|

दाङ : दाङको घोराही उपमहानगरपालिकालाई  पनि सडकमानवमुक्त नगर घोषणा गरिएको छ।  शुक्रबार एक कार्यक्रम गरी मानवले मानवलाई मानवको रुपमा माया, ममता र सहयोग गरौँ भन्ने नाराका साथ उपमहानगरलाई बेवारिसे सडकमानवमुक्त नगर घोषणा गरिएको हो।

घोषणा कार्यक्रममा बोल्दै पूर्व-सभामुख कृष्णबहादुर महराले समाजमा विकृति र विसंगति धेरै भएमा राज्य अस्वस्थ हुने बताए। उनले भने, ‘राज्य अस्वस्थ भयो भने, समाजमा विकृति र विसंगति बढ्छ। त्यसै कारणले गर्दा सडकमा धेरै बालबालिकाहरु देखिनु, अस्पतालमा धेरै विरामी भरिनु र जेलमा धेरै बन्दीहरू आउनु भनेको समाजमा खेदिएको विकृति विसंगतिको परिणाम हो।’ त्यसैगरी उनले राज्य स्वस्थ भएमात्र सबै स्वस्थ हुनेसमेत बताए।

राज्य स्वस्थ नहुँदासम्म समाजमा कुनै न कुनै विकृति हुन्छ, घटनाहरू घट्छन्, ‘उनले भने, यदि कुनै घटनाहरू घट्यो भने बालबालिकहरू, ज्‍येष्ठ नागरिकहरुको उद्धार गर्ने हाम्रो दायित्व हो।’ त्यसैगरी उनले नितिगत र व्‍यावहारिक रूपमा काम गर्नुपर्नेसमेत बताए। उनले भने, ‘घोराही उपमहानगरले एकदमै राम्रो काम गरेको भन्दै उनले यसले राज्यलाई स्वस्थ बनाउनमा मद्धत पुर्‍याउनेसमेत बताए। 
 

त्यसैगरी, उपमहानगरका प्रमुख नरुलाल चौधरीले कुनै पनि व्यक्तिलाई परिवारले नै घरमा माया ममता र संरक्षणका साथ राख्‍नुपर्ने सन्देश दिँदै निलसागर सेवा आश्रम सिसहनिया दाङको  सहकार्यमा उपमहानगरले नगरलाई बेवारिसे मानवमुक्त नगर घोषणा गरेको बताए।

परिवारबाटै संरक्षण आवश्‍यक

उनले कोही पनि व्यक्तिलाई सडकमा आउन नदिन परिवार जिम्मेवार हुनुपर्नेसमेत बताए। बेसहाराहरुको सहारा दिने सरकार र आम नागरिकहरू हुने भए पनि परिवारबाटै संरक्षण हुन आवश्यक रहेको उनको भनाइ थियो।

गएको पुस महिनादेखि थालिएको मानव उद्धार कार्यक्रममा नगर क्षेत्रबाट १४ जनाको उद्धार गरेर निलसागर सेवा आश्रम सिसहनियामा राखिएको छ। त्यसैगरी, बिहीबार दाङको राप्ती गाउँपालिकालाई पनि मानवसडकमुक्त  घोषणा गरिएको छ। यसअघि, बाँकेको खजुरा गाउँपालिकालाई पहिलोपटक मानवसडकमुक्त घोषणा गरिएको  थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.