|
फाइल फोटो

काठमाडौं : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले काठमाडौं उपत्यकाका पोखरी र ढुंगेधारा संरक्षण र व्युटिफिकेसन गरिने बताइन्। 

शुक्रबार मन्त्रालय र विभिन्न नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताइन्। महालक्ष्मी नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र मन्त्रालयबीच ढुंगेधारा र पोखरी संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

मन्त्री मगरले हिजोको परम्परा र शैलीलाई निरन्तरता दिएर अहिलेको आधुनिक युगमा त्यसको संरक्षण गर्दै अगाडि बढ्ने बताइन्। उपत्यकाका १० वटा नगरपालिकाभित्र रहेका ५७३ ढुंगेधारा र २३३ पोखरीको नक्शांकनको काम सकिएको छ।

५७३ ढुंगेधारामध्ये ४७९ स्थलगत रुपमा भेटिएका छन्, भने ९४ वटा हराएका छन्। त्यसैगरी २३३ पोखरीमध्ये १९३ वटा पोखरी भेटिएका छन्, ४० वटा हराएका छन्। आर्थिक वर्षको सुरुबाट नै प्रत्येक नगरपालिकामा विषय विज्ञसहितको टोली बनाएर ढुंगेधारा तथा पोखरीको नेवारी नाम, अहिलेको अवस्था, पानीको गुणस्तरको अवस्था अद्यावधिक गर्ने काम पनि सकिएको छ।

महालक्ष्मी नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा रहेका ढुंगेधारा तथा पोखरीको पूनर्निमाण र संरक्षणको विस्तृत खाका तयार गरी २ वषभित्र पुनर्निमार्ण सम्पन्न गर्ने र बाँकी नगरपालिकामा समेत क्रमैसँग काम अगाडि बढाउने सम्झौतापत्रमा उल्लेख छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नगरपालिकाबीचको सहकार्यमा गुरुयोजना अनुसार काम सम्पन्न गर्दै जाने लक्ष्य लिइएको छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, महालक्ष्मी, मध्यपुर ठिमी नगरपालिका र काठमाडौं उपध्यका खानेपानी लिमिटेडको समन्वयमा कार्य सञ्चालन गर्न खानेपानी मन्त्री मगरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.