विचार

हामी गोर्खाली कि नेपाली?

फागुन १९, २०७६

    पौराणिक नेपाल, प्राग ऐतिहासिक नेपाल, तपोभूमि नेपाल, देवभूमि नेपाल पुण्य भूमि नेपाल आदि अनेक नाम भएकाले नेपाल नामको विवाद होइन, विवाद गर्नु हुँदैन पौराणिक नेपाल र प्राग ऐतिहासिक नेपाल तपोभूमि नेपाल, देवभूमि नेपाल पुण्य भूमि नेपाल नाम सत्य हो।

    तर, चर्चा गर्नुपर्ने भनेको ऐतिहासिक नेपाल नामका देशको हो, जुन नेपाल देशलाई, राजा यक्षमल्लले (सन् १४७४-७६ भन्दा पहिले) मृत्युवरण गराएपछि अस्तित्व नै समाप्त भएको देश नेपाल कहाँ छ? त्यो नेपालको अस्तित्व समाप्त भएर बनेका काठमाडौं, पाटन र बनेपासहितको भादगाउँ राज्य पनि पृथ्वीनारायणको एकीकरणसँगै गोर्खा राज्यमा विलय भएपछि नेपाल देश कहाँ रह्यो?   त्यसमा पनि गोर्खा राज्य विस्तारका क्रममा कान्तिपुर भादगाउँ कीर्तिपुर बनेपा ललितपुर नुवाकोट लगायतका राज्य जोडिएका हुन्।  

    गोर्खा राज्यमा विलय भएको ऐतिहासिक नेपालसँग गोर्खा राष्ट्रको साइनो के हो? यस्तो साइनो जोड्नु भनेको गोरू बेचेको साइनो जोडेर एक रातका लागि निशु:ल्क बास मागे जस्तै होइन र? यो गोरू बेचेको साइनोलाई पनि नभएका तथ्य कुरालाई झुट कुराको आवरणमा बेरेर आफ्नै वीरपुर्खाको इतिहासलाई लत्याउँदै हुँदै नभएको पुस्ता जोडेर आफ्नै बाबुबाजे साइनो कायम गराउन मरिहत्ते गर्ने गराउने स्वदेशी स्वभाषी भनेका कस्ता मानिस हुन्?

    यस्ता कुराको गहिराइमा पुग्न सो सन्धिको अध्ययन मात्र होइन हालका प्रधानमन्त्री ओलीको बोलीमा पनि गहन अध्ययन जरुरी छ। यो देश जुन शक्तिले निर्माण गरेको हो उही शक्तिले माया गर्छ उही शक्तिले जोगाउँछ। किनभने यो देश नेपालले बनाएको होइन। गोर्खालीले नै बनाएको हो।

    आफ्ना पुर्खालाई अपमान गर्ने तथा विदेशीलाई सहोदर बाबु ठान्दै विदेशीहरूकै आदेश पालना गर्न पाउँदा गौरव गर्नेहरू 'यथार्थ र झुठ' चिन्न नसक्नेलाई विदेशीहरूका पाखुरेहरू भन्ने आरोप लाग्न सक्छ। यस्तै पाखुरेहरूलाई अघि सारेर गोर्खा अस्तित्वलाई समाप्त पार्ने प्रमुख षडयन्त्रकारी चाहिँ विदेशीहरू नै हुन्।

    हामी यसरी गोर्खाली

    यसलाई प्रमाणहरूको अध्ययन चिन्तन र मनन गरेमा मात्र गोर्खाहरूका खुन पसिनाले निर्माण भएको वीर गोर्खाहरूको देशको आब्रुक बँच्न सक्छ। नत्र नेपाल र नेपाली शब्दले यो देशको अस्तित्वमाथि राजा यक्षमल्लको पुनरावृत्ति पनि उनै विदेशीले हाम्रै मानिसलाई खेताला बनाएर उनीहरूको काम गराउनेछन्। नेपालका राजा यक्षमल्लको पुनरावृत्ति अवश्य हुनेछ।

