ईश्‍वर पोखरेल भन्छन् : पार्टीका सबै कुरा सरकारलाई बाध्यकारी हुँदैनन्

|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले सरकारले पार्टी निर्णय मान्नै पर्ने अडान राखेका छन्। तर प्रधानमन्त्री केपी ओली सरकार सञ्चालन आफ्नो स्वायत्त अधिकार भनिरहेका छ्न। उनीनिकट केही नेताहरूले पनि सरकारले पार्टीको निर्णय मान्नै पर्ने बाध्यता नभएको तर्क गरेका छन्।

नेकपामा अहिले यही बिषयलाई लिएर भइरहेको विवाद सतहमै देखिएको छ। यद्यपि नेताहरूले पार्टीमा विवाद नभएको टिप्पणी गरिरहेका छन्। तर उनीहरुले पार्टीमा देखिएको विवादबारे आफ्ना अभिव्यक्ति सार्वजनिक रुपमा दिन थालेपछि विवाद छरप्रस्ट भएको छ।

पछिल्लो समय पार्टी सचिवालयले गरेको केही निर्णयलाई प्रधानमन्त्री ओलीले नमान्ने चेतावनी दिएपछि नेताहरूले सरकार पार्टीको निर्णयबेगर अघि बढ्न नसक्ने बताउँदै आएका छन्।

पार्टीका एकजना अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न सचिवालय बैठकले सर्वसम्मत निर्णय गरेकाले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प प्रधानमन्त्रीसँग नरहेको बताइसकेका छन्। उनले सिन्धुपाल्चोक पुगेर सचिवालयका ९ सदस्यमध्ये नेता गौतममात्रै संसदबाहिर रहेकाले उनलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको बताए। 

प्रचण्डकै लाइनमा केही शीर्ष नेता तथा सरकारमा सहभागी मन्त्रीहरूले फरक फरक अभिव्यक्ति दिएका छन्। नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र गृहमन्त्रीसमेत रामबहादुर थापाले पनि प्रधानमन्त्री ओली सचिवालयको निर्णयभन्दा बाहिर जान नसक्ने तर्क गरेका छन्। वरिष्ठ नेता खनालले शनिबारै नुवाकोटको विदुर पुगेर प्रधानमन्त्री ओली सचिवालयको निर्णयभन्दा बाहिर जान नसक्ने बताए। 

खनालले पार्टीको निर्णय प्रधानमन्त्रीलाई मात्रै नभई सबैमा लागू हुने र ‘प्रधानमन्त्रीले मान्नु नपर्ने, अरूले मान्नुपर्ने भन्ने नहुने बताउदै पार्टीको निर्णयभन्दा बाहिर कोही जान नसक्ने बताए। यता गृहमन्त्री तथा अर्का प्रभावशाली नेता रामबहादुर थापाले पनि सरकारले पार्टीको निर्णय कार्यन्वयन गर्नुपर्ने तर्क गरेका छन्।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न शनिबार पोखरा पुगेका उनले  पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजान गरेको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने बताए।

तर गौतमलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्री केपी शर्मा ओली अनइच्छुक देखिएको समाचार सार्वजनिक भइरहेका छन्। यता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको सबै निर्देशन सरकारले मान्नुपर्छ भन्ने नभएको बताए।

सुनसरीको इटहरीमा शनिबारै प्रेस संगठन नेपाल प्रदेश १ को प्रथम भेला तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्यसमेत रहेका पोख्रेलले नीति र घोषणापत्रद्वारा सरकार चल्ने भएकाले पार्टीका हरेक कुरा मान्नुपर्छ भन्ने नहुने तर्क गरे। 

उनले पार्टीको सचिवालयभित्र अर्को सचिवालय बनेकाले विवाद निम्तिएको भन्दै धुमाउरो तरिकाले प्रचण्डले पार्टीभित्र गुटबन्दी बढाएको भन्ने संकेत पनि गरेका थिए।

यस्तै नेकपामा देखिएको पछिल्लो विवादले २ अध्यक्षमा विवाद सिर्जना भएको बताइएको छ। यसले पार्टी नै फुट्ने चर्चा चलिरहेको छ। तर नेताहरूले पार्टी दुई अध्यक्षबीच विवाद पनि नरहेको जिकिर गर्दै पार्टी फुट्छ भन्नु निराधार भएको उल्लेख गरेका छन्। 

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताए। धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी भित्रको बहसमा फरक विचार आउनु स्वाभाविक भएकाले त्यसैबाट पार्टी फुट्छ भन्नु निराधार भएको बताए। यसअघि नेता खनाल र अध्यक्ष प्रचण्डले पनि ओलीसँगको सम्बन्धमा कुनै खटपट नभएको बताइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.