|

उदयपुर : जापान सरकारको सहयोगमा निर्माण भएको मदन भण्डारी आँखा अस्पताल उदयपुरको भवन शुक्रबार नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्तान्तरण गरेका छन्।

नेपाल नेत्र ज्योति संघ उदयपुरको मातहतमा रहेको उक्त भवन राजदूतावास, नेपाल सरकार र अन्य निकायको गरी एक करोड ९७ लाख ३४ हजार रुपैयाँमा निर्माण भएको हो। तीन तला रहेको भवनको सबैभन्दा तल्लो तला करिव ९१ लाख ३४ हजार रुपैयाँ लागतमा जापान सरकारले सहयोग उपलब्ध गराएको हो। राजदूत साइगोले नेत्र ज्योति संघ उदयपुरका सभापति भागवत राउतलाई चाबी हस्तान्तरण गरेका हुन्।

भवनको माथिल्लो दुई तला निर्माणका लागि सहरी विकास मन्त्रालयले गत आर्थिक वर्षमा ५० लाख, प्रतिनिधिसभा सदस्य मञ्जुकुमारी चौधरीले निर्वाचन क्षेत्र विकास कोषअन्र्तगत ४० लाख, नेत्र ज्योति संघ केन्द्रीय कार्यालयबाट १५ लाख र डा. गोपाल पोखरेलबाट एक लाख रुपैँया उपलब्ध भएको थियो।

नेपाल सरकार र जापान सरकाले अस्पताल सञ्चालनका लागि एक करोड १५ लाख मूल्य बराबरको उपकरण समेत उपलब्ध गराएको सभापति राउतले जानकारी दिए। चिकित्सक आवासदेखि लिएर अपरेसन, सेवाप्रवाह गरी ४२ वटा कोठा रहेको भवन शारीरीकरुपमा अशक्त रहेकाले समेत सेवा लिने गरी निर्माण गरिएको संघका कृष्णकुमार भण्डारीले बताए। भवन उदघाटनसँगै आँखा रोगीका अपरेशनसमेत गर्ने गरी अस्पतालका व्यवस्थापकीय कामलाई अघि बढाइएको छ।  

अस्पताल सञ्चालनका लागि अपरेसन माइक्रोस्कोप, फाको मेसिन, एस्काइन, डेहुमिडिफर, ओटी बेड, स्टे«लिजेसन सेट, कट्रयाक सेट, स्लाइट ल्याम्प, ट्राइल लेन्स सेट, दृष्टिजाँच यन्त्र, आँखाको नानी हेर्ने पावर मेसिन, मोतिया विन्दुको अपरेशन मेसिनलगायतका उपकरणहरु उपलब्ध भैसकेको सभापति राउतले जानकारी दिए। उपलब्ध सामग्रीमध्ये ३५ लाख रुपैयाँको ‘फाको’ मेसिन रहेको छ। बाँकी अन्य १५ प्रकारका औजार मेसिन रहेको उनले बताए।

१२ वर्षअघि प्राथामिक उपचार केन्द्रबाट सुरु भएको केन्द्रमा वार्षिक १७ हजार बिरामी आउने गरेका छन्। अस्पतालमा उदयपुरका साथै छिमेकी जिल्ला खोटाङ, भोजपुर, ओखलढुंगाबाट बिरामीहरु आउने गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.