    यो काममा विदेशीहरूका प्रभावमा परेर नैतिकतालाई स्वार्थसँग साट्न पल्किएका हाम्रै मान्छेमध्ये प्रत्यक्ष र परोक्षरूपमा जालमा पारिने छ। कसैलाई आश्वासन, कसैलाई मान-पदवी, कसैलाई जिन्सी, कसैलाई पुरस्कारका नाममा नगद इनाम, कसैलाई मास्टर रोलको जागिर, कसैलाई ज्यालाका खेताला, कसैलाई एनजिओ कसैलाई आइएनजिओको हाकिम बनाएर तमतयार पारेर राखिएको छ। यो मेरो विश्लेषण मात्र नभएर अध्ययनपछिको मान्यता हो।

    कसैले यी कुराहरू होइनन् भनेर कसैले खण्डन गर्ने हिम्मत राख्ला? त्यो तागत राख्छ भने २ डिसेम्बर १८१५ को तथाकथित सुगौली सन्धिको सक्कल कागज यो देशको सरकारसँग नभएको भन्ने कुरादेखि सन् १८१६,१८६०,१९२३, १९४७ तथा १९५० का सन्धिहरू, प्रजातन्त्रको उदय, बहुदलको आगमन, १२ बुँदेबाट निर्मित गणतन्त्रका अतिरिक्त प्रबुध्द वर्गको गठन, प्रबुद्धवर्गले तयार पारेको प्रतिवेदन खोलाको गीत बनिरहनु नपर्ने हो।

    सन् १९५० को सन्धि खारेज होइन कार्यान्वयन

    यस्ता घटना तथा गरिमामय संसदमा प्रधानमन्त्री केपी ओलीले भारतसँग भएको डरलाग्दो र खतरा १९५० को नेपाल भारतमैत्री तथा शान्ति सन्धिलाई विना अध्ययन खारेज गर्नुपर्छ भन्ने घोषणा हो। सन् १९५० को सन्धि खारेजीले के फरक पर्छ र त्यसको अनुकूलताको कार्यान्वयनले जटिलता के निम्त्याइ राखेको छ?

    सन् १९५० को सन्धिको साँचो अर्थमा गरिने कार्यान्वयनले हामीलाई कति फाइदा वा नोक्सान पुग्छ? यसमा थप अध्ययन र बहस जरुरी छ। यसअघि अंग्रेज शासित भारतसँग भएका सबै सन्धिलाई  यो सन्धिले खारेज गरेको छ। यसरी पहिलेका सन्धि खारेज गरिएपछि हामी आफूले पाउने कुरा दाबी गर्ने हो वा यो सन्धि नै खारेजको माग गर्ने हो?

    यो र यस्ता कुराको गहिराइमा पुग्न सो  सन्धिको अध्ययन मात्र होइन हालका प्रधानमन्त्री ओलीको बोलीमा पनि गहन अध्ययन जरुरी छ। यसरी गहन अध्ययन गरेर निष्पक्ष बनी माथि उल्लेखित सबै तथ्यहरुको खण्डन गर्दा हुन्छ।

    यो देश जुन शक्तिले निर्माण गरेको हो उही शक्तिले माया गर्छ उही शक्तिले जोगाउँछ। किनभने यो देश नेपालले बनाएको होइन। गोर्खालीले नै बनाएको हो। नेपाल नामको देशलाई राजा यक्षमल्लले ( सन् १४७४-१४७६) आफू मर्नुभन्दा पहिले नै आर्यघाटमा लगेर दागबत्ती दिइसकेको देश नेपालको मृतआत्मालाई पुराणका कथासंग जोडेर पुनर्जन्म भयो भन्नु झुटो ठहर्छ।

    'वीर गोर्खाहरूको देश गोर्खा राष्ट्र'को गौरवमय इतिहास जोगाउन सक्ने तागत नेपाली शब्दमा देखापर्न सकेको छैन। नत नेपालीको तागत नै शक्तिशाली देखिएको छ। हामीले आफूलाई नेपाली भन्न थालेको सयवर्ष पुग्न लाग्दा पनि गोर्खा भनेर विश्वलाई  चिनाउँदा सजिलै चिन्छ।

