सडक मर्मत मुख्‍य उपलब्धि

|
फाइल फोटो

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गरेका छन्। शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयबाट भएका मुख्यमुख्य कामहरुको विवरण सार्वजनिक गरेका हुन्। एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सयवटा सडकका खाल्डाखुल्डी पुर्ने कार्य भएको उनले बताए।

यो सडकहरु खाल्डाखुल्डी र धुलोरहित बनाउने योजनामा प्राप्त भएको महत्वपूर्ण सफलता भएको उनले बताए। एक सय दिनको अवधिमा मर्मतसमेत गरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको मन्त्री नेम्वाङले बताए। हिउँदको भएकाले उल्लेखनीय मात्रामा कालोपत्रेको काम हुन नसकेपति प्राप्त उपलब्धि गौरवपूर्ण भएको र आर्थिक वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर सडकहरु कालोपत्रे गर्ने लक्ष्य मन्त्रालयले लिएको उनले बताए।

कोटेश्वर क्षेत्रको सवारी जामबारे समाधान प्रयास

मन्त्री नेम्वाङले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन र दीर्घकालीन समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन्। अल्पकालीन अवस्थाका लागि चार लेनको सडक निर्माणकार्य अगाडि बढाइएको उनले बताए। सडक चौडा बनाउन दक्षिणतर्फ जग्गा प्राप्ति भइसकेको र उत्तरतर्फ जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको उनले बताए।

मनोहरा कोरिडोरको सडकलाई समेत प्रयोगमा ल्याएर सवारी डाइभर्ट गर्ने बैकल्पिक मार्गको प्रयोग गरिने उनले बताए। चक्रपथअन्तर्गत पर्ने ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाईओभर निर्माणका लागि डिपिआर तयारीका लागि परामर्शदाता छनोटको काम भइरहेको छ।

सूर्यविनायक—धुलिखेल सडकलाई विस्तार गर्दै कोटेश्वर र जडीबुटी चोकको ट्राफिक जामलाई दीर्घकालिन रुपमा समाधान गर्न फ्लाइओभर र अण्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको उनले बताए।

१७ चोकमा ट्राफिक बत्ती

मन्त्रालयले उपत्यकाका १७ वटा चोकहरुमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको छ। बाँकी ६ वटा चोकहरुमा असारभित्र मर्मतगरी सचालनमा ल्याउने योजना मान्त्रालयले अघि सारेको छ।

त्यसैगरी, पैदलयात्रुलाई सुरक्षित रुपमा बाटो काट्नका लागि रिङरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माण गरिएको छ। बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माण डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापनको प्रक्रियामा रहेको छ।

यसैगरी चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत कलंकी—महाराजगञ्जखण्ड विस्तार कार्यको प्रारम्भिक कामहरू अन्तिम चरणमा पुगेको छ। चक्रपथको तीनकुने—एयरपोर्ट—तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नति गर्न डिपिआएर तयार भएको छ। मन्त्रालयले राष्ट्रिय गौरवका आयोजना निर्माणका कामलाई पनि तीव्रता दिएको जनाएको छ।

मध्यपहाडी राजमार्गअन्तर्गत १८ किलोमिटर सडक कालोपत्रे भएको छ। ६ वटा पुल निर्माण भएका छन्। हुलाकी राजमार्गअन्तर्गत ४८ किलोमिटर सडक कालोपत्रे भएको छ। ५ वटा पुल निर्माण भएका छन्। कालिगण्डकी कोरिडोरमा ३३ किलोमिटर ग्रावेल सम्पन्न भएको छ। ३ वटा पुलहरुको निर्माण पनि सकिएको छ। कर्णाली राजमार्गमा ५ दशमलव ६ किलोमिटर ट्रयाक खोलिएको छ।

मन्त्रालयले मदनभण्डारी राजमार्गअन्तर्गत यो अवधिमा २६ किलोमिटर सडक कालोपत्रे भएको छ। ११ वटा पुलहरु निर्माण भएका छन्। सयदिनको अवधिमा २ सय किलोमिटर सडक कालोपत्रे भएको छ। १ सय ३० किलोमिटर ग्रावेल भएको छ भने ६९ किलोमिटर नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म सडक विभागबाट सञ्चालित योजनाहरुमा २४ दशमलव १३ प्रतिशत पुँजीगत खर्च भएको छ।

लामो समयसम्म रुग्ण रहेका ठेक्काहरुलाई व्यवस्थापनका लागि सार्वजनिक खरिद नियमावली २०६४ मा नवौं संशोधन भएपछि करिब १५ सय वटा ठेक्काको म्याद थप गरिएको छ। मन्त्रालयअन्तर्गत अहिलेसम्म कुल २२ दशमलव ८८ प्रतिशत पुँजीगततर्फको वित्तीय प्रगति रहेको  छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.