताएका छन्।

के भन्छन्? कोरियामा बस्‍ने नेपाली कामदार

कोरियामा ३५ हजारभन्दा धेरै नेपाली कामदार रहेका हुनाले उनीहरूको आउजाउले नेपालमा कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइन्छ। पछिल्लो केही हप्तामा विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा विश्व स्वास्थ्य संगठनले समेत विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

विराटनगर घरभएका भेषराज भुजेलले कोरियामा कोरोनाको जोखिम बढ्दै गएको बताए। 'यहाँ हरेक दिन कोरियन सरकारले कोरोनाबाट बच्‍न आह्‍वान गरिरहेको छ। हामी आफूले सक्दो सुरक्षा गरिरहेका छौं', उनले भने, 'तर बाहिर आएजस्तो आत्तिइहाल्नुपर्ने र त्रसित हुनुपर्ने अवस्था भने छैन।'

यस्तै, धरान घर भएका खगेन्द्र पराजुली पनि कामदारको रूपमा थेगु शहरमा कार्यरत छन्। नेपाली कामदार मात्र होइन कोरियन व्यक्तिहरूले पनि कोरोना भाइरसबाट त्रसित हुनुभन्दा कसरी सुरक्षित हुने भन्नेमा एकजुट बनेको बताए। 'हामीहरू कोठा र कम्पनी  जादाँ सुरक्षित भएर हिँडेका छौं। सडक वा मलमा जाँदा भने अलि धेरै सावधानी अपनाउनुपर्ने अवस्था भने रहेको छ', उनले भने, 'बाहिर मिडियामा आएजस्तो उच्च आंतक भने छैन।'

भिडियो : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.