|
लुटिएको भनिएका सचिन झा

जनकपुरधाम : मोटरसाइकलमा लिफ्ट दिएकै व्यक्तिले एक युवकको १९ लाख नगद र साढे ७ तोला सुन लुटेको घटना सार्वजनिक भएको छ।

घटना बुधवार राति करिब साढे १० बजेको हो। घरबाट प्रदेश -२ मा दर्ता भएको नम्‍बरको २-००२प२४५० बाइकमा जनकपुरको पुलचौक ससुराली आउने क्रममा धनुषाको मिथिला नगरपालिका ८ का सचिन झा लुटिएका हुन्। उनले घरबाट आउने क्रममा ढल्केबरमा एक यात्रुलाई बाइकमा लिफ्ट दिएका थिए।

महेन्द्रनगरमा झा र ती अपरिचित यात्रु सँगै जुस पनि खाए। लक्ष्मीनियाँस्थित पेट्रोल पम्पमा पेट्रोल भर्न बाइक रोके। मोटरसाइकलमा पेट्रोल पनि हाले। तर झासँग खुल्ला रुपैया थिएन। लिफ्ट लिएका व्यक्तिसँग रकम सापटी लिएर झा पेट्रोलको रकम तिर्न पम्पको काउन्टरमा पुगे। त्यतिबेला नै ती यात्रु मोटरसाइकल लिएर भागे।

मोटरसाइकलमा झुण्ड्याएको झोलामा १९ लाख नगद र साढे ७ सात सुन थियो। सोही कारण मोटरसाइकल लिएर भागेको झा बताउँछन्। उनी भन्छन्, ‘मोटरसाइकल लिएर भागेपछि होस् हवास उड्यो।’ मोटरसाइकल लिएर ती व्यक्ति जनकपुरतर्फ भागेको उनको भनाइ छ।

‘बर्दिबासको ९ कट्ठा जग्गा राखेर माछापुच्छ्रे बैंकबाट १६ लाख रकम निकालेको थिए’, झा भन्छन्, ‘सोही रकम भुक्तानी गरी जग्गा फुकुवाका लागि जनकपुरको पुलचोक ससुराली जाँदै थिएँ तर लुटिएँ।’ सुन भने ससुरालीमा रहेको श्रीमतीलाई पुर्‍याउन जाँदै थिएँ' उनले थपे।

झाका अनुसार रकम र सुनका गरगहना लुटेर भागेका ती व्यक्ति अन्दाजी ३०/३२ वर्षका थिए। ‘ढल्केबरका एक सैलुनका एक जनाले ती व्यक्तिलाई बाइकमा चढाएर जनकपुरसम्म लगिदिन भनेका थिए’, झाले भने, ‘मलाई के थाहा कि रुपैयाँ लुटेर भाग्छ?’ रकम लुटेर भागेपछि सैलुन चलाउने व्यक्ति (जो लिफ्ट दिन भनेका थिए)माथि पनि उनले शंका गरेका छन्।

रकम, सुन र मोटरसाइकल लुटेर भागेपछि झाले जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका छन्। तर घटनाको तीन दिन बित्न लाग्दा पनि प्रहरीले केही पत्ता लगाउन नसकेको उनले गुनासो गरे।

यता, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज इन्सपेक्टर पप्पु नायबले घटनाको छानविन भइरहेको बताएका छन्। उनले घटना शंकास्पद रहेको समेत बताए। उनले भने, ‘लुटिएको कुरा झुठो पनि हुनसक्छ। यसबारे अनुसन्धान गरिरहेका छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.