गुनासो गर्न गएकी आमालाई क्लिनिकबाट निकालियो

|

जनकपुरधाम : भनिन्छ, डाक्टर बिरामीका लागि भगवान जस्तै हुन्छन्। तर जनकपुरका एक डाक्टर बिरामीका लागि काल जस्तै भएका छन्। ती डाक्टर हुन् राघवेन्द्र झा। 

जनकपुरमा उनको ट्रमा तथा अर्थोपेडिक क्लिनिक सञ्चालनमा छ। गत आश्विन २५ मा साइकल चलाउँदा हात भाँचिएपछि हंशपुर नगरपालिका-२ बघचौराका ९ वर्षीय बालक आकाश मुखिया उनको क्लिनिकमा भर्ना भए।

डा. झा उनको हातमा प्लाष्टर गरे। पछि प्लाष्टरले ठीक नहुने भन्दै अप्रेशन गर्नुपर्ने बताए। भर्ना भएका आकाशकी आमा सविता मुखिया अप्रेशनका लागि सहमत भइन्। 

त्यसपछि डा. झाले अप्रेशनमा ४० हजार खर्च लाग्ने भन्दै रकम मागे। सविताले भनिन्, ‘पैसाको चिन्ता नगर्नुस्, तर छोराको हात निको हुनुपर्छ।’ डा. झाले पनि ठिक हुने ग्यारेण्टी लिए।

सविताले कतारमा रहेका श्रीमान् गंगाराम मुखियासँग छोराको हातको अप्रेशन गर्न४० हजार लाग्ने सुनाइन्। पतिसँगको सल्लाहपछि डा. झालाई अप्रेशनबापतको रकम बुझाइन्।

रकम बुझिसकेपछि मात्र डा. झाले अप्रेशन गरे। आकाशपछि भाँचेको बाँया हातमा स्टिल पनि लगाइयो। हात ठीक हुने आशमा छोरा आकाशलाई लिएर आमा सविता घर पुगिन्।

डाक्टरले दिएको औषधि आकाशले नियमित खाए। डाक्टरले भनेअनुसार हातका औलाहरु पनि साँझ बिहान चलाउँथे। तर बिस्तारै औलाहरु काम गर्न छाड्दै गए। अप्रेशन गरेको ठाउँमा घाउ बनेर पिप (सेतो पानी) पनि निस्किन थाल्यो।

आमाले थाहा पाएपछि छोरा आकाशलाई लिएर हतार हतार डा. झाको क्लिनिक पुगिन्। डा. झाले हातका औंलाहरु चल्न छाडे पनि विस्तारै निको हुने सुझाए। अप्रेशन गरेको हातबाट पिप बगिरहेको हटाउन प्रत्येक ३ दिनमा ‘ड्रेसिङ’ गर्नुपर्ने बताए।

डा. झाले भनेअनुसार तीन महिनासम्म छोरालाई लिएर सविताले क्लिनिक पुगिन्। तर निको हुने छाँटकाँट देखिएन। त्यति बेलासम्म करिब ३ लाख खर्च भइसकेको थियो। 

डा. झालाई यहाँ ठीक नभए काठमाडौं लग्ने भन्दा उनले यहीँ ठीक भइहाल्ने पटक पटक दाबी गरे। तर आकाशकाा हातका औलाहरु अझै सुनिँदै (काम गर्न छोड्दै) गएका छन्। 

अहिले हात नै काम नलाग्ने अवस्थामा पुगेको छ। उनका औंला चल्दैनन्। हात उठाउन पनि गाह्रो हुन्छ। तर उनको उपचारमा डा. झाले ४ लाख रुपैया ठगिसकेका छन्।

छोराको हात नै काम नलाग्ने स्थितिमा पुगेपछि सविता दुई दिन अगाडि डा. झाको क्लिनिक पुनः पुगिन्। तर अब डा. झाले वास्ता गर्नै छाडिसकेका छन्। 

डा. झासँग भेटेर सविताले छोराको हात निको भइहाल्ने भन्नुभएको थियो तर किन ठीक भएन भनेर प्रश्न गर्दा क्लिनिकबाट निकालिइन्।

उनी भन्छिन्, ‘४ लाख खर्च गराउनु भो, तर मेरो छोराको हात ठीक किन भएन भनेर डा. झासँग प्रश्न गर्दा क्लिनिकमा काम गर्नेलाई धक्का मारेर निकाल्न लगाउनुभयो। त्यहाँबाट रुँदै छोरालाई लिएर भाग्नुपर्यो।’

आफुलाई कसैले केही गर्न नसक्ने र जाउ जहाँ जानुछ त्यहाँ भनेर डा. झाले धम्कीसमेत दिएको उनले गुनासो पोखिन्। उनले समाजसेवी तथा नेपाली जनता दलका अध्यक्ष मुन्जय राउतलाई लिएर क्लिनिक पुगेकी थिइन्। डा. झाले राउतलाई समेत दुव्र्यवहार गरेको उनले बताइन्।

छोराको हात देखाउँदै उनले भनिन्, ‘हेर्नुस् औलाहरु काम गर्न छाडिसक्यो। डा. झाले रुपैया पनि लुट्यो। छोरालाई पनि निको भएन। उनी डाक्टर होइन, काल हो। कारबाहीका लागि हजुरहरुले पहल गरिदिनु पर्यो।’

डा. झाले अप्रेशन गर्दा लिएको शुल्कको समेत बिल नदिएको उनले गुनासो गरिन्। प्रत्येक तीन ३ मा डे«सिङ गर्न पुग्दा २ देखि ३ हजार लिएर बिल कहिल्यै नदिएको उनको भनाई छ।

‘हरेक १५ दिनमा ४५० रुपैयाँको पूर्जा काट्नु पर्थ्यो’, उनले भनिन्, ‘पूर्जा लिनुपरेको बापत दिएको रकमको पनि बिल दिएको छैन।’ 
उनले यतिधेरै रकम छोराको हात निको हुने आशमा खर्च गरेको भन्दै अब गाडी चढेर यहाँ (जनकपुर) आउने भाडा पनि आफुसँग नरहेको उनले पीडा पोखिन्।

विदेशमा पसिना बगाएर कमाएको लाखौं रुपैयाँ डा. झाले लुटेर पनि बालक आकाशको भविष्यसँग खेलवाड गरेको समाजसेवी राउतले आरोप लगाए। 

उनले डा. झाको कर्तुतविरुद्ध स्थानीय प्रशासनको ध्यानाकर्षण नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

अप्रेशन गर्दा नशा काटियो

छोराका हातको औलाहरु काम गर्न छाडेपछि सबिताले जनकपुरका अन्य चिकित्सकसँग सल्लाह लिएकी छन्। चिकित्सकहरुले आकाशको अप्रेशनका क्रमर्मा डाक्टरले लापरबाही गरेको बताएका हुन्।

सबिताले भनिन्, ‘हिजो एक डाक्टरसँग सबै कागजात र छोराको हात हेर्न दिएर किन यस्तो भएको विषयमा बुझ्न खोजँे। डाक्टरले अप्रेशन गर्दा नशा काटिएको हुनसक्छ। त्यसैले औलाहरु काम गर्न छाडेको बताउनुभएको छ।’ 

‘अप्रेशन गर्नसक्ने अवस्था नरहे पनि अप्रेशन गरेको जस्तो देखिएकोसमेत ती डाक्टरले भन्नुभयो’ उनले थपिन्। तर डा. झाले उनका छोराको हात अप्रेशन गरेर कामै नलाग्ने बनाएको विषयमा केही बोल्न मानेका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.