|

बागलुङ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको सुधारका लागि बनेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा गरेको बताएका छन्। प्रधानन्यायाधीश जबराले आफू प्रधानन्यायाधीश हुनुपूर्व संसदीय सुनुवाइका समयमा गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा न्यायालयमा सुधारका लागि बनाउने भनिएको रणनीतिक योजना तयार गरेर कार्यान्वयन गर्न लागिएको बताए। 

शनिबार जिल्ला अदालत बागलुङको नवनिर्मित भवनको उद्घाटन गर्दै जबराले सबै नेपालीको न्यायमा पहुँच बिस्तारका लागि आफूले योजना बनाइरहेको बताए। न्यायालयमा सुशासन कायम गर्नका लागि कुनै कसर बाँकी राख्न नहुने भन्दै उनले न्यायालयले दिने सेवा सर्वसाधारणले मान्य हुनु पर्नेमा जोड दिए। 

पछिल्लो समय सर्वोच्च अदालतले सातामा दुई पटक अतिरिक्त इजलाश सञ्चालन गरेर न्याय सम्पादनलाई थप प्रभावकारी र द्रूत बनाएको उनको दाबी थियो। 

‘सर्वोच्चको अतिरिक्त इजलाश प्रभावकारी देखिएको छ’ जबराले भने, ‘संवैधानिक इजलाशको प्रभाव समेत राम्रो छ।’ न्यायालयले समयमा निर्णय दिन नसकेका कारण कोही कसैले पनि दुःख पाउन नहुने भन्दै उनले सकेसम्म द्रूत न्याय सम्पादनका लागि सर्वोच्च अदालत तयार रहेको पनि बताए। 

‘हामी श्रव्यदृष्य माध्यमबाट न्याय सम्पादनलाई थप पारदर्शी बनाउँदै आएका छौं’ उनले भने, ‘देशभरिका न्यायालय प्रविधिमैत्री बन्ने छन्। सोही अनुसारका फैसला सबैका सर्वमान्य हुन्छन्।’

पुराना मिशिललाई इलेक्ट्रोनिक माध्यममा संग्रहित गर्दा खोजी गर्न र भण्डारण गर्न समेत सहज हुने भएकाले मिशिलको तस्वीर बनाएर विद्युतीय माध्यममा संग्रहित गर्ने काम भइरहेको उनले बताए। 

‘आगामी साउन १ गतेदेखि देशभरका २५ जिल्ला अदालतमा यो काम सुरु हुन्छ’ जबराले भने, ‘न्यायिक सुशासन कायम गर्नको लागि यो महत्वपूर्ण हुनेछ।’ उनले न्याय, सुशासनका लागि सर्वोच्च अदालतले अनुगमन र नियमनको कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताए। 

सात करोड ५५ लाख ५६ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवनको तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले शिलान्यास गरेका थिए। ४ रोपनी ३ आना जमिनमा बनेको तीनतले भवनमा २७ कोठा छन्। 

जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले न्याय सम्पादनसँग जोडिएका सबै पक्षलाई सहज हुने गरी भवन निर्माण भएको बताए। २०७१ मा सुरु भएर २०७४ मा सकिने भनिएको भवन दुई पटक म्याद थप गरी २०७६ मा निर्माण सम्पन्न भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.