    यसरी प्रचार गर्दै नेपाल देशको पुन:न्वारान गरे पनि मृतआत्माको हैसियत के कति र कस्तो कस्तो हुँदो रहेछ भन्ने कुरा पहिलेदेखि हालसम्म पनि सत्तामा पुगेका र पुग्न हतारिनेहरूका बीचमा चलेका घम्साघम्सी लुछाचुँडी नै यथेष्ठ छैनन् र? साथै गोर्खा राष्ट्रलाई नेपाल देश नामकरण गर्नुभन्दा पहिले नै गोर्खा भाषा नामलाई नेपाली नामकरण गरिएको इतिहास छ।

    गोर्खाली मोतीराम भानुभक्त

    मोतीराम भट्टले गोर्खा भाषाका आदि कवि हुन् भनी चिनाएका भाषा रामायण लेख्‍ने भानुभक्त आचार्यलाई श्री ३ महाराज जुध्दशमशेर मन नलगाई  वि सं १९९७ मा 'नेपाली भाषाका आदिकवि भन्दा पनि हुन्छ' भनी सही गरेको कागज नेपाली नामको जेठो संस्था नेपाली साहित्य सम्मेलन दार्जीलिङले प्रकाशित गरेको भानु स्मृति ग्रन्थमा छापिएको प्रमाण नै यथेष्ट छ।

    यसैलाई आधारमानेर हो वा श्री ३ जुध्दशमशेरलाई जस्तै तत्कालीन अवस्थामा विदेशी घुसपैठिया निर्देशन वा सल्लाह के ले हो मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका समयमा नेपाल नागरिकता ऐन २००९ जारी गरेपछि कानुनी मान्यता पाएको हो। यसरी आएको नेपाली शब्दलाई अनेकौँ फूर्काफुँदा जोडेर पौराणिक शब्द हो भन्दै आएका छौं।

    गोर्खा शब्दको तागत नै अतुलनीय

    यसरी आफ्ना पुर्खाले कायम गरिदिएको जातीय नाम सुझ न बुझ बदलेको पत्तै नपाई 'वीर नेपाली हुँ' भन्ने झुटो तर्क र प्रचार हुने गरेको छ। तर 'वीर गोर्खाहरूको देश गोर्खा राष्ट्र'को गौरवमय इतिहास जोगाउन सक्ने तागत नेपाली शब्दमा देखापर्न सकेको छैन। नत नेपालीको तागत नै शक्तिशाली देखिएको छ। हामीले आफूलाई नेपाली भन्न थालेको सयवर्ष पुग्न लाग्दा पनि गोर्खा भनेर विश्वलाई  चिनाउँदा सजिलै चिन्छ। असल इमान्दार स्वाभिमानी भनेर बुझ्छ।

    यदि नेपाली शब्दमा यो देश निर्माण गर्ने हाम्रा वीर गोर्खाली पुर्खालाई चिन्ने तथा सम्मान गर्ने तागत र हिम्मत भएको भए कमसेकम तथाकथित सुगौली सन्धिले खण्डित पारी बचेको भूभाग समेत मिलाई सन् १ नोवेम्बर १८६० मा इष्ट ईण्डीया कम्पनी सरकारसँग भएको सन्धिले कायम गरेको यो देशको सीमानासम्म त जोगाएर राख्‍नुपर्ने हो। तर सिमाना जोगाउने काम भएको खोइ? आफ्नो देशको सिमाना नै चिन्न नसक्नु र सुरक्षित राख्‍न नसक्नुमा दोष कसको हो गोर्खा को कि नेपाल र नेपालीको?

    अन्त्यमा हाम्रा गोर्खा पुर्खाहरूले निर्माण गरेको हाम्रो देश र दैविक वरदान पाएको तथा संसारले चिनेको वीर जातिको पहिचान बोकेको गोर्खा शब्दको सम्मान गरौँ यसैमा हामी गोर्खा जाति गोर्खा भाषा गोर्खा पहिचान र हाम्रो गोर्खा राष्ट्रमा नै सबै सबैको कल्याण छ भन्ने आग्रह हो। जय गोरखनाथ। जय गोर्खा।

डीआर कोइराला

कोइराला नेपाल-भारतमामिलाका जानकार लेखक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]