|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार एसिसी इस्टर्न रिजन टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाविरुद्ध नेपालले सधैं उत्कृष्ठ नतिजा निकाल्दै आएको छ। राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी अगष्टमा हुने एसिया कप छनोटमा स्थान बनाउने छन्। थाइल्यान्डको बैंककस्थित ट्रेड थाई मैदानमा मध्याह्न हुने खेलमा नेपाल निश्चित जितका लागि मैदानमा उत्रने छ।

पाँच टोलीबीच हुने प्रतियोगितामा नेपालले मलेसियासँगै हङकङ, थाइल्यान्ड र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। मलेसिया पनि पहिलो खेलमा नेपाललाई पराजित गर्न सके उपाधि होडमा पुग्ने विश्वासमा छ। त्यसैले मलेसियाका लागि अन्य टोलीको तुलनामा मुख्य प्रतिस्पर्धी नेपालनै भएकाले सचेत भएर मैदान उत्रने पक्का छ। 

नेपालविरुद्ध खेल्नुअघि मलेसियाले हङकङविरुद्ध पाँच खेलको टि-२० सिरिज क्लिन स्वीप गर्दै आफू बलियो रहेको संकेत दिएको थियो। प्रतियोगितामा नेपाल पहिलो खेलबाटै आफ्नो बलियो उपस्थिति देखाउने प्रयासमा हुनेछ। कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगितामा सहभागी हुनुअघि आफूहरूले कुनै टोलीलाई कमजोर नआँक्ने बताएका छन्।

मलेसिया र नेपाल हालसम्म टि-२० मा सातपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन्। जसमा नेपालले ६ खेलमा जित हात पार्दा मलेसियाले एक खेलमा जित निकालेको छ। नेपालले पहिलोपटक सन् २००७ मा कुवेतमा भएको एसिसी टि-२० मा मलेसियाको सामना गरेको थियो। उक्त खेलमा नेपालले २१ रनको जित
निकालेको थियो । त्यसपछि नेपालले सन् २००९ को एसिसी टि-२० मा पहिलोपटक मलेसियासँग ६ विकेटले पराजित भयो । त्यस्तै, २०१३ को एसिसी टि-२० मा घरमै भएको प्रतिस्पर्धामा नेपालले १९ रनको जित निकालेको थियो । त्यस्तै, सन् २०१८ मा मलेसियामा भएको टि-२० एसिया रिजनल छनोटमा नेपालले आठ विकेटको जित निकालेको थियो ।

नेपालले २०१९ को जुलाई १३ र १४ मा दुई खेलको टि-२० सिरिज खेलेको थियो, जसमा नेपाल दुवै खेलमा विजयी भएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । अर्को खेलमा नेपालले ६ रनको रोमाञ्चक जित निकालेको थियो ।

पछिल्लोपटक भने नेपालले आइसिसी टि-२० विश्वकप छनोटअन्तर्गत एसिया रिजनल फाइनलमा २४ जुलाई २०१९ मा मलेसियालाई सात विकेटले पराजित गरेको थियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.