|

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमुना लिएर हेलिकप्टर फर्किएको छ।

करिब एक घण्टाको समय लगाएर दश दिन देखि थलिएका बिरामीको रगत, र्‍याल, खकार, दिसा, पिसाबको नमुना लिएर हेलिकोप्टरमा फर्किएको हो।

सिजनल फ्लु भनिए पनि अहिलेसम्म अज्ञात रहेको रोगको नमुना संकलन गरेर प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्र बहादुर थापा र ल्याब टेक्निसियन कमल कुमार थापाको टोली सेनाको हेलिकप्टरमा फर्किएको क्षेत्रीय स्वास्थ निर्देशनालयका महामारी प्रकोप शाखाका प्रमुख श्याम आचार्यले जानकारी दिए। संकलन गरेर लगिएको नमुना परिक्षणका लागि आजै काठमाडौं स्थित टेकु अस्पतालमा पठाइने उनले बताए।

बिरामीको नमुना सुर्खेत पुगिसकेकाले गाडीमा नेपालगञ्ज लगेर बेलुका उड्ने जहाजमा काठमाडौं पठाउने ब्यवस्था गरिएको स्वास्थ सेवा निर्देशनालयले जनाएको छ।

बुधबार बिहान मात्रै सदरमुकाम दुनैबाट उक्त हेलिकप्टरमा प्रकोप क्षेत्र पुगेका जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमाल र एच.ए सारङ्गा रोकाया उपचारमा जुटिसकेका छन्।

प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ चौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन्। बुधबार बिहान हेलिकप्टरमा चिकित्सक सहित माक्स,पन्जा, एन्टी भाइरल लगाएतका आवश्यक औषधिहरु समेत बोकेर करेलीकाँडा पुगेको थियो।

४५ घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म ५० भन्दा धेरै बिरामीलाई पुर्जा काटेरै उपचार गरिएको स्वास्थकर्मीको टोलीले बताएको छ।

प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिँगटा लाग्ने र शरिर दुख्ने जस्ता लक्षण देखिएको समेत स्वास्थकर्मीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.