|

काठमाडौं : रत्नपार्क काठमाडौंको मध्यभागमा छ। कुनैबेला रत्नपार्क काठमाडौंको संगमस्थल थियो। देशमा चल्ने परिवर्तनका चर्का स्वर यहीँ गुञ्जिन्थे। विरोधको स्वर बुलन्द बनाउने थलो पनि यहीँ बनेको थियो। ०४६ को जनआन्दोलनदेखि ०६२/६३ को आन्दोलनको पहिलो उदगमस्थल रत्नपार्क नै बनेको थियो।रत्नपार्क उच्च वर्गदेखि न्‍यून आय भएकाहरूसम्‍मको जमघट हुने ठाउँ हो। कोही जागिरको खोजीमा त कोही गन्तव्यमा जानका निम्ति यातायातको खोजीमा रत्‍नपार्कमा पुगेकै हुन्छन्।

हिजोका दिनमा शान्तिबाटिकाबाट आवाज निकाल्नेहरू कोही आज ठूला-ठूला महलमा, चिल्ला कार चढ्ने भएका त कोही त्यही चोकमा रातदिन खटेर बिहान- बेलुकाको छाक टारिरहेका छन्।  रत्नपार्कको त्यही, शान्तिबाटिका आज मजदुर चोक बन्‍न पुगेको छ। हिजोआज यहाँ काम खोज्‍नेहरूको भिड नै हुने गर्छ। उज्‍यालो हुनेबित्तिक्कै कामको खोजीमा पाँच सयदेखि एक हजारसम्म मजदुर भेला भइसकेका हुन्छन्।

२५ वर्षदेखि मजदुरी

त्यही भिडमध्येका एक हुन् कुमार गुरुङ। उनी बिहानै रत्नपार्कको भोटाहिटी पुलमा आइपुग्छन्। उनको दैनिकी ठेकेदार वा साहुको घरमा ज्यामी काम गरेर बित्ने गरेको छ।  उनी कामका लागि दिनहुँ नयाँ साहुको खोजी गरिरहेका हुन्छन्। उनी घर बनाउनेदेखि मार्बल र ग्रेनाइटसम्‍मको काम गर्छन्।

०४३ काठमाडौं छिरेका उनले सुरुसुरुमा होटलमा काम गरे। केही समयपछि उनलाई होटलले कामबाट निकालिदियो उनी बेरोजगार भए। त्यसपछि उनी रत्नपार्कमा आएर ज्‍याला मजदुरीको काम खोजेर गरिरहेका छन्। २५ वर्षदेखि मजदुरीको काम गरिरहेका उनी सुरुमा आफूले दिनभर काम गरेको ज्याला २५ रुपैयाँ पाएको सम्झन्छन्।

अहिले दिनभर काम गर्दा उनी आठदेखि नौ सय रुपैयाँ कमाइरहेको सुनाउँछन्। 'कहिलेकाहीँ कामै नपाएर यत्तिक्कै दिन बिताउनुपर्छ, काम पाउँदा महिनामा २० हजार जति कमाइ हुन्छ' उनले थपे,'ज्याला मजदुरी गरेर परिवार पाल्नै समस्‍या हुन्छ।' हात्तीगौँडामा एक्लै बसेका उनी बेलाबेलामा पोखरामा बसेका परिवारलाई पैसा पठाउँछन्।  

काम खोज्‍नका लागि कुमार बिहानै रत्नपार्क आइपुग्‍छन्। एकदिन काम पाइएन भने पनि उनलाई भरे के खाउँला भनेर पीर पर्छ, तर रत्‍नपार्क चोक आएपछि कुनै न कुनै काम पाइने विश्‍वास छ उनलाई।

लामो समयदेखि ज्याला मजदुरीमै जीवन गुजारीरहेका उनीजस्ता मजदुरहरूको हितमा सरकारले कुनै काम नगरेको दु:खेसो सुनाउँछन् उनी। उनी भन्छन्,'ज्‍यालादारी काम गर्ने हामीहरू जस्ताका लागि पनि सरकारले निश्चित मूल्‍य तोकिदिए राहत हुने थियो', उनले थपे, 'ठेकेदारले समयमा पैसा नदिने र कामदारको भावना पनि नबुझ्‍दा सधैं समस्या भइरहन्छ।'

