सभापतिको कदमविरुद्ध लड्ने बेला भयो : केसी

|
चाक्सीबारीमा भेला भएका आफ्नाे समूहका नेताहरुलाई सम्बाेधन गर्दै रामचन्द्र पाैडेल

काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभाग विस्तार र केहीलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेपछि यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट छ।

रुष्ट पौडेल पक्षले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना आज बुधबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेको छ।

केन्द्रीय सदस्य तथा पौडेल पक्षका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बोलाइएको भेलामा सहभागी शीर्ष नेता तथा जिल्ला सभापति र उपसभापतिलाई वरिष्ठ नेता पौडेलले निर्देशनसमेत दिए।

‘हामी अरु कुरामा अलमलिने होइन, महाधिवेशनको तयारी गरौँ भनिरहेका छौँ,’ पौडेलले भने, ‘तर, सभापतिज्यूले विभाग गठन गरौँ भनेर मनोनित गर्नुभयो। पार्टीको चुनाव नहोस् भन्‍ने, भ्रातृ संस्थाको पनि हुन नदिने आफैं सभापति भइराख्‍ने योजना उहाँको छ।’

पौडेलले वडा, बुथ, जिल्ला, नगरसमितिहरु गठन गर्नुपर्ने बताए। सदस्यता वितरण बेलामा सभापति देउवाले आफूलाई जे मन लाग्छ त्यही गरेको आरोप पनि लगाए।

‘वडा, बुथ, जिल्ला, नगर समितिहरु गठन गर्नुपर्ने, सदस्यता वितरण बेलामा सभापतिज्यूले मनलाग्दी गर्न थाल्नु भयो', उनले भने,'१४औँ अधिवेशन पनि अलमल्याउने तयारी सभापतिको छ। केन्द्रीय कार्यालयमा जुन खेल भइराख्या छ, यो खेल मान्य छैन।’

कांग्रेसका उपसभापति शशांक कोइरालाले पार्टी सभापति १४ औँ महाधिवेशन भाड्न लागि परेको आरोप लगाए। उनले भने,‘ सभापति अधिवेशन भाँड्ने प्रयत्नमा हुनुहुन्छ। अहिले अवस्थामा प्रमुख एजेन्डा महाधिवेशन हो।’

नेता अर्जुननरसिंह केसीले पनि सभापति देउवाले पार्टीमा बेमौसमी बाजा बजाई रहेको आरोप लगाए। ‘सभापतिज्यू बेमौसमी बाजा बजाइरहनु भएको छ। अहिले भएको विभाग विस्तारको उद्धेश्य नै महाधिवेशन प्रभावित गर्नु हो। अनि जिल्लाबाट सभापति बोलाउने, उपसभापति बोलाउने, घरि को बोलाउने अनि टालटुल गर्ने अधिवेशन भाँड्ने ?’ सभापतिको कदमविरुद्ध लड्ने बेला आएको उनको भनाई छ।   

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पनि सभापतिले अधिवेशन प्रभावित गर्न खोजेको आरोप लगाए। ‘१४औँ महाधिवेशनको तिथि मिति तोकेपछि त आचारसंहिता लागू भइसकेको छ। अहिले अनेक बाहनामा प्रशिक्षण भन्‍नु अधिवेशन प्रभावित गर्न खोजेको हो,’ उनले भने, ‘महाधिवेशन आउँदो फागुनमा नगर्ने षडयन्त्र भइरहेको छ। कृयाशील सदस्यता वितरण गर्ने बेलामा अन्त भुल्न हुँदैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.