|

बर्दिया : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिकतर्फका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई किताबको ज्ञानभन्दा प्रयोगात्मक ज्ञानको बढी आवश्यकता भएकाले सो व्यवस्थापनका निम्ती विद्यालयलाई अगाडि बढ्न निर्देशन दिएका छन्।

बर्दिवासमा शुक्रबार आधारशिला महोत्तरीले आयोजना गरेको ‘प्राङ्गारिक खेतपातीको अवधारणा र अभ्यास’ विषयक कार्यशालामा उहाँले कृषिधारतर्फ बाली विज्ञान सञ्चालन गर्दै आएका सामुदायिक विद्यालयले जग्गाको व्यवस्थापन गरी कृषि फार्मबाट प्रयोगात्मकमार्फत जैविक खेतीतर्फको सीप प्रदान गर्न आग्रह गरे।

नेपाली किसानलाई जैविक खेतीतर्फ आकर्षित गर्नका लागि सरकारले पाठयक्रममा समावेश गरी यस अभियानलाई टोलटोलमा पुर्‍याउने मन्त्री पोखरेलले धारणा राखे।

देशका ७५३ तहका सामुदायिक विद्यालयमा प्राविधिकधारतर्फ पठनपाठन गराउने नेपाल सरकारको लक्ष्य रहेकामा अगामी शैक्षिक सत्रमा बाँकी रहेको ४९ तहका विद्यालयमा प्राविधिकधारतर्फका पठनपाठनको थालनी हुने मन्त्री पोखरेलले जानकारी गराए।

जैविक नेपालका संयोजक सोनाम शाक्यले विषादीयुक्त खाना खाँदा मानिसको वीर्य र डिम्ब खतरामा रहेकाले सबैले विषादीरहित खाना खानका लागि आजैदेखि सङ्कल्प लिई अगाडि बढनुपर्नेमा जोड दिए। कृषकले अधिक लोभ गर्दा जमीनको उवर्रा शक्ति बिग्रनाका साथै मानवजातिलाई समेत प्रत्यक्ष रुपमा असर गर्दै आएको उनले धारणा राखे।

जैविक खेती हरेक किसिमले मानवको हकहितमा अहम् भूमिका निर्वाह गर्दै आएकाले यसको प्रचारप्रसार यहाँका खेतखेतमा हुनुपर्नेमा विश्व खाद्य संस्थानका वैज्ञानिक डा राम भण्डारीले सबैमा आग्रह गरे। जसले किसान, खेत र उपभोक्तालाई समेत प्रत्यक्ष फाइदा पुर्‍याउने भएकाले यसलाई सबैले अभियानका रुपमा लिई अगाडि बढ्नुपर्ने उनले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका माटो विषयका उपप्राध्याक बाबुराम खनालले स्थानीयस्तरमा पाइने स्रोतसाधनलाई उपयोग गरेर नै जैविक खेती गरिने भएकाले अब किसानलाई आवश्यक ज्ञान प्रदान गरी कम लगानीमा अधिक आम्दानी हुने किसिमको खेतीपाती गर्नका लागि आग्रह गरे। डेनमार्क अनुसन्धान निर्देशक भानेश्वर पोखरेलले अनुसन्धान बिनाको शिक्षाको कुनै अर्थ नभएकाले बाली विज्ञानमा अध्ययनरत विद्यार्थीलाई खेतखेतमा गई अनुसन्धान गराउनुपर्नेमा जोड दिए।

डेनमार्कका वैज्ञानिक जीवन क्षेत्रीले १३ वर्षको अथक प्रयासपछि भारतको सिक्किम राज्य जैविक क्षेत्र घोषित भएको प्रसंग उल्लेख गर्दै नेपालले पनि अभियानलाई निरन्तरता दिएर अभियानलाई सफल पार्नुपर्ने तर्क राखे।

प्रदेशसभा सदस्य शारदादेवी थापा, भरतप्रसाद साह, बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्की, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, रामगोपालपुरका प्रमुख अशोककुमार मण्डल लगायत जनप्रतिनिधिको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.