कम मूल्‍य र बार्गेनिङले समस्‍या

त्यस्तैगरी, मजदुर चोकमै कामको खोजीमा पर्खिएका अर्का व्‍यक्ति हुन् सिन्धुपाल्चोकका भिम तामाङ। उनले पनि ज्याला मजदुरीमै ४० वसन्‍त कटाइसकेका छन्। मजदुर चोकमा आइपुगेपछि केही न केही काम पाइनेमा ढुक्क छन् उनी।

सानो छँदा नपढेकै कारण ज्याला मजदुरीमा जीवन धान्नुपरेकोमा उनलाई पछुतो छ। उनी भन्छन्,'१० कक्षा मात्रै पढेको भए पनि मैले रत्नपार्कमा बसेर मजदुरी खोज्‍नुपर्ने थिएन।'

नपढेको मान्छेलाई जहाँसुकै मान्छेले हेप्‍ने र ठग्‍न खोजेको अनुभव  सुनाउँछन्। आफूहरूलाई  काममा पनि कम मूल्‍य र बार्गेनिङ गर्ने गरेको उनको भनाइ छ। थोरै कमाइ र मजदुरीले मात्रै काठमाडौंमा टिक्न नसकिने भएको पनि उनले सुनाए। 

 ४० रुपैयाँदेखि काम गरेका उनी अहिले हेडमिस्त्री बनेका छन्, काम पाएका दिन उनी १५ सय कमाउँछन्।  गाउँमाभन्दा शहरमा काम पाइने भएकाले काठमाडौं बस्‍नुपरेको उनले बताए। तामाङको परिवार पनि गाउँमै बसेका छन्। उनका एक छोरी र श्रीमती छन्। उनी बेलाबेलामा घर जान्छन् त कहिले पैसा पठाउने गर्छन्।

मजदुरले ठूलो सपना देख्‍न नसके पनि रत्पार्क आएर थरीथरीका मानिस देख्‍न पाएकोमा उनी खुसी छन्। कहिलेकाहीँ त बिहानै रत्‍नपार्कमा काम खोज्‍ने मजदुरहरूको भिड देखेर केही भयो कि भन्दै नेपाल प्रहरी पनि आउने गरेको उनले बताए। 'पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू यही हुन्छन्, सबैलाई काम चाहिएको छ जीवन जसरी गुजार्नै पर्‍यो' उनी  भन्छन्।

सीप भए भोकै भइँदैन

त्यस्तै, जनकपुर सखुवा महेन्द्रनगरका उमेश यादव पनि तीन वर्षदेखि रत्नपार्कको मजदुर चोकको वरिपरि घुमिरहेका छन्। उनी मजदुरका रूपमा घरमा ग्रेनाइट र मार्बल लगाउने काम गर्छन्। उमेश बिहानै ८ बजे रत्नपार्क आइपुगिसकेका हुन्छन्।

काम पाएको दिन १८ सय देखि २५ सय रुपैयाँसम्म कमाउने उनले बताए। नियमित काम गर्दा ठेकेदारले बेइमान गरेर पैसा नदिने गरेकोले हाजिरा लिएर काम गर्ने गरेको यादवले सुनाए। उनले भने,' काम लगाएर मजदुर भनेर हेपेर पैसा दिँदैनन्। काम गरेको पैसा नपाउँदा धेरै दुःख पाएकोले हिजोआज काम सक्नेबित्तिक्‍कै पैसा लिने गरेको छु।'

काम गरेको ज्याला पैसा दिनेबेला ठेकेदारले हेप्‍ने हप्‍काउने गरेको उनले तीतो यथार्थ सुनाए।  'समयमा पढ्‍न सकेको भए यसरी हेपिएर काम गर्नु नपर्ने  भए पनि अहिले बाध्यताले सिपले बाँचेको छु,' उनले भने।

यादवसँग साउदी अरब र कतारमा सात वर्ष ग्रेनाइट र मार्बलको काम गरेको अनुभव छ। नेपालमा केही गर्ने भनेर यतै बस्ने गरी विदेशमा जानेको सिप प्रयोग गर्ने योजना रहेको उनले बताए। यो शान्तिबाटीका मजदुर चोक आएपछि सिप भए भोकै बस्‍नु नपर्ने उनको विश्वास छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.